वर्ष पुस्तकले न्यायको पक्षमा काम गर्न हौसला थपेको छः न्यायाधीश पोखरेल
Sunday, February 19th, 2017, 6:43 am
amit
प्रमोद रिजाल
कोहलपुर – नेपाल मानव अधिकार वर्ष पुस्तकले न्यायका पक्षमा काम गर्न हौसला थपेको न्यायाधीश कमलप्रसाद पोखरेलले बताए ।
नेपालगञ्जमा फागुन ७ गते को सार्वजनिकीकरण कार्यक्रममा न्यायाधीश पोखरेलले उक्त कुरा बताएका हुन् । उनले मानव अधिकार संरक्षण र सम्बर्द्धनमा राज्यको दायित्व भएको बताउँदै न्यायालय सुधारको क्रममा रहेको उल्लेख गरे । न्यायाधीश पोखरेलले वर्ष पुस्तकमा न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकाको समीक्षाले जनताको पक्षमा भएका राम्रा कामको मूल्याङ्कन गरी सुधार गर्ने आधार भएको बताए ।
प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले कुनै पक्षबाट मानव अधिकार ज्यादती र उल्लङ्घन गर्न नहुने बताउँदै सबै घटनाको जवाफदेहीता राज्य पक्षको हुने बताए । आगामी दिनमा यस्ता घटना दोहोरिन नहुने बताउँदै सबै निकायमा सुधारको आवश्यकता रहेको बताए । मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा राज्यले मानव अधिकार कार्ययोजना सुरु गरेको पन्थको भनाइ छ । अञ्चल प्रहरी कार्यालयका एसएसपी महेशबिक्रम शाहले मानव अधिकार संरक्षणमा राज्यपक्ष संवेदनशील रहेको बताउँदै जबसम्म वैज्ञानिक उपकरण भित्रिँदैन तबसम्म मानव अधिकार संरक्षणमा प्रहरीलाई बाधा पुग्ने बताए ।
उनले व्यक्तिगत कमजोरीका कारण प्रहरी पनि मानव अधिकार संरक्षण र सम्बर्द्धनमा चुकेको बताउँदै घटनामा संलग्न प्रहरीलाई कारवाहीको दायरामा ल्याइएको बताए । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारीप्रसाद खरेलले महिला हिंसाका घटना डरलाग्दो रूपमा आएको बताए । उनले आगामी दिनमा मानव अधिकारको नीति कार्यान्वयन नगर्ने पक्ष वा व्यक्तिका बारेमा पनि अभिलेखीकरण गनुपर्ने सुझाव दिए । नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले वर्ष पुस्तक सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रमाण जुटाउने आधारको रूपमा रहेको बताए । मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेश गौतमले वर्ष पुस्तक सरकारी निकायको जवाफदेहीताका लागि उपयोगी भएको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरेले नयाँ ढङ्गले आम नागरिकलाई अधिकार सम्पन्न गर्ने गरी मानव अधिकारको दस्तावेजीकरण इन्सेकले गरेको बताए । द्वन्द्वपीडित तथा एकल महिला सञ्जालकी अध्यक्ष एकमाया विकले सबै पीडितको भावनालाई समेटनेगरी सम्बन्धित आयोगलाई झक्झक्याउन इन्सेकले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले मानव अधिकारको अवस्था प्रस्तुत गरे । उनले विगत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा कमी आएको बताए ।