बाँके कांग्रेसको गौडेल समूहका उम्मेदवार, को कस्ता ?
Tuesday, January 4th, 2022, 4:33 pm
Kalpristha
सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार आफ्ना पदाधिकारी उम्मेदवारहरुको नाम घोषणा गरेको छ । गौडेल समूहमा युवा नेताहरुको बर्चश्व रहेको छ ।
बाँकेको विकट क्षेत्रका रुपमा लामो समयदेखि पछाडि परेको नरैनापुरको कालाफाँटाका मधेशी समुदायका जुझारु नेतादेखि उर्जाबान मधेशी महिला नेतृलाई समेट्दै आशा गरिएका युवा अनुहार टिममा समेटिएको सचिवालय सहसंयोजक एवम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले बताए ।
कस्ता छन् त गौडेल समूहका पदाधिकारी उम्मेदवार ?
१.गोपाल प्रसाद अधिकारी, उप-सभापति पदका उम्मेदवार
उप–सभापतिका उम्मेदवार गोपाल प्रसाद अधिकारी २०४६ सालको जनआन्दोलनसंगै कांग्रेस राजनीतिमा होमिएका नेता हुन् । मोरङ क्षेत्र नम्बर ३ स्थित साविकको बाहुनी गाविसमा अवस्थित जनता स्कुलमा नेविसंघ इकाई अध्यक्ष भएर राजनीतिक पाइला अघि सारेका अधिकारी महेन्द्र मोरङ क्याम्पस विराटनगरको नेविसंघ इकाई सहसचिव पनि भए ।
२०५६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका अधिकारीले २०६२/६३ को जनआन्दोनलमा बाँकेमा सक्रिय भूमिका निभाएका थिए । त्यसबेला उनी आर्थिक व्यवस्थापनको मुख्य जिम्मेवारीमा थिए । उनी बाँके जिल्ला सदस्य भइसकेका छन् ।
प्रखर बक्ता अधिकारी १२औं महाधिवेशनमा डा.अरुण कोइराला जिल्ला सभापति हुँदा जिल्ला सदस्य भएका थिए । अधिकारी श्रम विभाग प्रमुख पनि भए ।
उनी नेपालगञ्जका सफल व्यवसायी पनि हुन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा पनि उनले कांग्रेसको सर्वसम्मत उम्मेदवारका रुपमा प्रतिष्पर्धा गरेका थिए । उनी बाँके चेम्बर अफ कमर्शको उपाध्यक्ष पनि हुन् । कांग्रेस बाँकेको पार्टी कार्यालय बनाउने प्रमुख सुत्राधार मध्येका एक अधिकारी पनि हुन् ।
उनी सामाजिक सेवामा पनि संलग्न छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको सदस्य, उपाध्यक्ष हुँदैै दुई कार्यकाल अध्यक्ष बनेर कुशलतापूर्वक काम गरेका अधिकारीले केन्द्रको आफ्नै दुई तले भवन निर्माण गरेका थिए ।
२.राज कुमार मौर्य, उप-सभापति पदका उम्मेदवार
उप-सभापतिका अर्का उम्मेदवार राज कुमार मौर्य नरैनापुर कालाफाँटाका बासिन्दा हुन् । कांग्रेस राजनीतिमा लामो समयदेखि क्रियाशील उनी तत्कालीन कालाफाँटा गाविसको अध्यक्ष भइसकेका व्यक्ति हुन् ।
२१ बर्षकै उमेरमा २०५४ सालमा कालाफाँटा गाविसको अध्यक्ष बनेका मौर्य ७ कक्षामा पढ्दै गर्दा नेविसंघको राजनीतिमा होमिएका थिए । २०४८ सालदेखि नेपाली कांग्रेसमा क्रियाशील उनी पार्टीको दुई पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत भए । उनले जिल्लामा लेखा समितिमा पनि बसेर काम गरेका छन् ।
मधेशी समुदायका मौर्य नरैनापुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत हुन् । उनले संकटको समयमा नरैनापुरमा कांग्रेसको संगठन बनाउन अहम् भूमिका खेलेका नेताहरु बताउँछन् ।
