विस्तृत शान्ति सम्झौताको १५ वर्ष : उस्तै छन् द्वन्द्वपीडितका घाउहरु
Sunday, November 21st, 2021, 7:03 pm
Kalpristha
लिलाधर वली
दाङ, ४ मंसिर
सरकार र तत्कालिन माओवादीविच विस्तृत शान्ति सम्झौता भएको १५ बर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि सेना समायोजन र संविधान लेखनको काम पूरा भएपनि महत्वपूणर् ठानिएको पीडितसँग प्रत्यक्ष सरोकार राख्ने संक्रमणकालिन न्याय निरूपणको काम भने विस्तृत शान्ति सम्झौता भएको डेढ दशक पुरा भइसक्दासमेत हुन सकेको छैन ।
द्वन्द्वकालिन घटनाबारे सत्यतथ्य बाहिर ल्याउने, पीडितलाई क्षतिपूर्ति दिने, मानवअधिकार हनन् गर्नेलाई कारबाही गर्ने भनिएपनि त्यो अझै पुरा हुन सकेको छैन । जसले गर्दा तत्कालिन सशस्त्र द्वन्द्वका क्रममा पीडित परिवारले अहिलेसम्म राहतको अनुभुति गर्न सकेका छैनन् । दश वर्षीय माओवादी युद्ध र २०६२/६३ सालको जनआन्दोलनको जगमा देशमा विस्तृत शान्ति सम्झौता भएयता महत्वपूणर् उपलव्धी भएका छन् । तर ती उपलव्धीहरुले पीडितको घाउमा मल्हम लगाउन सकेका छैनन् । विृस्तत शान्ति सम्झौताको १५ बर्ष पुरा भैसक्दा पनि पीडितहरुका उस्तै पीडाहरु छन् ।

१.
बाँकेको कोहलपुर-११ कालिकानगरकी देउसरा कामी श्रीमान् धनसिंहलाई २०५९ वैशाख १३ गते राति सुतेको बेला आएर सुरक्षाकर्मी उठाएर लगे । कहाँ लगे र के गरे अहिलेसम्म अत्तोपत्तो छैन । तर, देउसराले आस नै भने मारिसकेकी छैनन् । ‘अन्तरमनमा एक दिन श्रीमान् फर्केर आउलान् भन्ने विश्वास त छ । राती ढोकामा केही आवाज आयो भने उहाँ नै आउनुभयो कि जस्तो लाग्छ ?’ देउसरा भन्छिन् ।
उनी जिउँदो छन कि छैनन् ? देउसरा निरन्तर यो प्रश्न सोधीरहेकी छन् । तर जवाफ कोही दिँदैनन् । धनसिंहसँगै वेपत्ता पारिएका कोहलपुरका अन्य ५ जना अझै भेटिएका छैनन् । करिब २ दशकदेखि राज्यसमक्ष उनी यही प्रश्न गर्दै आएकी छन् । मानव अधिकारवादी संघ-संस्थामा सक्रिय भएर खोजीका लागि अपिल गरे पनि अहिलेसम्म श्रीमानको कुनै खुटखबर छैन । ‘राज्यले न एकल बनायो न दुकल,’ उमेरले ६ दशक पार गरेकी देउसरा भन्छिन््, ‘न्याय नपाउँदासम्म लडिरहन्छु ।’
२.
