कसरी होला बालश्रम अन्त्य ?
Saturday, November 20th, 2021, 6:16 pm
Kalpristha
आज अन्तर्राष्ट्रिव बालअधिकार दिवस । नेपालमा वर्षमा दुईपटक बालबालिका सम्बन्धि दिवस मनाईन्छ, एउटा भदौ २९ गते राष्ट्रिय बाल दिवस र हरेक वर्ष नाभेम्बर २० तारिखमा अन्तराष्ट्रिय बाल अधिकार दिवस । दुवै दिवसमा सरकारका तर्फबाट औपचारिक कार्यक्रम गरिन्छन् । र्याली, तालिम र गोष्ठिको आयोजना गरिन्छन् । यी कार्यक्रमका अलावा बालअधिकार प्रवद्र्धनका नाममा बजेट पनि खर्च गरिन्छ । तर, अझै कयौं बालबालिकाहरु बाध्यकारी बालश्रममा छन् । अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ मा नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाखबाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको उल्लेख छ । तर यो उपलब्धि कोभिड-१९ महामारीका कारण सिर्जना भएका चुनौतीका कारण जोखिममा रहेको आइएलओ र युनिसेफले जनाएको छन् । बालश्रम न्यूनिकरण सन्दर्भमा नेपालगन्जमा भेटिएका व्यक्तिहरुबाट अन्जली राजीले संकलन गरेको धारणा :
शोभा शाह, समाजिक विकास शाखा प्रमुख, नेपालगन्ज उप-महानगरपालिका
बालश्रम निवारणका लागि बाँकेमा कति बालश्रमिक छन् ? तथ्याङ्क चाहिन्छ । कति बाहिरबाट आएका बालश्रमिक हुन्छन् भने यहिका स्थायी बालश्रमिक हुन्छन् । त्यसैले बालश्रमिकको तथ्याङ्ग आवश्यक हुन्छ । हामीसँग यसको वास्तविक तथ्याङ्क नहुदाँ बालश्रमको निवारण कसरी गर्ने योजना बनाउन कठिन हुन्छ । सबै कुरा छिट्टै हुने संम्भावना हुदैन । बालश्रम बिस्तारै हट्छ । यसका लागि हामीले छुट्टै कमिटि गठन गरिरहेका छौँ ।

प्रवेश राज पाण्डे, सहसचिव, नेपालगन्ज नगर संजाल बाल क्लब सन्जाल
सिमाना क्षेत्र परेकाले अनि हामीले अपनायका उपायहरु पनि बढी प्रवावकारी नभएर पनि बालश्रम अन्त्य हुन सकेको छैन । यसमा गरीबी निवारणका कुराहरु आउछन् ,चेतनाका कुराहरु हुन्छ । यहाँ बालश्रम सम्बन्धि जानकारी भएका बालबालिका र अरु व्यक्तिहरुले आफूले जाने बुझेका कुरा सबैमाझ नफैलाउनु र व्यवहारमा नउतार्नु पनि एक कारण हो । हामी यसका लागि निरन्तर कार्यहरु गरिरहेका छौँ ।
आकाश कशौधन, स्थानीयवासी
बालबलिकाका नाममा बजेट पठाउने काम भइरहेको छ । तर वर्षभरीमै ती बजेटहरुको उपयोग गरिएको देखिदैन । व्यक्तिहरुको मनोमानी र कानुन पालनाको अटेरी पनि बालश्रम अन्त्य नहुनुको मुख्य कारण हो । सामाजिक र आर्थिकरुपले पिछडिएका बालबालिका र व्यक्तिहरु बालश्रमजस्ता अपराधमा फस्ने गर्दछन् । यसका लागि स्थानीय सरकार, बालक्लब र अधिकारकर्मीले प्रभावकारी योजना गराएर काम गर्नुपर्छ ।
पवित्रा पुरी, महिला विकास अधिकृत
समाजिक परिवर्तंनका कुरा एकै चोटि हुदैनन् । बालश्रम हुनुका कारण हाम्रो समाजमा विपन्नता अशिक्षा,गरिबी यस्ता खालका समम्स्या हुनु हो । यसका लागि आफ्नो समुदायमा जनचेतना अभिबृद्धि गनुपर्ने हुन्छ । विशेषगरि पहिला त महिला, आमाहरुमा जनचेतना फैलाउनुपर्छ ।
अंकित मिश्रा, बालअधिकार कर्मी
केही साल अगाडि पनि नेपालगन्ज उप-महानगरपालिका लाई बालश्रम मुक्त घोषणा गर्न लागिएको थियो तर सरकार र स्थानीय तहले यस विषयमा चसो नदिएपछि कुरा चिसियो । बालश्रमको अन्त्य हुन् नसकेको कारणमध्ये एक बालश्रम सम्बन्धी ऐन परिमार्जन नहुनु हो ।

चिरञ्जीवी बुढा, विद्यार्थी
हाम्रो ठुलो समस्या भनेकै कुरा ठूला गर्नु तर व्यवहारमा उत्तार्न नसक्नु हो । त्यसकारण बालअधिकार, बालश्रमका कुराहरु हरेक वर्ष नारा मै सिमित हुने गर्दछन् । सम्बन्धित लक्षित व्यक्तिहरुसँग जनचेतनामूखी कार्यक्रमहरु बजेट पुर्याउन नसक्नु पनि बालश्रमको अन्त्य हुन नसक्नुको कारण हुन् ।