बगरखेतीले कुडुवाको मुहार फेरिँदै
Sunday, December 26th, 2021, 6:00 am
Kalpristha
–निशु जोशी, डुडुवा
बाँकेको डुडुवा गाँउपालिका-१ कुडुवाका करिब २८ वर्षीय दिनेश मौर्यको २५ बिघा भन्दा बढी जग्गामा २०७१ सालमा राप्ती नदी पस्यो । राप्ती नदी भारतको बोर्डर छेउमा बगेको थियो । दुई किलोमीटर टाढा रहेको नदी यसरी आगँनमै आइपुग्ला भन्ने गाँउलेहरुलाई लागेकै थिएन । तर २०७१ सालमा आएको बाढीले गाँउ नै तहसनहस बनायो ।
नरैनापुर गााँउपालिका-६ को सीमामै रहेको कुडुवा गाँउका स्थानीयहरु नदी कटानले बसाई सर्न बाध्य भए । कतिपय नरैनापुरमा बस्न थाले, कतिपयले छेउको जंगलमा आश्रय लिए । अहिले पनि केही स्थानीय नरैनापुरमा बस्छन् तर खेत कुडुवामा पर्छ । यसको उदाहरण मौर्य आफै पनि हुन् ।
नदी कटानपछि नरैनापुर-६ मा उनी बस्दै आएका छन् । उनको खेत पनि नदीले २ चिरा पारीदिएको छ । उनकै खेतको बीचबाट अहिले राप्ती नदी बगिरहेको छ ।

नदीले कटान र पटान गरेको जमिन देखाउँदै डुडुवाका किसान
सात बिघा जग्गाको लालपुर्जा थियो भने बाँकी ऐलानी गरी भएको २५ बिघा खेतमा नदी पसेपछि खेत दुई चिरामा बाँडियो । करिब सात कठ्ठा नदी वारी पर्छ भने बाँकी जग्गा पारी । पारीको जग्गामा नदी र बगर मात्रै छ । धान, गहुँ लगायतका अन्नबाली उत्पादन हुँदै आएको वारीपट्टीको जग्गाको मलिलो माटो बगरमा परीणत भएको छ ।
प्राकृतिक विपत्तिले स्थानीयलाई दिनु दुःख दियो । धार परिवर्तन गरिरहने नदीसंग स्थानीयका गुनासा धेरै थिए । नदीले वर्षेनी जमिन बगाउँथ्यो । उनीहरु एकअर्काको दुःखलाई हेरेर चित्त बुझाउँथे । सुख आउला भनेर गाँउलेहरुले कल्पना पनि गरेका थिएनन् । तर अहिले स्थानीयहरु आफ्नै पौरखले नदीले जमिन चिर्दा परेको पीडाको थोरै भएपनि क्षतिपूर्ति लिनसक्ने अवस्थामा पुगेका छन् ।
करिब पाँच ६ वर्षअघि भारतबाट एकजना कृषि जानेका व्यक्ति बगर खेती गर्ने भन्दै गाउँमा आइपुगे । गाँउलेहरुले बगरमा के उत्पादन होला ? भनेर खासै वास्ता गरेनन् । तर ती व्यक्तिले गरेको परवर खेतीले बगर हराभरा भयो । धान, गहुँ उत्पादन हुने जमिन बगर बनेकोमा दुःखी बनेका उनीहरुमा परवर खेतीले नयाँ आशा पलायो ।
मौर्यले पनि एक कठ्ठा जमिनको ५ हजारका दरले ती व्यक्तिलाई जग्गा लिजमा दिएका थिए । त्यसपछि गााँउलेहरुले आफैले ती किसानसंग बगरखेती गर्ने तौरतरीका सिके । विगत चार वर्ष यता गाँउलेहरुले आफ्नो बगर भएको जमिनमा आफैले खेती गरिरहेका छन् ।
नदीले पारी र वारी रहेको दुवै बगरमा तरकारी उत्पादन गर्दै आएको मौर्यले बताए । उनी हरीयाली कृषक लघुउद्यमी समूहका अध्यक्षसमेत हुन् । उनको समूह गतवर्ष गाँउपालीकामा दर्ता भइसकेको छ ।
उनको समूहमा १५ जना सदस्य छन् । समूहमा आबद्ध सबैले बगरखेतीसंगै व्यवसायीकरुपले तरकारी उत्पादन गरिरहेका छन् ।
राम्रो आम्दानी हुन थालेपछि गाउँलेहरुले पक्की घर निर्माण गरिरहेका छन् । मौर्य भन्छन्, ‘यो गाँउमा इट्टाको घर कसैको थिएन । अहिले कसैले घर बनाइरहेका छन्, कसैले गाडी किनेका छन् । चार-पाँच जनाको घर बनीसक्यो । कतिले बनाउदैछन् ।’
आफू पनि पक्की घर निर्माणको तयारीमा रहेको उनले जानकारी दिए । गाँउलेहरुले गतवर्ष बगरखेतीबाट लगानीअनुसार ८० हजारदेखी दुई लाखसम्म नाफा कमाएको बताउँछन् ।
समूहकी कोषाध्यक्षसमेत रहेकी ३५ वर्षीया रिनाकुमारी मौर्य चार वर्षअघिसम्म चुलोचौकोको काममै व्यस्त हुन्थिन् । आजभोली उनको दिनचर्या तरकारी उत्पादन गर्नमै बित्छ । उनले १२ बिघा जमिनमा बगरखेती गर्दै आएको बताइन् । गाँउमा सबैभन्दा धेरै उनैले बगरखेती गर्दै आएकी छन् । गतवर्ष बगरखेतीबाट दुई लाख नाफा कमाएको उनी बताउछिन् । यो समयमा चार बिघा जग्गामा लौका, भिण्डी, आलुलगायतको तरकारी पनि लगाएकी छन् ।
उनका तीन छोरा र दुई छोरी छन् । उनका छोराछोरी संगै श्रीमान् नरेश मौर्यलेसमेत यो व्यवसायमा साथ दिइरहेका छन् । ठेक्कापट्टाको काम गर्दै आएका नरेशलाई पनि तरकारीको लोभलाग्दो आम्दानीले नै तानेको छ ।
रिनाको परिवारले परवर खेतीको आम्दानीबाट एउटा मोइसाइकल किनिसके । छोरीको विवाह गराइसके । अब यसरी नै आम्दानी बढ्दै गए उनले पक्की घर बनाउने सपना समेत बुनेकी छन् ।
रिनाका भाई रामप्रताप मौर्यले पनि यहीँ रोजगारी पाएका छन् । विगत १० वर्षदेखी भारतको पन्जाबमा काम गर्दै आएका उनी भन्छन्, ‘काममा सघाउने जेठी भान्जिको विवाह भयो । भान्जा पढ्नका लागि नेपालगन्ज बस्छन् । त्यसैले मैले सघाउने गरेको छु ।’ डुडुवा गाँउपालिका-६ गंगापुर घर भएका उनी ६ महिनादेखी यहाँ बसेर काम गरिरहेको बताउछन् । घरमै काम पाएपछि अब भारत जानु नपर्ने दिन आएकोमा उनी खुसी छन् ।

बगरमा गरिएको खेती
गतवर्ष लकडाउनका कारण बगर खेतीबाट मनग्य आम्दानी भएको किसानहरुको भनाई छ । भारतबाट नेपालमा तरकारी नभित्रिएपछि यहाँको तरकारीले बजार पाउन सजिलो भयो । ४० रुपैयाँमा बेच्दै आएको परवर लकडाउनमा एक सय ५० रुपैयाँसम्म बिक्री गर्न पाएको किसानहरुको भनाइ छ । यो दुई वर्षमा किसानले बगरखेतीबाट मनग्य आम्दानी गरेको बताएका छन् ।