नेपालगन्ज-१ धम्बोझी निवासी चन्द्रकला उप्रेतीका श्रीमान् भूपेन्द्रराज उप्रेतीलाई सेनाले २०६० मंसिर २३ गते बिहान बेपत्ता बनाएको थियो । धम्बोझी चोकबाट बलजफ्ती नियन्त्रणमा लिइएका भुपेन्द्रलाई नेपाली सेनाको इमामनगर ब्यारेकमा राखिएको भन्ने सुन्नमा आएको थियो । तर त्यसपछि उनी कहाँ गए ? अहिलेसम्म अत्तोपत्तो छैन ।
२०५० देखि भूपेन्द्रले नेपालगन्जमा पसल शुरु गरेका थिए । २०६० मंसीर २३ गते साँझ ६ बजे दारी काट्न बाहिर (पसल नजिक) निस्किएका बेला राँझा हेडक्वाटर प्रितना मुख्यालयका नेपाली सेनाले नियन्त्रणमा लिए ।
पाँच बजेसम्म श्रीमानसँगै पसलमा बसेकी चन्द्रकला खाना पकाउन घरतिर निस्केकी थिइन् । खाना त पाक्यो । तर, खाना श्रीमान आइपुगेनन् । कुर्दाकुर्दै रात बित्यो । भोलीपल्ट बिहानै देवर हस्याङफस्याङ गर्दै घरमा आएर घटना विवरण सुनाए।
त्यसपछि आफन्तहरुकहाँ पुगिन्। आफन्तहरुले व्यापारी हो, छोडिदिन्छ भन्ने आश्वासन दिए। भनसुनका लागि विभिन्न ठाउँ धाउँदाधाउँदै चार दिन बित्यो । चार दिनपछि उनी राँझा ब्यारेकमा गएर श्रमिान्बारे बुझ्न खोज्दा कणर्ेलले भने ॅहामीले पक्राउ गरेका छैनौँ । कुनै खबर पाएमा फोन गरौँला ।’
तर यत्तिका वर्ष हुँदासम्म भुपेन्द्रको अवस्था के हो ? र उनी कहाँ छन् पत्तो छैन । त्यतिबेला ११ र ८ वर्षका रहेका दुई छोरा र ९ वर्षकी छोरीलाई कसरी लालनपालन गरिन् ? त्यो उनलाई मात्रै थाहा छ ।
चन्द्रकला श्रीमान्लाई राज्यले गायब पारेकाले राज्यले नै फिर्ता गराउनुपर्ने मागसहित निरन्तर सरकारी निकायको ढोका ढकढक्याइरहेकी छन् । तर कतैबाट न्यायको अनुभूति उनले महसुस गरेकी छैनन् ।
३.
दश वर्षीय सशस्त्र द्वन्द्वमा देशभरमै सबैभन्दा प्रभावित क्षेत्रका रुपमा रहेको गाउँ रोल्पाको जेलवाङ हो । द्वन्द्वका क्रममा जेलवाङबाट मात्रै ७३ जनाले ज्यान गुमाए । त्यस मध्ये ६३ जना राज्य र दश जना विद्रोहीवाट मारिए । द्वन्द्वका क्रममा ठुलो पीडा खेपेको जेलवाङका द्वन्द्वपीडित परिवारकासमेत उस्तै पीडाहरु रहेका छन् । परिवर्तनका लागि लड्नेहरु नै अहिले परिवर्तन भएर सहिद परिवारहरुलाई भुलेको गुनासो गर्छन् ।
रोल्पा सुनछहारी गाउँपालिका-७ जेलवाङकी ८० वर्षीया भुर्की बुढालाई एक्लै जीवन काट्न परेको छ । सशस्त्र द्वन्द्वका क्रममा एक्लो छोरा गुमाएपछि उनी सहराविहीन बनेकी हुन् । कालगतिले श्रीमान्को मृत्यु भइसकेको छ भने भएका एक मात्र छोरालाई माओवादी बनेको आरोपमा नेपाली सेनाले मारेको थियो । जीवनको सहराकारुपमा रहेका छोरालाई सेनाले मारेपछि सहाराविहिन भएकी उनले राहतको नाममा दश लाख रुपैयाँ र माओवादी पार्टीले घर बनाइदिएको छ । ‘घर र पैसाले मनमा शान्ति हुँदैनन् रहिछ,’ उनले भनिन्, ‘मनमा शान्ति हुनलाई छोरा भएको भए हुन्थ्यो, तर छोरा नै छैन । उसलाई मार्नेहरुलाई कारबाही भएको पनि सुन्न पाइएन ।’
भुर्मीलाई छोराको त्याग खेर गएजस्तो लाग्ने गरेको बताउँछिन् । ‘गाउँ र जनताको परिवर्तनका लागि भनेर लडेको छोराको मृत्यु भयो । त्यही लडाई लड्नेहरु सत्तामा गए तर गाउँको विकास भएन । जनताले केही पाएनन्,’ उनी भन्छिन, ‘नेताहलाई त राम्रो भएको छ, जनतालाई भएन ।’
