घोराही-तुलसीपुर फोरलेन पेटी ठेकेदारलाई, काम धकेलिँदै
Friday, December 17th, 2021, 6:39 pm
Kalpristha
लिलाधर वली
दाङ, २ पुस
घोराही उप-महानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उप-महानगरपालिकाको हात्तिखौवासम्मको सडक बिस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारका रुपमा नेपाली तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको पाइएको छ । उक्त सडक निर्माणको काम भारतीय ॅतथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लि.’ ले पाएको थियो ।
पहिले पनि पेटी ठेकेदारका रुपमा स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवालाई म्मिा दिएकामा समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफै सडक निर्माण गर्ने बताएको तथ्यले पुनः अन्य निर्माण कम्पनीहरुलाई सडक निर्माणको जिम्मा दिएको हो ।
अष्टभैरव निर्माण सेवासँग सम्झौता तोडेको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले गत मंसिर १० गते घोराहीमा फोरलेन सडक निर्माणको शुभारम्भ गर्दै अब सडक निर्माणको काम आफ्नै कम्पनीले गर्ने बताएको थियो । प्रालिका प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले स्थानीय प्रतिनिधिले सडक निर्माण नगरेर आफ्नो कम्पनीको बद्नाम गरेको भन्दै अब सडक निर्माणको कामले गति लिने प्रतिबद्धता जनाएका थिए । तर, कम्पनीले पुनः पेटी ठेकेदारका रुपमा बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्यका आधिकारिक प्रतिनिधि विजय पाठकले जानकारी दिएका छन् ।
प्रतिनिधि पाठकका अनुसार अब बबई नदीदेखि चौघेरासम्म पहिलो खण्डको पाँच किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर विमला निर्माण सेवा र बाँकी खैरादेखि तुलसीपुरको हात्तिखौवासम्मको १२ किलोमिटर सडकको जिम्मा शिवपुरी निर्माण सेवाले गर्नेछ ।
तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४.४६ किलोमिटर सडक चारलेन र १३.७३ किलोमिटर सडक दुई लेन सडकका रुपमा निर्माण गर्नेछन् । निर्माण कम्पनीका अनुसार बबई नदीदेखि-कुटवा खोलासम्म ६ दशमलव ५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३ दशमलव ७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तिखौवासम्म ८ दशमलव ३१ किलोमिटर सडक चारलेन बनाउने गरी सम्झौता भएको छ ।
पुरानाले सहयोग नगर्दा काममा ढिलाई
फोरलेन सडक निर्माणको सुभारम्भ गरेको २२ दिनपछि पुनः तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सडक निर्माणका लागि भैरहेको कामका बारेमा जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सडक निर्माणको जिम्मा पाएका तीनवटै पेटी कम्पनीका प्रतिनिधिहरुलाई राखेर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका प्रतिनिधि विजय पाठकले वितेको २२ दिनको अवधिमा सडक निर्माणका लागि कम्पनीले कागजी प्रक्रिया र डाटा संकलनको काम गरिरहेको बताएका छन् ।
सडक निर्माणका लागि प्रक्रियागत कामसँगै भौतिक प्रगति अघि बढाउनका लागि कानुनी तथा प्राविधिक प्रक्रिया मिलाउने क्रममा अहिले सडकमा भौतिक प्रगति देखिने गरि काम गर्न नसकेको बताए । ‘पहिले निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाई भएको छ । यो काम मिलाउने अव अन्तिम चरणमा छौ’,प्रतिनिधि पाठकले भने,‘यो काम सकेपछि सडकको निर्माणको कामले गति लिनेछ । इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध नगराउदा काम गर्न समस्या भएको छ । अहिले त्यो काम मिलाउन अहिले लागी परेका छौ ।’ उनले उक्त काम अबको एक हप्ताभित्र सकिने समेत बताए ।
निर्माण कम्पनीको कागजी प्रक्रिया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम भएको बताएको छ । पहिलो ठेकेदार पक्षले ल्याब नदिएपछि माटो परिक्षणका केन्द्रमा पठाउनु पर्दा सडकमा काम गर्न ढिलाई हुन पुगेको बताइएको छ ।
सडक निर्माणको काम दुई वर्षमा काम सम्पन्न गर्ने गरी करिब ३४ महिनाअघि ठेक्का सम्झौता गरेको अष्टभैरव निर्माण कम्पनीले काम नगर्दा मुख्य कम्पनीले उसँग सम्झौता तोडेको थियो । सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गरी फोरलेनको सम्झौता भएको थियो । एक करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सम्झौता भएको थियो ।