नेपालगन्जमा जाडोसँगै बढ्यो वायु प्रदुषण
Saturday, November 20th, 2021, 10:21 am
Kalpristha
जाडो मौसम सुरु भएसँगै नेपालगन्जमा वायु प्रदुषण बढ्न थालेको छ । आक्यु एयर र एक्यु वेदरको रकर्डअुसार नेपालगन्जमा शुक्रबार वायु प्रदुषणको मात्रा संवेदशील समूहका लागि अस्वस्थको तहमा पुगेको थियो ।
आइक्यु एयरका अनुसार शुक्रबार हावाको गुणस्तर सुचकांक १३९ पुगेको थियो भने शनिबार, आइतबार र सोमबार यो प्रदुषणको तह बढेर सबैका लागि अस्वस्थको तहमा पुग्ने छ । त्यसपछि पनि हावाको गुणस्तर खस्किँदै जाने आइक्यु एयरको प्रक्षेपण छ ।
एक्युवेदले वेबसाईटमा भनेको छ, ‘स्वास्थ्य प्रभावहरू संवेदनशील समूहहरूले तुरुन्तै महसुस गर्नेछन् । उनीहरुले घरबाहिरका गतिविधिबाट टाढा रहनुपर्छ । स्वस्थ व्यक्तिहरूले सास फेर्न कठिनाइ र घाँटी जलन अनुभव गर्ने सम्भावना हुन्छ ।’
संवेदनशील समूह भन्नाले ज्येष्ठ नागरिक, मुटु र स्वासप्रश्वासका बिरामी एवं अन्य अस्वस्थता भएका व्यक्तिहरुलाई मान्ने गरिन्छ ।
हावामा पिएम २.५ को मात्राअनुसार हावाको गुणस्तर फरक पर्ने गर्छ । शुक्रबार नेपालगन्जको हावामा पिएम २.५ को मात्रा ५६.२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । पिएम ३५.५ देखि ५५.४ सम्म भएमा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । हिसाबले शुक्रबार पिएम २.५ को मात्रा सबैका लागि अस्वस्थको तहमा थियो ।

हावाको गुणस्तर सुचकांक
हावाको गुणस्तर हावामा रहेका हानिकारक कणहरुको मात्रा र साइज अनुसार मापन गरिन्छ । विश्व स्वास्थ्य संगठनले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटर (पिएम) भन्दा सानो र २ दशमलब ५ पर माइक्रोमिटर (पिएम) भन्दा सानो भन्ने मापन बिन्दु तय गरेको छ । हावामा साना कणको संख्या जति धेरै भयो उति यसको गुणस्तर कम ठानिन्छ । साना कणले स्वास्थ्यमा बढी समस्या सिर्जना गर्छन् । हावामा रहने विभिन्न हानिकारक वस्तु तथा रसायनका कणलाई विज्ञानसम्मत वर्गीकरण र व्याख्या गरिन्छ । त्यसअनुसार २ दशमलब ५ पिएमभन्दा साना कणलाई खतरनाक मानिएको हो । किनभने यी फोक्सोको भित्री भाग हुँदै शरीरका अन्य अंगसम्म फैलिन सक्छन् ।
पिएम २.५ भन्दा कम व्यास भएका प्रदूषक कणहरू फोक्सो र रक्तप्रवाहमा प्रवेश गर्न सक्छ, जसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछन् । सबैभन्दा गम्भीर असर फोक्सो र मुटुमा पर्छ । यसको कारणले खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने, दम बढेको महसुस हुने र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगको विकास हुन सक्छ ।
नेपालगन्ज उप-महाननगरपालिकामा कार्यरत वातावरण इन्जिनियर प्रकाश डिसीले अहिले धानको पराल आगो लगाएर नष्ट गरिने हुँदा धुवाँका कारण गुणस्तर खस्किएको बताए । भारतको सीमावर्ती क्षेत्रमा ठूलो मात्रामा पराल जलाउने गरिएका कारण नेपालगन्जजस्ता सहरमा पनि वायु प्रदुषण बढ्ने गरेको उनले बताए । यसका साथै सवारी साधन र कलकारखानाको धुवाँले गर्दा पनि वायु प्रदुषण बढ्ने गरेको उनले बताए । केही दिन वायु प्रदुषण थप बढ्ने डिसीले बताए ।
नयाँ दिल्ली र नेपालसँग सिमाना जोडिएका विहार र उत्तर प्रदेशको प्रदूषणको असर नेपालगन्जमा पनि परेको हो । यसका साथै नेपालगन्जको केन्द्र भागमा रहेको औद्योगिक क्षेत्र का उद्योगबाट निस्कने धुँवा पनि मुख्य कारण रहेको छ ।
भेरी अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले वायु प्रदुषणका कारण श्वासप्रश्वास, छाला र आँखासंग सम्बन्धित धेरै स्बास्थ्य समस्या देखिने बताए । लामो समयसम्म वायु प्रदुषण भएको क्षेत्रमा बसोबास गर्ने मानिहरुमा क्यान्सरसम्म हुन सक्ने उनले बताए । जाडो मौसम सुरु भएसँगै अस्पतालमा दमका बिरामी पनि बढिरहेका उनले जानकारी दिए । ‘स्वासप्रश्वासको समस्या लिएर भर्ना भएकामध्ये पचास प्रतिशतक दमका बिरामी छन्,’ उनले भने । वायु प्रदुषण दमका बिरामीका लागि झनै खतरनाक हुने गरेको छ ।
वायु प्रदुषण नियन्त्रणमा मुख्य भूमिका नेपालगन्जको मुख्य शहरी क्षेत्रमा रुखहरु निक्कै कम छन् । रुखहरु नभएका कारण मुख्य शहरी क्षेत्र उजाड बन्दै गएको छ । अधिकाँश नगरबासीहरुमा नयाँ रुख रोपेर हुर्काउनेभन्दा भएका रुखहरु काट्ने प्रबृत्ति धेरै छ । नेपालगन्जलाई हरियाली बनाउनका लागि जमुनाहादेखि राझा चौकसम्म रोपिएका बिरुवाहरु पनि उचित हेरचाह र मलजलका कारण राम्रोसँग हुर्कन सकेका छैनन् ।
जोगिन के गर्ने ?
वायु प्रदूषण नियन्त्रणको सवालमा सरकारले चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ । औषधि-उपचारले शरीरमा पसेका हानिकारक तत्व निकाल्ने काम गर्छ । औषधिको सहायताले शरीरभित्र पसेका हानीकारक कण निकाल्दै जाने तर वायु मण्डलबाट कण भित्र पसिरहने हो भने त्यो उपचारको कुनै अर्थ रहँदैन ।
बजारमा उपलब्ध सबै मास्कले धुलोधुवाँका साना कणहरु रोक्न सक्दैनन् त्यसकारण सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने गर्नुपर्छ ।
बिरामी, बच्चा र बृद्धलाई प्रदूषणले बढी असर गर्छ । त्यसैले बिहान र बेलुकीपख सकेसम्म बाहिर निस्कन दिनु हुँदैन । हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन् । बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरु श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन् ।
वायुप्रदुषण बढेका बेला के गर्ने ?
घरबाहिर निस्कने माक्स लगाउने
घरका झ्यालढोका बाहिरको धुवाँधुलो भित्र नपस्नेगरी बन्द गर्ने
घरबाहिर गरिने व्यायाम घटाउने
बिहानबेलुका सकेसम्म घरबाहिर ननिस्कने