४. सशस्त्र द्वन्द्वका क्रममा अर्को मानवीय क्षति व्यहोर्ने गाउँ हो, पूर्वी रुकुमको महत गाउँ । महत गाउँमा राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ ले ज्यान गुमाए । त्यही मध्येको एक परिवार हो, पूर्वी रुकुम भुमे गाउँपालिका-६ महत निवासी ७५ वर्षीया जुनसरा सुनारको । । जुनसराका आँखा अहिले पनि रसाइरहन्छन् । जीवनको सहराका रुपमा रहेका उनका पनि एक मात्र छोरालाई प्रहरीले घरबाटै नजिकैको जंगलमा लगेर मारेपछि उनको कोख मात्र रित्तिएन जीवनको सहारा नै गुमाउन पुगिन् । त्यही पीडामा दिन काट्दै गरेकी जुनसरालाई हरेक दिन छोराको सम्झना आउँछ । ‘म बुढी भैसकें, त्यसैमा बिरामी छु । औषधी खाइरहनुपर्छ,’ । बिरामी उनलाई औषधी किनेर ल्याइदिने कोही आफन्तसम्म छैन ।
साँझको खाना खाएर सुत्न लागेका छोरा चन्द्रबहादुर सुनारसहित अन्य ६ जनालाई सोधपुछका लागि भनेर तत्कालिन इलाका प्रहरी कार्यालय महतको प्रहरी टोलीले लगेको थियो । सोधपुछका लागि भनेर लगेका छोरालाई प्रहरीले फर्किन दिएनन् । बरु माओवादीकै आरोपमा यातना दिएर जंगलमा गोली हानेर मारेछ ।
छोरालाई तत्कालिन सरकार र विद्रोही माओवादीबिचको दश बर्षीय सशस्त्र द्वन्द्वका क्रममा माओवादीले २०५६ कार्तिक १ गते उक्त इलाका प्रहरी कव्जा गरेपछि प्रहरीले गाउँका सिधा निर्दोष नागरिकलाई निसानामा पारेको थियो । र, त्यसको निशानामा परेका थिए चन्द्रबहादुरसहित गाउँका अन्य ६ जना । जसमा २ जना महिला र अन्य ३ जना पुरुष थिए ।
५. शारिरीक रुपमा असशक्त महतगाउँकै ८७ वर्षीय सिंहबहादुर बुढा छोरालाई सम्झिँदा भक्किान्छिन् । उनका १३ वर्षिय छोरालाई २०५९ असोज ६ गते सेनाले गोली हानेर मारेको थियो । स्कुलबाट घर फर्कदै गर्दा बाटोमै सेनाले गोली हानेर मारेको बुबा सिंहबहादुर बताउँछन् । देशको लडाईले आफ्नो छोरालाई खाएको उनी बताउँछन् । ‘लडाइले छोरा खायो । बाँचेको भए ठूलो हुन्थ्यो होला आज त’, उनले भने, ‘बाचेर पनि मरेझँै भएको छ ।’ त्यसको वर्षदिन अघिमात्रै उनको कान्छो छोरा जंगलमा मृत अवस्थमा भेटिएका थिए । दुई छोरा गुमाएका वृद्ध दम्पत्तिलाई मरेको छोरा फर्काउन नसकेपनि गाउँमा विकास र सुख सुविधा आओस् भन्ने चाहना छ । ‘हामीलाई अब केही चाहिएन र गाउँमा विकास चाहिएको छ,’ उनले भने, ‘मरेको छोरा त फर्किदैनन्, छोराको नाममा केही देखिने काम गरिदिए मनमा शान्ति हुने थियो ।’
असोज ५ गते महतगाउँको सिस्ने खोलामा माओवादीको जनमुक्ति सेना र नेपाली सेनाको भिडन्तपछि त्यसको भोलिपल्ट गाउँ पसेको नेपाली सेनाले गाउँका ३ जना बालबालिकासहित ११ जनालाई माओवादीको आरोपमा हत्या गरेको थियो । जसमा दुई जना बोल्न नसक्ने अपाङ्गहरुसमेत परेका थिए ।
६. रोल्पा सुनछाहरी-७ जेलवाङकै खुशीलाल कामी र बिर्सा विकले पनि दश वर्षीय सशस्त्र द्वन्द्वका क्रममा चार वर्षीय छोरीलाई गुमाए । अपांग जीवन बिताइरहेका खुशीलालकी एक मात्र सन्तानको रुपमा छोरी रिता जन्मिएकी थिइन् । तीनै छोरीलाई पिठ्यूमा बोेकेर खुसीलालले घरनजिकैको जंगलमा गाई चराउँदै थिए ।