पहिले खेतीपाती गर्ने यहाँका किसानहरु गहुँ, धान खेती भन्दा बगर खेतीबाट बढी नाफा भएको बताउछन् । स्थानीय स्वामीदयाल यादवले पाँच कठ्ठामा बगर खेती गरिरहेको बताए । परवर, करेला, तरबुजा, खुुुरबुजा लगायतका बगरखेतीबाट गतवर्ष एक लाख ७० हजार नाफा कमाएको उनी बताउछन् । अहिले उनले बगरमै आलुखेती गरेका छन् । खेतीपाती भन्दा बगर खेतीमा आम्दानी बढेपछि स्थानीय केशरानी मौर्य पनि दुई बिघामा बगरखेती गर्दै आएकी छन् ।
बगर खेतीका लागि पुसबाट बीउ रोप्नसुरु हुन्छ । त्यसैले अहिले किसानहरु बगर खेतीको तयारीमा छन् । कतिपय किसानहरुले खाल्डा बनाइसकेका छन् । कतिपयले रोपेका तरबुजा, खरबुजाका बिरुवा उम्रिन सुरु भएका छन् । कतिपयले बगरमा सखरखण्ड, आलु, तोरीलगायतका तरकारीसमेत रोपेका ५५ वर्षीया जाजितराम मौर्यले बताए ।
स्थानीयहरु अहिले बगर खेतीले कुडुवाको मुहार नै परिवर्तन भएको बताउँछन् । बगरमा सिजनअनुसार परवर, करेला, तरबुजा, खरबुजा, सरखरखण्ड आलु लगायतका तरकारी फल्छ । तर समयमै बीउ र मल नपाइने स्थानीयको गुनासो छ । ‘मल नेपालमा सहजै पाइदैन, भारतबाट चोरी गरेर ल्याउदा प्रहरीले समात्छ’ मौर्यले भने ।
यो गाँउमा एक सय नौ घरधुरी छन् । उत्पादन भएको तरकारी साइकलबाटै बजार लैजानुपर्ने बाध्यता छ । तरकारी नेपाल र भारतमा बिक्री हुन्छ । नदी पारी रहेको भारतीय सिमा बजार तीन किलोमीटर दुरीमा पर्छ भने नेपालगन्ज बजार २२ किलोमीटर दुरीमा पर्छ । शुक्रबारका दिन भारतीय बजारमा हाटबजार लाग्ने भएकाले किसानहरु तरकारी लिएर जान्छन् र उताबाट उपभोग्य सामान लिएर आउँछन् ।
डुडुवा गाँउपालीका-३ मा सबैभन्दा धेरै बगरखेती भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख शुशील शर्माले जानकारी दिए । माटो पटान गरिएको बगरमा पछिल्लो समय तोरी, मसुरो लगायतका बालीको पनि राम्रो उत्पादन हुन थालेको उनले बताए ।
बाँके जिल्लामा हाल नदीले कटान गरेको खेतीयोग्य जमिन करिब एक सय विघा रहेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । कुडुवाका साथै राप्तीको किनारामा सिधनीय, गंगापुर र डुडुवा लगायतका क्षेत्रमा बगर खेती हुँदै आएको कार्यालयले जनाएको छ ।
हिउँदे याममा मात्र तरकारी खेती गर्न सकिने भएकाले सिजनल तरकारी खेती हुँदै आएको हो । विगत तीन वर्षयता केन्द्रले ‘बगरखेती प्रोत्साहन कार्यक्रम’ अन्तर्गत ४० बिघामा वगर खेती गर्नका लागि किसानहरुलाई मल, बीउ, सिँचाइ सुविधालगायतका विभिन्न सहयोग उपलब्ध गराउदै आएको ढकालले बताए ।
प्रदेश सरकारले बगर खेती गर्ने किसानहरुलाई अनुदान दिदै आएकोमा यसवर्ष किसानहरुको आवेदन नपरेपछि आवेदन दिने म्याद थपिएको थियो । आज आइतबारसम्म किसानहरुको आवेदन लिने अन्तिम समयसीमा छ ।