बाँके र बर्दियामा ११ वटा सडक निर्माण गर्ने संघको योजना
Monday, December 20th, 2021, 6:00 am
Kalpristha
–वीरेन्द्र जैसी
संघीय सरकारले यसवर्ष बाँके बर्दियाका ११ वटा सडक निर्माण सुरु गर्ने तथा सूरु भइसकेका सडकलाई निरन्तरता दिने योजना बनाएर पठाएको छ । डिभिजन सडक कार्यालय नेपालगन्जमार्फत वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम र निर्वाचन क्षेत्र रणनैनिक सडक अन्तर्गत ती सडक निर्माण योजनाहरु अघि बढाइने छन् । तर, यी ११ वटा सडक निर्माणका लागि मात्र २४ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत बाँकेका चार वटा सडक र बर्दियाका दुईवटा सडक निर्माण कार्य अघि बढाउने योजना छ । बाँकेमा कारकाँदो तालिम केन्द्रदेखि मानव आश्रम हुँदै खजुरा रोड जोड्ने लिंकरोड, कोहलपुर-१२ चप्परगौडीदेखि निबुवा खड्गवार हुँदै घुईयाबारी जोड्ने सडक, नेपालगन्जको फुलबारी मस्जिददेखि कल्लु कसगरको घरसम्म जोड्ने नाला ढकनसहित र रानी तलाउ स्कुलदेखि सगिर अहमद अन्सारीको घरसम्म जोड्ने सडक पनि यसवर्ष निर्माण र स्तरोन्नती गर्ने कार्यक्रम तय गरिएको छ । यीमध्ये कतिपय सडकहरु पहिलेदेखि नै निर्माणधिन पनि छन् ।
उता बर्दियामा जब्दी, पचकहवा, बैदा, धधवार गाउँ, बकलभार, दुध्धा थानफेना हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने सडक र राजकुलोदेखि हर्नहवा हुँदै मनिकापुरसम्म जोड्ने सडक पनि निर्माण तथा स्तरोन्नति हुनेछ ।
यी सडकहरु राजमार्गसँग जोडिएर निर्माण हुने सहायक मार्गकारुपमा रहेकोले तीनको विकास गर्न लागिएको डिभिजन सडक कार्यालय नेपालगन्जका नेपालगन्जका प्रमुख होमबहादुर एसीले जानकारी दिए । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि समग्रमा मात्र १५ करोड रुपैयाँ छुट्याइएको छ । यीमध्ये कारकाँदो तालिम केन्द्रदेखि मानव आश्रम हुँदै खजुरा रोड जोड्ने लिंकरोड, कोहलपुर-१२ चप्परगौडीदेखि निबुवा खड्गवार हुँदै घुईयाबारी जोड्ने सडक र राजकुलोदेखि हर्नहवा हुँदै मनिकापुरसम्म जोड्ने सडकको ठेक्का प्रकृया अघि बढिसकेको छ । अरुको सुरु भएको छैन ।
यस्तै देशका सबै निर्वाचन क्षेत्रमा एउटा-एउटा पर्नेगरी गरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक शिलान्यास गरेको घोषणा गरेका एक सय ६५ वटा निर्वाचन क्षेत्र रणनैतिक सडकहरूमध्ये बाँके बर्दियाका पाँचवटा सडहरु पनि निर्माणको योजनामा राखिएको छ ।
बाँकेमा क्षेत्र नम्बर १ को नरैनापुरदेखि कुम्भर, बैजापुर हुँदै अगैयामा पूर्वपश्चिम राजमार्ग जोड्ने सडक, क्षेत्र नम्बर २ को डुडुवा-२ गन्धैली नालादेखि बेतहनी, अमृतपुर्वा, राजरामपुरुवा, बनकट्टि, मिलनचोकसम्मको सडक र क्षेत्र नम्बर ३ को लागि नेपालगन्जको गणेशमानचोकदेखि परशपुर, गौघाट हुँदै बर्दियाको बढैयाताल जोड्ने सडक रणनैतिक सडक योजनामा परेका छन् । यी मध्ये क्षेत्र नम्बर ३ को सडकको निर्माण कार्य अहिलेपनि जारी छ भने अरु सडकका पनि केही खण्ड निर्माण भइसकेका छन् । बर्दियामा घोरपिट्टा देखि बानियाभार सडक र पन्चबजारदेखि फुटाहा, जमुनी हुँदै मानखोला गौघाट सडक निर्माणको योजनामा परेका छन् ।
तर, यी सडकमा आवश्यकताभन्दा निकै कम मात्रै बजेट छुट्याइएको छ । शिलान्यासका बेला दुई निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा ४० करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्र र तीन वा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा २५ करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्रको दरमा छुट्ट्याएको थियो । तर, वर्तमान सरकारले यस कार्यक्रमका लागि दुवै जिल्लाका सबै निर्वाचन क्षेत्रका लागि मात्र नौ करोड २० लाख रुपैयाँमात्रै छुट्याएको छ ।
निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डहरूमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल/सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थलहरूलाई जोड्ने गरी निर्धारण गरिएका छन् । तर बजेट नै कम हुँदा यी सडक निर्माणमा अपेक्षित परीणाम आउने संभावना कम छ । शिलान्यासका बेला यी सबै सडक तीन आर्थिक वर्षभित्र सम्पन्न भइसक्ने बताइएकोमा त्यो लक्ष्य पूरा हुने देखिँदैन ।
अहिलेसम्म रणनैतिक सडकहरुको अहिलेसम्म ठेक्का प्रकृया पनि सुरु भएको छैन । अघिल्लो सरकारले अघि सारेको यो कार्यक्रमलाई सरकार परिवर्तनपछिको बजेटमा व्यवस्था भएर आउन नै ढिलो भएका कारण ठेक्काको काम स्वतः पछि धकेलिएका प्रमुख एसीले बताए ।