आलु जोगाउन हिरमिनियावासीको संघर्ष
Thursday, December 2nd, 2021, 1:08 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १५ मंसिर
बाँकेको डुडुवा गाउँपालिका-६ हिरमिनियाका किसान विनोदकुमार मौर्यका बुवाले भारतमा लगेर कोल्ड स्टोरमा आलु राख्ने गरेका थिए । प्रशस्त्र आलु उत्पादन हुने तर भण्डारण गर्ने ठाउँ नहुँदा उनका बुवाले अनेक दुःख भोगे । ‘आलु यहाँ राखेर जोगाउन सकिँदैनथ्यो । अनि बोर्डर पार लगेर त्यहाँको कोल्डस्टोरमा राख्न खोज्यो भने यहाँ भन्सारका कर्मचारीले अनेक दुःख दिने गर्थे,’ विनोदले भने, ‘त्यहाँका कोल्ड स्टोर वालाले हाम्रो आलुलाई सही तरिकाले ठाउँ दिन्नथे । एकवर्ष त पुरै आलु कुवाइदिए ।’
त्यसपछि स्थानीय किसानहरुले महेन्द्रनगर लगेर आलु सित भण्डारमा आलु राख्न थाले । महेन्द्रनगरपछि धनगढी हुँदै हाल उनीहरुले कोहलपुरस्थित भेरी सितभण्डारमा आलु भण्डार गरेर राख्ने गरेका छन् ।
हरिमिनियबाट कोहलपुर लगेर आलु राख्न पनि सहज छैन । अहिलेपनि बाटोमा आलु बोकेका ट्रयाक्टरबाट प्रहरीले अवैद्य असुली गर्न छोडेका छैनन् । कोल्ड स्टोरमा राखेको भाडा र ढुवानी भाडा उनीहरुको लागतमा थपिन्छ । कृषक मौर्य भन्छन्, ‘क्वीन्टलको दुई सय रुपैयाँ कोल्ड स्टोरको भाडा र ६०-६५ रुपैयाँ ढुवानी भाडा लागिहाल्छ ।’
हिरमिनियाँ गाउँ आलु उत्पादनको पकेट क्षेत्र हो । उक्त गाउँका प्रत्येक घरपरिवार आलुखेती गर्छन् । एक हिसाबले आलु तथा तरकारी खेती हिरमिनियाको परम्परागत पेशा नै हो । कमै आलु उत्पादन गर्नेले पनि १०, २० क्विन्टल त आलु उत्पादन गरेको हुन्छन् । स्थानीय वन्सिलाल मौर्य र श्यामलाल मौर्य सबैभन्दा बढी क्षेत्रफलमा आलु खेती गर्ने कृषकका रुपमा परिचित छन् । उनीहरुले करिब ४० बिघाबढीमा आलु खेती गर्दै आएका छन् ।
आलुका साथै स्थानीय किसानहरुको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती हो । हिरमिनिया बाँकेमा तरकारीको माग धान्ने मुख्य गाउँ हो । स्थानीय तरकारी किसानहरु महातरकारी उत्पादक कृषक सहकारीमा पनि आबद्ध छन् ।
सहकारीमा हाल ७५ जना शेयर सदस्यहरु रहेका सहकारीका सचिव विनोदकुमार मौर्यले जानकारी दिए । उनका अनुसार यसवर्ष पनि गाउँमा मात्रै दुई सय ५० देखि ३०० बिघासम्म क्षेत्रफलमा आलु खेती गरिएको छ ।
गाउँनजिकै सितभण्डार बन्नुपर्छ भन्ने किसानहरुले माग राख्दै आएका थिए । गाउँपालिकाले मंगलबार सितभण्डारको शिलान्यास गरेसँगै किसानहरु खुसी भएका छन् । उनीहरु योजनालाई चाडोभन्दा चाडो पूरा गर्नुपर्ने बताउँछन् ।
सितभण्डार बनेमा गाउँका साना किसानहरुले पनि आफ्ना उत्पादनहरु बिक्री नहुन्जेलसम्म जम्मा गरेर राख्न सक्ने र ठूला किसानले पनि त्यसको भरपूर लाभ लिन पाउने उनीहरुको भनाई छ । यसले किसानहरुको लगाव र हौसला बृद्धि गर्ने विश्वास स्थानीयको छ ।