त्यही समयमा सशस्त्र द्वन्द्वका क्रममा २०६० सालमा अप्रेसनका लागि नेपाली सेना जेलवाङमा पुगेको थियो । सरकारी सेना गाउँ पसेको थाहा पाएपछि तत्कालिन जनमुक्ति सेनाले आक्रमण गर्यो । त्यसपछि खुसीसाल दुवैपक्षको बीचमा परे । दोहोरो भिडन्तका क्रममा गोली लागेर खुशीलालले आफ्नै अगाडि चार बर्षीय छोरी गुमाएको श्रीमति बिर्सा विकले बताइन । भएकी एउटी छोरी द्वन्द्वमा गुमेपछि उनको काखमात्र रित्तिएन । बुढेकालको साथ समेत खोसियो । छोरीको सम्झनामा उनले कति आँसु खसाइन् । त्यसको गिन्ती छैन । तर घाउँ बल्झन छोडेन । उक्त घटनाको १९ वर्ष भइसक्दा पनि छोरीको सम्झनामा उनका आँसु हरिरहन्छन् ।
‘लडाइले छोरी खोस्यो, जीवनभरलाई घाउ दियो,’ उनले भनिन्, ‘घाउमा मल्हम पट्टी लगाउने केही भएन ।’
७.
माओवादी र सरकारविचरको द्वन्द्वका चर्केकै समयमा २०५६ सालतिर जेठ महिनामा घरमा काम गरिरहेकी जेलवाङ १८ वर्षीय गोमा रोकालाई सोधपुछका लागि भन्दै लगेको सेनाले घर नजिकैको जंगलमा गोली हानेर मार्यो । पढ्दै गरेकी गोमा माओवादीको आरोपमा मारिएकी थिइन् । घरमा बसेर पढ्दै गरेकी छोरीलाई सोधपुछका लागि भनेर लगेर मारेको आमा सिती रोका बताउँछन् । ‘छोरी पढ्दै थिइ, माओवादीमा लागेकी थिइन’ उनले भनिन्, ‘तर सेनाले माओवादी भनेर छोरीलाई मार्यो ।’ उनले शवसमेत देख्न पाइनन् । युद्ध अन्त्य भएको धेरैपछिसम्म पनि गाउँमा कसैको छोरीचेली देख्दा उनी भक्कानीएर रुन्थिन् । उनी भन्छिन् ,‘निद्रोश नागरिकलाई मानर्ेले साजय पाउनुपर्छ ।’
८.
प्रहरीको यातानासँगै पाँच बर्ष जेल जीवन विताएका ७० बर्षीय मनप्रसाद रोका अहिले पनि औषधी खाइरहन्छन् । २०५१ सालमा माओवादीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर २२ दिन हिरासतमा राखेर चरम यातना दियो । गाउँका गन्यमान्यकारुपमा रहेका मनप्रसादलाई दुःख दिनकै लागि प्रहरीले पाँच वर्षसम्म जेलमा राख्यो । हिरासतमा राख्दा माओवादीलाई सहयोग गरेको भन्दै यातना दियो । त्यही यातनाका कारण अहिले उनलाई ढाड, खुट्टा दुख्ने र धेरै बल लाग्ने काम गर्न नसक्ने भएका छन् ।
‘सरकारले यो माओवादीको गाउँ हो भन्यो । सेना, प्रहरी आएर दिनु दुख दिए,’ उनले भने, ‘लोग्ने मान्छे घर बस्न सक्ने अवस्था थिएन । सेना प्रहरीले घरमै आएर गोली हान्थे । नभए पिट्ने गर्थे ।’ युद्धकालभर कहिले जंगल कहिल घर गर्दै जसोतसो ज्यान जोगाए तर पीडाहरु भने मनभरी छन् । ‘युद्धमा पाएको याताना जीवनभर बल्झिने घाउ बन्यो । बाचुञ्जेल औषधी खानु परेको छ,’ उनी भन्छन्, ‘औषधी गर्दा गर्दै सम्पत्ती सकियो तर न राज्यले हेर्छ न पार्टीले ।’ अहिले उनलाई कसरी औषधी खाने भन्ने पिरलो छ । उनलाई युद्धमा दिएको घाउँ भन्दा बढी नेताहरुको विलासी जीवनशैली देख्दा उनको मन पोल्छ । ‘नेताहरुको जीवनशैली रातारात बद्लिए’ उनले भने, ‘हाम्रो अवस्था उस्तै रह्यो । हामी जस्ता घाइते उपचार नपाएर बस्नु परेको छ ।’
९.
