ईट्टा उद्योगले दियो स्थानीयलाई सास्ती
Tuesday, November 23rd, 2021, 6:00 am
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, ६ मंसिर
‘ईट्टा उद्योगबाट उड्ने धुलोले घर ढाकीसक्यो, रातभरी ईट्टा उद्योगबाट आउने आवाजले सुत्न पाइँदैन । गाउँको बीचोबीच हुँदै अन्धाधुन्ध गुड्ने ट्रयाक्टर र टिप्परको आवाजले गाउँ कोलाहलमय बनेको छ । दुर्घटनाको जोखिम बढेको छ । कच्ची बाटोमा ट्रयाक्टर टिप्पर गुड्दा हिड्न नमिल्ने भएको छ । बालबालिकाहरुले पढ्न पाउने अवस्था छैन ।’ यो अवस्था बाँकेको जानकी गाउँपालिका-३ पासीपुर टोलका स्थानीयहरुको हो । उक्त टोल सुधार समितिका अध्यक्ष वीरसिंह ठकुरीले टोलको बीचमा ईट्टा उद्योग सन्चालनमा ल्याइएपछि स्थानीयवासीहरुमा प्रत्यक्ष असर परेको बताए ।
गाउँमा ईट्टा उद्योगका कारण बस्न नसकिने अवस्था सृजना भएको स्थानीय रोशनी मल्लले बताइन् । स्थानीय बालविकास केन्द्र पनि ईट्टा उद्योगका कारण विस्थापित हुन पुगेको उनले बताइन् । बालबालिकालाई विद्यालय जानआउन पनि जोखिम भएको स्थानीय पवित्रा महरा क्षेत्रीले बताइन् । ईट्टा उद्योगमा काम गर्ने मजदुरहरुका लागि उचित शौचालय र सरसफाईको व्यवस्था नहुँदा खुला शौचको समस्या बढेको स्थानीय गुनासो गर्छन् ।
वातावरणमा प्रतिकुल प्रभाव पार्ने उद्योगहरु अनिवार्य वातावरणीय प्रभाव मुल्यांकन गरेर मात्रै खोल्न पाइन्छ । प्रतिकुल प्रभाव पार्ने उद्योगहरु मानव बस्तीभन्दा टाढा र स्वास्थ्यमा प्रतिकूल प्रभाव नपार्नेगरी सन्चालन गर्नुपर्दछ । यदि ती मापदण्ड पालना नगरिएमा त्यस्ता उद्योगहरु खोल्न अनुमति दिन पाइँदैन । तर, बाँकेमा वातावरणमा प्रभाव पार्ने उद्योगहरु नै मानव बस्तीमा सन्चालित छन् । त्यही अवस्था जानकी-३ स्थित बाबु ईट्टा उद्योगका सन्दर्भमा पनि लागू हुन्छ ।
स्थानीयहरु उक्त ईट्टा उद्योग दर्ता गर्दा अर्कै ठाउँ दर्ता गरेर उद्योगको मुख्य काम बस्तीको बीचमा गरिएको बताउँछन् । बाबु ईट्टा उद्योगको चिम्नी एक ठाउँमा छ भने ईट्टा तयार गर्ने र माटो तयार गर्ने ठाउँ बस्तीको बीचमा । उद्योगको चिम्नी भएको ठाउँपनि बस्तीबाट करिब ३ मिटर नजिक रहेको स्थानीय बताउँछन् । जबकी ईट्टा उद्योग बस्तीभन्दा कम्तिमा पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । तर त्यो मापदण्ड नपुग्दै उद्योग सन्चालन गर्न वडा नम्बर ३ ले सिफारिस गर्यो । उक्त सिफारिसका आधारमा घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जले उद्योग सन्चालन गर्न इजाजत प्रदान गर्यो । घरलु तथा साना उद्योग कार्यालय नेपालगन्जका सूचना अधिकारी काशीलाल अधिकारी भन्छन्, ‘उद्योगको वातावरणीय प्रभाव मूल्यांकन पनि भएको हो ।’
तर, गाउँको बिच भागमा दुई सय मिटर आसपासमा बस्ती रहेको ठाउँमा ईट्टा उद्योगको काम गर्नेगरी अनुमति दिइनु र वातावरणीय प्रभाव मूल्यांकन गर्दा पनि स्थानीयहरुसँग सोधपुछ नै नहुनुले दर्ता प्रकृयामै अनियमिता गरिएको स्थानीयहरुको आशंका छ । सूचना अधिकारी अधिकारीले अनुमगनका क्रममा उद्योगको मुख्य स्थानबाहेक अन्त काम भएको, बस्तीको नजिक काम भएको र स्थानीयरुलाई प्रतिकूल असर परेको पाइएमा कानुनअनुसार कारबाही हुने बताए ।
ईट्टा उद्योग सन्चालनका लागि सिफारिस गर्ने जानकी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विन्देश्वरी वर्मा(कुर्मी) पनि पहिले अनुमति दिएको भन्दा फरक ठाउँमा ईट्टा उद्योगको काम भएको बताउँछन् । बस्तीको बीचमा उद्योग सन्चालन हुँदा स्थानीयहरुलाई मर्का परेको विषयमा वडा कार्यालयमा गुनासो आएको र तत्काल अर्को व्यवस्था नहुन्जेलसम्म काम रोक्न भनेको वर्माले दाबी गरे । तर, अहिलेपनि सोही ठाउँमा काम धमाधम चलिरहेको छ । स्थानीयहरुले सास्ती भोग्न रोकिएको छैन ।
बाबु ईट्टा उद्योगका सन्चालकमध्येका एक नजिब साईले ईट्टा उद्योग सन्चालन गर्न इजाजत पाएको ठाउँमा मुख्य चिम्नी र ईट्टा तयार गर्ने स्थल भने अर्को ठाउँमा रहेको स्वीकार गरे । सवारी साधनका कारण स्थानीयहरुमा परेको असर कम गर्न पानी छम्किने र खाल्डाखुल्डी पुर्ने काम गर्दै आएको उनको भनाइ छ । अहिले उक्त जग्गा महंगो शुल्क तिरेर भाडामा लिइसकेकोले तत्काल उक्त ठाउँ छोड्न अप्ठ्यारो भइरहेको उनले बताए । यद्धपि ईट्टा उद्योग मापदण्डमै सन्चालनमा रहको दाबी गर्न उनले छोडेनन् । उक्त ईट्टा उद्योग २०७८ असारमा दर्ता भएको पाइएको छ ।