वडा ६ मा स्वास्थ्य केन्द्रको उद्घाटन
Monday, December 20th, 2021, 5:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ५ पुस
खजुरा गाउँ पालिकाको वडा नम्बर ६ मा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । वडा नम्बर ६ का अध्यक्ष साबिर जोलाहको अध्यक्षतामा भएको भवन उद्घाटन खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गरे । जनतालाई वडासम्मै स्वास्थ्यमा पहँुच पुगाउने उघेश्यले वडा नम्बर ६ मा पनि सेवा सुरु गरिएको अध्यक्ष कक्षपतिले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष किस्मतकुमार कक्षपति
उद्घाटनमा अध्यक्ष कक्षपतिले जनतालाई गरिएको वाचाहरु मध्य एक स्वास्थ्य सेवा पनि रहेकाले उक्त कार्यलाई पालिकाले प्राथमिकता दिएको बताए । अध्यक्ष कक्षपतिले बाँकेमा सबै वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने खजुरा बनेको उल्लेख गरे । प्रत्येक वडाका जनतालाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीहरु सञ्चालन गरिएको उनले बताए ।
खजुरा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले संघीयता कार्यन्वयन सँगै स्थानीय सरकारको मुख्य उद्देश्यभित्र स्वास्थ्य पनि रहेको बताए । उनले खजुरा सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको उल्लेख गरे । खरालले आधारभूत स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य चौकी सरहको सेवा दिन सक्नेगरी योजना बनाइएको र उक्त योजना कार्यान्वयनको क्रममा रहेको जनाए ।

भवनको उद्घाटन गरिँदै
स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले स्वास्थ्य सेवा दिने कुरामा केही भए पनि सहज हुने बताए । उनले अभाबमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपर्ने उल्लेख गरे पौडेलले स्वास्थ्यकर्मीले गुणस्तर स्वास्थ्य सेवा दिन तत्पर रहेको प्रतिबद्धतासमेत गरे ।
खजुरा गाउँ पालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले खजुरा स्वास्थ्य सेवामा सक्षम रहेको बताए । उनले जनप्रतिनिधि निर्वाचित भएपछि खजुरामा विकासको मूल फुटेको भन्दै स्वास्थ्य सेवालाई मुख्य ध्यान दिएको उल्लेख गरे ।
उद्घाटन गरीएको आधारभूत स्वास्थ्य सेवा केन्द्र ४६ लाख लागतमा निर्माण सम्पन्न भएको खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए ।