बाँकेका ७ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा
Tuesday, December 7th, 2021, 7:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ मंसिर
बाँकेका ७ जना नेताहरु नेपाली कांग्रेसको केन्द्रीय सदस्यको दौडमा छन् । मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेबाट ७ जनाले आकांक्षा प्रकट गरेका हुन् । उनीहरु अहिले आ-आफ्नो समूहमा उम्मेदवारीका लागि कसरत गरिरहेका छन् ।
बाँकेबाट केन्द्रीय सदस्यमा हालसम्म आकांक्षा राख्नेहरु संस्थापन पक्षका ६ जना र संस्थापन इतरका एकजना छन् । आकांक्षीहरु युवा नेता रविन्द्रमान श्रेष्ठदेखि वर्तमान सभापति किरण कोइरालासम्म छन् । आकांक्षीहरुमा श्रेष्ठ र कोइरालासहित पूर्वमन्त्री गजेन्द्र हमाल, संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, आशा विक, कृष्ण विक रसाइली र नेता लुटबहादुर खत्री छन् । यीमध्ये वर्तमान पार्टी जिल्ला सभापति कोइरालाबाहेक सबै संस्थापन पक्षका हुन् ।
कांग्रेसका पूर्व सभापति कृृष्णमान श्रेष्ठको लिगेसी पछ्याउँदै राजनीतिमा होमिएका युवा नेता रविन्द्रमान श्रेष्टले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । श्रेष्ठले कालपृष्ठसँग कुरा गर्दै भने, ‘पार्टीमा युवा र सक्षम नेतृत्वमा खाँचो छ । म त्यसका लागि योग्य छु भनेर साथीहरुले भन्नुभएको छ । हाम्रो समूहबाट दाबेदारीका लागि साथिहरुले अनुरोध पनि गर्नुभएको छ ।’
पुर्वमन्त्री हमाल संस्थापनका तर्फबाट लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यका लागि आकांक्षी देखिएका छन् । कोइरालाले केन्द्रीय सदस्य(महिला)मा लड्ने आकांक्षा राखेकी छन् । यस्तै रसाइलीले (दलित पुरुष) केन्द्रिय सदस्यमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । पुर्वसभासद वाल्मिकी पनि (दलित पुरुष) बाट केन्द्रिय सदस्यको आकांक्षी छन् ।
पुर्वसभासद आशा (दलित महिला) बाट केन्द्रिय सदस्यको आकांक्षी छिन् । खत्रीले अपांगता कोटाबाट उम्मेदवारी दिने आकांक्षा देखाएका छन् । पुर्वमन्त्री हमालले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै देउवा(संस्थापन) प्यानलबाट केन्द्रिय सदस्यमा आफूलाई उम्मेदवार बनाउन नेताहरु लागेको बताए ।
संस्थापन इतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन् । कोइरालाले संस्थापन इतर पक्षबाट केन्द्रिय सदस्य(महिला)मा चुनाव लड्ने तयारी गरिरहेको बताइन् ।
केन्द्रिय सदस्यको आकांक्षी आशाले ४ जना दलित (महिला) कोटामा आफु पनि पर्ने सम्भावना रहेको बताइन् । यसैगरी अर्का आकांक्षी रसाइलीले कांग्रेस निकट दलित संघबाट पदीय हिसाबले आफु सिनियरमा चौथो नम्बर भित्रपर्ने भएकाले केन्द्रिय सदस्य (दलित पुरुष)को उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताए । केन्द्रिय सदस्यका आकांक्षी रहेका पुर्वसभासद वाल्मिकीले पनि (दलित पुरुष) कोटाबाट केन्द्रिय सदस्यको उम्मेदवार बन्ने आफ्नो आकांक्षा रहेको बताएका छन् ।