फेरिँदो तिहार मनाउने पद्धति
Thursday, November 4th, 2021, 5:30 am
Kalpristha
अन्जली राजी
नेपालगन्ज, १७ कात्तिक
बढ्दो आधुनिकतासँगै तिहार मनाउने शैली पनि फेरिएको छ । घर-घरमा बजारीया बत्तीहरूले झिलीमिली बनाउने चलन बढेको छ । पालामा दीप बाल्ने चलन कम हुँदै छ । भाइटीकाको दिन लगाइने मालाहरू पनि रेडिमेट बढी प्रयोग हुन थालेका छन् । गाउँघरमै पाइने मखमली, सयपत्रीजस्ता फूलको प्रयोग घट्दो छ । आवश्यकता अनुसार फूलको उत्पादन पनि भइरहेको छैन ।
तिहारमा दिदि बहिनीहरुले आफना दाजु भाइलाई सयपत्री फुल र मखमली फुलको माला लगाई दुबो, सप्तरंगी टिका लगाउने मौलिक चलन हो । यसरी भाइबहिनीबीच सयपत्री र मखमली फूलका मालाको प्रयोग विश्वमा अन्त देख्न पाइँदैन । सयपत्री यस्तो फूल हो जसको रङ कहिल्यै उडेर जाँदैन । मखमली यस्तो फूल हो, जो कहिल्यै ओइलाउँदैन । त्यसैले तिहारमा सयपत्री र मखमलीको फूल प्रयोग गर्नु प्रतिकात्मक रुपमा दीगोपन र स्थिर सम्बन्धको प्रतिकका रुपमा लिइन्छ । तिहारको मौसममै ढकमक्क फूल्ने फूलहरुले यो मौसमको उल्लासलाई बढाइरहेका हुन्छन् । प्राकृतिक फूलको प्रयोग गर्नु प्रकतिको सम्मान र हाम्रो जीवनशैलीको परिचायक पनि हो ।
तर केहि वर्ष यता नेपालगन्ज लगायत सहरबजार कृत्रिम मालाहरुले रंगीन बनेका छन् । हेर्दा राम्रा देखिने त्यस्ता मालामा मानिसहरुको आकर्षण बढेको छ । प्राकृतिक सुगन्धले रौनक बढाउने मालाको सट्टामा गलामा प्लाष्टिका आत्माबिहीन मालाहरु पहिरिन थालिएका छन् । भारत र चीनबाट भित्रिएका प्लाष्टिकका मालाले यो वर्षको तिहार बजारमा पनि आधिपत्य जमाएका छन् । सयपत्री र मखमलीका माला भने बजारमा विरलै मात्र देख्न पाइन्छ ।
कृत्रिम पलाष्टिकका माला खरिद गर्दै गरेका नेपालगन्जका स्थानीय दिपेन्द्र बुढा मगरले चाडो नबिग्रने भएर कृत्रिम पलाष्टिकका माला किनेको बताए । ‘अलि आकर्षक पनि देखिन्छ पहिला जसरी माला बनाउनका लागि गाँउघरमा सयपत्री फुल पनि पाइँदैन । पाए पनि महङ्गोमा किन्नु पर्छ,’ उनले भने ।
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा सानै उमेरदेखि पुजाका सामान र कृत्रिम माला बेच्दै आएका रोहित गिरी केहि वर्ष यताबाट पलाष्टिकको कृत्रिम मालाको माग बढेको अनुभव सुनाउँछन् । यसकारण गत वर्षभन्दा यस वर्ष कृत्रिम माला बेच्नका लागि धेरै मात्रामा कृत्रिम माला पसलमा राखिएको रोहितले बताए । गत वर्ष दुई बोरा पलाष्टिकको कृत्रिम माला मगाइएकोमा यस वर्ष तीन बोरा प्लाष्टिकको कृत्रिम मालाका मगाइएको उनले जानकारी दिए । ‘हाम्रो चलनअनुसार त सयपत्री र मखमलको माला नै प्रयोग गनुपर्ने हो । पलाष्टिकका कृत्रिम माला खाली सो (सजावट)को लागि मात्र हो,’ रोहित भन्छन् ।
उनीसँग सयपत्रीका माला नभएका होइनन् । तर ती मालाको मूल्य प्लाष्टिकका मालाभन्दा बढी छ । सयपत्रीका माला एक जोडीलाई एक सय ५० पर्छ । पलाष्टिकका कृत्रिम मालालाई भने एक सय रुपैयाँमा बिक्री गर्ने गर्दछन् । उनका अनुसार कहिलेकाहीँ सयपत्रीमालालाई दुई सय ५० सम्म पनि पर्न सक्छ । त्यसको कारणमा रोहितले भने, ‘फूलका माला पाउनै मुस्किल छ । फूलको उत्पादन नै कम हुन्छ ।’
अर्का व्यापारी २७ वर्षीय अनुप लखेरको पनि उस्तै अनुभव छ । पलाष्टिकका कृत्रिम माला केही वर्षदेखि बढी बिक्री भइरहेको उनले बताए । यो क्रम जारी रहिरहने हो भने सयपत्री माला प्रयोग गर्ने चलन हराउने अनुप बताउछन् ।
देउसी भैलोको मौलिकता घट्दो
तिहारको अर्को महत्वपूणर् पाटो देउसी भैलो पनि हो । समूह मिलेर मौलिक लयमा देउसी गीत गाउँदै घरघरसम्म पुगेर दक्षिणा माग्ने प्रचलन अब बिस्तारै घट्दै गएको छ । पहिले ठूलो समूह बनाएर देउसी भैलो खेल्ने गरिएकोमा हाल साना-साना समूह बनाएर खेल्ने प्रचलन बढ्दो छ । देउसी भैलोमा दक्षिणा गक्षअनुसारको मात्रै लिने मान्यता हो । तर, आजभोली दक्षिणा तोकेरै माग्ने प्रचलन बढेको छ । यद्धपि कतिपय समूहहरुले देउसी भैलोबाट संकलित रकमबाट सामाजिक काम पनि गर्ने गरेका छन् ।
देउसी भैलोमा गाइने गीतसँगै मादलको आवाज पनि उत्तिकै उल्लासमय हुन्छ । तर, प्रविधिको उपलब्धतासँगै मादलको प्रयोग घट्दै गएको छ भने गीत पनि गाउनुभन्दा रेडिमेड गीतको प्रयोग बढ्दै गएको छ । देउसी गीतपछि नाच्नका लागि पनि मौलिक लोकगीतभन्दा हिन्दी गीतहरुको प्रयोग गर्न थालिएको छ ।