नेपालले पायो भारतमा विद्युत् बेच्ने अनुमति
Tuesday, November 2nd, 2021, 8:17 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १६ कात्तिक
नेपालले पहिलोपटक भारतमा विद्युत् बेच्नका लागि अनुमति पाएको छ । यसअघि भारतमा विद्युत् आदान-प्रदान (एक्सचेन्ज) को मात्रै स्वीकृति पाएको नेपालले अब व्यापारको अवधारणामा विद्युत् निर्यातको स्वीकृति पाएको हो ।
भारतीय ऊर्जा बजारमा सोमबारबाट प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीका लागि अनुमति पाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री हुनेछ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर-मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात् सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा विद्युत खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।