‘सबै को रहर, वातावरण मैत्री सहर’
Tuesday, December 14th, 2021, 8:03 pm
Kalpristha
–सतिश निरौला
संसार को ध्यानाकर्षण अहिले वातावरणका सन्दर्भमा केन्द्रित भएको छ । संयुक्त रास्ट्र संघ देखि ठूला-ठूला अन्तर्राष्ट्रिय संघसंगठनहरु यो अभियानमा होमिएका छन् । अमेरिकी, युरोपेली, दक्षिण अमेरिकी र एसियाली, अफ्रिकी मुलुकहरू पनि यो अभियानमा जोडिएकै छन् । कार्बन उत्सर्जनमा कमी ल्याउन त थुप्रै परियोजना देखि सन्धी सम्झौताहरु समेत भएका छन् । त्यसैले अहिले सबै को रहर बनेको छ ‘वातावरण मैत्री सहर’ ।
के रहर ले मात्रै सम्भव छ त वातावरण मैत्री सहर ? प्रश्न यत्रतत्र उठेको छ । रहर अनुसारको तात्पर्यता, योजना र त्यसको कार्यान्वयन ले मात्रै यो रहरलाइ साकार पार्न सक्छ । नेपाल पनि कार्बन उत्सर्जनको कमि गर्ने र वातावरणका सन्दर्भमा आफुलाइ उभ्याउने प्रतिबद्धता विभिन्न फोरमहरुमा जनाउने गरेको छ । पछिल्लो समयमा स्थानीय सरकारहरु पनि उत्कृष्ट पालिका र सहर बनाउने र आफुहरुलाइ अपग्रेड गर्ने होडबाजी मै छन् । वातावरण मैत्री सहर र गाउँ का लागि थुप्रै संघ-सस्थाहरुको कृयाशिलता जताततै छ । तर पनि यस सम्बन्धमा प्रभावकारी कामहरु हुन सकिरहेको छैन ।
बाँके जिल्लाको तेस्रो ठूलो बजारकारूपमा चिनिएको खजुरा बजार केही वर्ष अघिदेखि खजुरा गाउँपालिकाले ल्याएको ‘ग्रीनसिटी’को अवधारणासँगै चर्चामा छ । पछिल्लो समय संसारभर फैलिएको कोभिड-१९ का कारण ग्रीनसिटी को परियोजना अलमलमा परेको बताइए पनि बेलामौकामा चर्चा र चासोको सवाल बनिरहेको छ, ‘ग्रीनसिटी’ खजुरा । अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको सहयोगमा अगाडि बढाईन खोजेको खजुरा ग्रीन सिटी परियोजनाले पूणर्ता पाएर काम अगाडि बढे जिल्ला र प्रदेशमा मात्रै होइन सिङ्गो देश भरकै लागि खजुरा एउटा ‘मोडल सिटी’ का रूपमा स्थापित हुनेछ । बाह्य सहयोगमा यो परियोजनाको काम अगाडि बढाउन खोजिए पनि स्थानीय पालिकाबाट पनि प्रारम्भिक रूपमा ग्रीनसिटिको छनक दिन साधारण फ्रेमवर्क तयार गरेर अगाडि बढ्न जरुरी छ ।
वातावरण मैत्री सवारी साधन

साइकल यात्राका क्रममा निरौलाले कैद गरेको तस्बिर
वातावरण मैत्री सहरका कुरा गर्दा सवारी साधनको विषय पनि प्रमुख हो । संसारका थुप्रै विकसित र सम्पन्न देशहरूमा वातावरणमैत्री सवारी साधनको प्रयोग बढ्दो छ । आम जनताहरु अहिले ८५ मुलुक र युरोपेली देशहरूमा वातावरण मैत्री सवारी को रूपमा साइकलको प्रयोगलाई अङ्गीकार गरिरहेका छन् । ती देशमा आमनागरिक मात्रै होईन रास्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुदेखि सांसदहरु र उच्च ओहोदाका कर्मचारीलेसमेत साइकलको सवारी गरी आफ्नो कार्यालय पुग्ने गरेको समाचार सहितका तस्बीर र भिडियो सामाजिक संजालहरु देख्न पाइन्छ । बेला-बेला यसले आम सर्वसाधारण लाई पनि वातावरण मैत्री सवारीको प्रयोगमा प्रोत्साहन र सकारात्मक सन्देश प्रवाह गरेको छ ।
नेपालमा पनि कम्तिमा हप्ताको दुई दिन साइकल बाहेकका सवारी साधन प्रयोग नगरी सरकारी कार्यलय पुग्ने नियम बनाउन सके इन्धनकोको प्रयोग बापत हुने ठुलो सरकारी खर्च जोगिने र वातावरण मैत्री देश बनाउने अभियान लाई टेवा पुर्याउने थियो । आफू नेपाली सेनाको चिफ हुँदा बेलामौकामा साइकल बाट नै जङ्गीअड्डा पुग्ने गरेका तत्कालिन आर्मी चिफ गौरव शमसेर राणा र सशस्त्र प्रहरी बलका तत्कालिन महानिरीक्षक सिंह बहादुर श्रेष्ठको कार्यलय आउँदा जाँदाको साइकल प्रयोग धेरैका लागि अनुकरणीय बनेको थियो भने आफू मन्त्री हुँदा राष्ट्रिय झन्डा साइकलको अगाडि टाँगेर मन्त्रालय पुगेका तत्कालीन मन्त्री लालबाबु पन्डित पनि चर्चामा रहेका थिए ।
वातावरण मैत्री सवारी साइकलको प्रयोगलाई बढाउन र यसलाई सुरक्षित सवारीसाधनका रूपमा स्थापित गर्न साइकल चढ्ने सरकारी कर्मचारीहरुलाई विशेष सेवा सुविधादेखि आम नागरिकका लागि पनि विशेष कार्यक्रम घोषणा सरकारले गर्न जरुरी छ । बिस्तारै देशका सबै सडकहरुमा साइकल लेन बिस्तार गर्ने र नयाँ बन्ने सडकमा अनिवार्य साइकल लेन हुने गरी काम अगाडि बढे ‘सबै को रहर वातावरण मैत्री सहर’ को नाराले सार्थकता पाउनेछ ।
लेखक साइकल अभियन्ता हुन्