चौथो अंगले आफ्नो दायित्व भुल्न हुँदैन : महासचिव पोख्रेल
Monday, December 20th, 2021, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ५ पुस
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जनतालाई सही र सत्य सूचना दिने आफ्नो दायित्व चौथो अंगले भुल्न नहुने बताएका छन् । प्रेस चौतारी नेपालको ९औँ जिल्ला अधिवेशनको सोमबार घोराहीमा उद्घाटन गर्दै महासचिव पोख्रेलले नागरिकलाई सही सूचना दिने र सरकारलाई खबरदारी गर्ने काम मिडियाहरुले निरन्तर रुपमा गरिरहनुपर्ने बताएका हुन् ।
सत्य र गलतलाई छुट्याउने भन्दापनि केही मिडियाहरु एमालेको खेदो खन्ने काममा लागेको भन्दै उनले सञ्चार माध्यमले आफ्नो दायित्व भुल्न नहुने बताए । ‘सत्यतथ्य सूचना जनतालाई दिने र गलत कार्यविरुद्ध लेखेर खबरदारी गर्ने सञ्चार क्षेत्रको दायित्व हो । त्यसलाई निरन्तर रुपमा पच्छाउनुपर्छ’, महासचिव पोख्रेलले भने, ‘तर केही मिडिया आफ्नो दायित्व भुलेर प्रस्तुत हुने गरेका छन् । यस्तो कार्य राम्रो होइन ।’ उनले सामाजिक अराजकतामार्फत समाजलाई ठूलो भ्रमित पार्ने काम भैरहेको भन्दै त्यस्तो कार्यलाई रोक्नुपर्ने बताए ।
‘राजनीतिक पार्टी, संचारमाध्यम, नागरिक समाजबाट कति भएको छ ? तर जे भएको छ, त्यसले समाजलाई अगाडी बढ्नका लागि बाधा पुर्याउने प्रवृतिको जन्म गरेको छ’, उनले भने, ‘त्यो भनेको सामाजिक अराजकता हो । सामाजिक अराजकताले समाजको विकास र प्रगतीमा बाधा पुर्याउनेछ ।’ अनुशासित र सभ्य समाज निर्माणका लागि सामाजिक अराजकताको अन्त्य गर्न आवश्यक भएको बताए ।
प्रेस चौतारी अधिवेशन आयोजक कमिटीका संयोजक ईन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पत्रकारहरुलाई सम्मान एव पुरस्कृत गरिएको थियो ।
प्रेस चौतारी दाङको अध्यक्षमा डिसी

नयाँ कार्यसमिति
यसैबीच प्रेस चौतारी दाङको अध्यक्षमा ईन्द्र डिसी चयन भएका छन् । चौतारीको नवौँ अधिवेशनले डिसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिबमा किरण गौतम, सहसचिबमा चन्द्रप्रकाश नेपाली र एकराज भण्डारी र कोषाध्यक्षमा गोकणर् पौडेल चयन भएका छन् ।
सदस्यहरुमा कमल ओली, नीता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुवाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधब कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा, निमराज पोख्रेल चयन भएका छन् ।
महाधिबेशन केन्द्रीय र प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।