बाँकेका २९ स्थानमा तटबन्ध निर्माण गरिँदै
Tuesday, December 21st, 2021, 6:00 am
Kalpristha
–वीरेन्द्र जैसी
बाँकेमा वर्षातको समयमा राप्ती नदी र मानखोला लगायत ठूला नदीले जति दुःख दिन्छन् त्यो भन्दा बढी खहरे र वर्षे खोलाहरुले दिन्छन् । खहरे खोलाको कटानका कारण विभिन्न स्थानमा खेतीपातीदेखि बस्ती नै कटान हुने गरेको छ । स्थानीयहरुले कटान हुने क्षेत्रका तटबन्ध निर्माण गरिनुपर्ने माग वर्षौँदेखि राख्दै आएका छन् ।
त्यही मागलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारले बाँकेमा चालु आर्थिक वर्ष २०७८-७९ मा २९ स्थानमा नदी नियन्त्रणका लागि बाँध निर्माण गर्ने भएको छ ।
जिल्लाका राप्ती, मानखोला, डुडुवाखोला, दोन्द्रा, फरुवा खोला, मोरंगा खोलालगायका नदीका कारण कटान भइरहेका क्षेत्रमा बाँध निर्माण गरिन लागेको हो । यद्धपि प्रदेश सरकारले एउटै नदी तथा खोलामा निर्माण गरिने बाँधलाई पनि टुक्रे योजना बनाएर पठाएको छ । टुक्रे योजनाका कारण योजनाहरुको प्रभावकारिता भने कम हुने इन्जिनियरहरु बताउँछन् । ती योजनाहरु नेपालगन्जस्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गरिँदैछन् ।
यी तटबन्धको माग कार्यालयबाट नभई जनप्रतिनिधिहरुमार्फत भएको कार्यालयका सूचना अधिकारी परशुराम चौधरीले जानकारी दिए । तर ती योजनाहरुका बजेट हेर्दा देखाउनका लागि मात्रै योजना पारिएको देखिन्छ । यी सबै योजनाका लागि जम्मा नौ करोड पाँच लाख रुपैयाँमात्रै विनियोजन भएको छ । एउटा योजनामा त मात्र पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारले सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका हुँदै बग्ने नदीहरुमा बाँध निर्माण गर्ने भएको छ । राप्तीसोनारीका १२ ठाउँमा बाँध निर्माणको कार्यक्रम बनाएर प्रदेश सरकारले पठाएको छ । राप्तीसोनारीको राप्ती नदी, फरुवा खोला, मोरंगा खोला, धुमैया खोला, बरकाखोला, बोक्सिनी खोला, कुकुरछेरे खोला र परुवा खोलाले बस्तीमा क्षति गरिरहेका ठाउँमा तटबन्ध बनाउने योजना छ ।
जसअनुसार राप्तीसोनारी १ को बुका खोला र बबइ खोला, राप्तीसोनारी ४ को मोरंगाखोलामा नयाँबस्ती हुँदै कुम्भरसम्म, राप्ती सोनारी ५ को धुमैया, छररौहा, खोला, राप्तीसोनारी ३ भगौतीपुरमा बरका खोला र मोरंगा खोलामा, राप्तीसोनारी १ खुटीको बोक्सिनी खोला र कुरकुरे खोलामा, राप्तीसोनारी २ राजपुरको परुवा खोलामा तटबन्ध गर्ने योजना प्रदेश सरकारको छ ।
राप्तीसोनारीकै राप्ती नदीमा तीन ठाउँमा तटबन्ध गर्ने योजना छ । यी चारवटै योजनालाई अलग अलग योजनामा राखिएको छ । राप्तीसोनारी-७ को पदनाहदेखि बिसमपुरसम्म, २ को कचनापुर मधुवादेखि टिकुलीपुरसम्म, ६ को फत्तेपुर इन्टेकदेखि ढलैयापुरसम्म तटबन्धको गर्ने योजना छ । यी योजनामा ५०-५० लाखका दरले संघ सरकारबाट प्राप्त ससर्त अनुदानको एक करोड ५० लाख विनियोजन गरिएको छ ।
यसैगरी मोरंगाखोलाको नयाँ बस्तीदेखि कुम्भरसम्म पनि संघ सरकारको ससर्त अनुदानबाट प्रदेश सरकारले तटबन्ध गर्ने योजना तय गरेको छ ।
राप्तीसोनारीपछि प्रदेश सरकारले नरैनापुर, खजुरा र कोहलपुरका समान तीन-तीन खोलामा तटबन्ध गर्ने योजना बनाएको छ । नरैनापुर-१ को माझरेती, नरैनापुर-६ को दोन्द्रा नाला र चुनाहा बुका खोलामा तटबन्ध गर्ने योजना बनाइएको छ ।
कोहलपुरको वडा नम्बर १२ मा डुडुवा खोला, पुनमुख्या खोला र वडा नम्बर १० पनि पनि तटबन्ध निर्माण गरिँदै छ । त्यसका लागि समग्रमा ४० लाख बजेट विनियोजन गरिएको छ ।
खजुराको मानखोलाका तीन स्थानमा तटबन्ध निर्माण गर्ने योजना प्रदेश सरकारको छ । यी सबै स्थानलाई दुई योजनमा बाडिएको छ । खजुरा २ को गौघाट बर्मेली टोल, वडा नम्बर २ कै नयाँ झोलुंगे पुल र वडा नम्बर ७ को तल्लो लुन्द्रीमा एक करोड २५ लाख खर्चेर तटबन्ध निर्माण गरिँदैछ ।
यसैगरी डुडुवाको वडा नम्बर २ खडैचा रामनगरमा ५० लाख र नेपालगन्जको वडा नम्बर १९ बसुदेवपुर आलानगर र वडा नम्बर २० थपुवा कर्मटोलमा ७५ लाखको लागतमा तटबन्ध निर्माण गरिने जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले जनाएको छ ।
निर्माण प्रकृया अझै सुरु भएन
चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले तटबन्ध निर्माणको कुनै सुरसार नै गरेको छैन । तटबन्ध निर्माणका लागि जेठभन्दा यताको समय मात्रै उपयुक्त मान्ने हो भने अब योजना कार्यान्वयनका लागि मात्र ६ महिना बाँकी छन् ।
योजनाहरु साना-साना भएकोले ठेक्कामा दिने कि उपभोक्ता समितिमार्फत गराउने भन्नेमा छलफल भइरहेको कार्यालयका इन्जिनियर आशिष विश्वकर्माले बताए । धेरैजसो योजना उपभोक्ता समितिमार्पmत गराउनुपर्ने अवस्था रहेको उनले बताए ।
कार्यालयको गतवर्षको कार्यप्रगति पनि सन्तोषजनक छैन ।
कोरोनाका कारण धेरै योजनाहरु पूरा नभएको इन्जिनियर विश्वकर्माले बताए । यसवर्ष सरकार परिवर्तनको किचलोले बजेट आउनै समय लागेकोले पनि निर्माण प्रकृया अझै सुरु भएको छैन । अब जनप्रतिनिधिहरुसँग समन्वय गरी तोकिएका स्थानका जनताहरुकै सहकागितमा निर्माण प्रकृया सुरु गरिने विश्वकर्माले बताएका छन् । कुनै बाधा अड्चन नआएका तोकिएका सबै योजनाहरु सम्पन्न गरिने इन्जिनियर विश्वकर्माले दाबी गरे ।