बाँकेमा निर्वाचन परिचालन समिति गठन
Wednesday, November 10th, 2021, 4:12 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेले वडादेखी जिल्ला तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।
जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको संयोजकत्वमा गठित समितिको सह-संयोजकमा सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाही तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, डि.एल.ए. बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव (निर्वाचन ब्यवस्थापक), नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली (प्रवक्ता), नेपाल प्राध्यापक संघका अध्यक्ष अशोक बस्नेत रहेका छन् ।
यस्तै सदस्यमा शिक्षक संघ बाँकेका उपाध्यक्ष पुष्पा ज्ञवाली, संघका सचिव ऋषिराज शर्मा, अधिवक्ता प्रभाकर भट्टराई र अधिवक्ता मेहरसिंह खत्रीलाई आर्थिक व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
कांग्रेसको कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा अधिवेशन हुँदै छ । अधिवशनमा नयाँ नेतृत्वका लागि कात्तिक २६ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
निर्वाचन समितिका अनुसार यही कात्तिक २७ गते वडा, कात्तिक ३० गते गाउँपालिका/नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन सम्पन्न हुनेछन् ।