रोल्पाको थवाङ गाउँपालिका-५ गिवाङ निवासी ६२ वर्षीया राममाया रोका सहिद पत्नी हुन् । उनका श्रीमान ताराप्रसाद रोकाको २०६० साल साउन महिनामा माओवादीको गण्डक अभियानका क्रममा नेपाली सेनाको गोली लागेर मृत्यु भयो । त्यसपछिका राममायाका दिन र रात रोएरै वित्यो । श्रीमान् गुमाएपछि अहिले पनि उनको आसु रोकिएको छैन ।
श्रीमान् गुमाएको बदलामा उनले नाममा १० लाख बुझिन् । युद्धमा श्रीमान् गुमाएको भन्दा बढी पीडा उनलाई अहिले पार्टीका नेताहरुले सहिद परिवारलाई बिर्सँदै गएकोमा हुन्छ । त्यसैले हिजो परिवर्तनका सपना देखाएर हिडाएकाहरुप्रति उनको आक्रोश छ । ‘आज सहिद र उनीहरुको परिवारलाई विर्सने काम भएको छ,’ उनी भन्छिन, ‘हिजो युद्ध गर्दा सपना देखाएर आन्दोलनमा हिँडाए । सत्तामा पुगेपछि तीनैले शहिदका सपना भुले । शहिद परिवारलाई बिर्सिए । सहिद परिवारलाई भुल्ने नेतालाई किन हामीले सम्झिने ?’ नेताहरुले चुनावका बेलामात्रै गाउँ सम्झने र पछि बिर्सने गरेको उनको गुनासो छ ।
१०. घोराही उप-महानगरपालिका-१२ निवासी खुशीराम चौधरी जनयुद्धका घाइते हुन् । तत्कालीन विद्रोही माओवादीबाट युद्धमा सामेल भएका उनी रुकुमको खारा आक्रमणमा २०६१ सालमा घाइते भए । बन्दूकका गोली लागेर उनको दाहिने हात र खुट्टा चल्दैन । टाउको, ढाड र छातीमा गरी चार गोलीका छर्रा छन् । देश बदल्ने सपना बोकेर युद्ध लडेका उनलाई अहिले औषधि कसरी किन्ने भन्ने पिरलो छ । अपांग जीवन विताइरहेका उनलाई दश वर्षीय युद्ध तथा २०६३/०६३ आन्दोलनबाट उपलव्धी प्राप्त भएपनि नेताका कारण पाटी छिन्नभिन्न हुँदा निराश छन् ।
कम्युनिष्टहरु मिलेर देशको ठुलो पाटी हुँदा नपाएको न्याय अब नेताले फेरी दिन्छु भन्दा उनलाई विश्वास लाग्दैन । ‘जनताको जनता देशमा सवै कम्युनिष्ट मिल्दिउन् भन्ने थियो । त्यो भयो पनि तर नेताहरु मिल्न सकेनन,’ उनले भने, ‘अहिले मिलेको पार्टी फुटेको छ । त्यही पनि नेताहरु हामी गर्छौँ भनेर भाषणा गर्छन् । अब कसरी विश्वास गर्ने ?’ आफ्नै पार्टीको सरकारले समेत द्वन्द्वपीडित परिवारलाई न्याय दिन नसकेको उनको गुनासो छ ।