३. सुधांशु कोइराला, सचिव पदका उम्मेदवार
सचिवका उम्मेदवार सुधांशु कोइराला लोकप्रिय युवा नेता हुन् । ऐतिहासिक र प्रेरणादायी राजनीतिक परिवारका कोइराला बैंकको जागिर छोडेर राजनीतिमा होमिएका युवा हुन् ।
पारिवारिक विरासतका कारण राजनीतिबाट टाढा हुन नसकेका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भतिजा सुधांशु २०७१ सालमा नेपाल तरुण दलको केन्द्रिय प्रतिनिधि भएका थिए ।
अहिलेको जिल्ला कार्यसमितिमा सदस्य रहेर आफ्नो प्रभावकारी भूमिका देखाएका कोइराला पूर्व बाँके जिल्ला सभापति स्वर्गीय डा. अरुण कोइराला र वर्तमान सभापति किरण कोइरालाका छोरा हुन् ।
उनले १३औं महाविधेशनमा साविकको क्षेत्र नम्बर ३ बाट जिल्ला सदस्य पदमा सर्वाधिक मतका साथ विजय हासिल गरेका थिए । नेपालगञ्ज निवासी कोइराला आशा गरिएका युवा नेता हुन् ।
४.टंक प्रसाद काफ्ले (आशिष), सचिव पदका उम्मेदवार
सचिव पदका अर्का उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष) नेविसंघको राजनीतिबाट उदाएका युवा नेता हुन् । उनी २०६५ मा नेपाल बिद्यार्थी संघका तर्फबाट बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको स्ववियु सचिवमा निर्वाचित भएका थिए ।
यस्तै नेपाल बिद्यार्थी संघको साविक क्षेत्र नम्बर ४ को सभापति भएर समेत काफ्लेले काम गरिसकेका छन् । बैजनाथ ४ बनियाभारका काफ्ले २०६६ मा प्रकाश सिग्देल नेविसंघ अध्यक्ष हुँदा जिल्ला सदस्य भएका थिए । ११औं महाधिवेशनमा उनी कांग्रेसको साविक नौवस्ता गाविस सचिव बनेका थिए ।
युवामाझ लोकप्रिय उनी सामाजिक सेवामा पनि त्यत्तिकै सक्रिय छन् । उनी रेडक्रस बैजनाथको संस्थापक सदस्य हुन् । सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको सदस्य रहेका काफ्ले विपी मेमोरियल मावि बैजनाथ ४ को तीन कार्यकाल सदस्य र एक कार्यकाल अध्यक्ष भए । उनी नौवस्ता खानेपानीका उपाध्यक्ष पनि हुन् ।
५.रेणु सिंह ठाकुर, सहसचिव पदकी उम्मेदवार
सहसचिव पदकी उम्मेदवार रेणु सिंह ठाकुर सशक्त महिला नेतृ हुन् । नेपालगञ्ज निवासी मधेशी समुदायकी जुझारु महिला ठाकुर कांग्रेस राजनीतिमा २०५६ सालदेखि क्रियाशील छिन् । २०५६ मा साविकको हिरमिनिया गाविसको महिला प्रतिनिधिमा मनोनित भएर राजनीतिक पाइला अघि सारेकी उनी वर्तमान जिल्ला कार्यसमितिमा जिल्ला सदस्य छिन् ।
रेणु महिला संघ बाँकेकी सदस्य पनि हुन् । उनी नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिबाट उदाएकी नेतृ हुन् । उनी २०५८ देखि नेपाल ट्रेड युनियन कांग्रेसमा आबद्ध भइन् । दुई कार्यकाल जिल्ला सदस्य र एक कार्यकाल जिल्ला उपाध्यक्ष भएकी ठाकुर चार पटक महाधिवेशन प्रतिनिधि भइन् ।
६.विश्वराज लम्साल, सहसचिव पदका उम्मेदवार
सहसचिव पदका अर्का उम्मेदवार कोहलपुर १० का विश्वराज लम्साल नेविसंघ हुँदै तरुण दलको राजनीतिबाट आएका हुन् । उनी साविकको कोहलपुर गाविसको नेविसंघ अध्यक्ष भएका थिए ।
२०५८ सालमा तरुण दलको जिल्ला सदस्य रहिसकेका लम्साल २०५९ मा सहसचिव पनि भए । २०४६ सालको जनआन्दोलनदेखि कांग्रेस राजनीतिमा होमिएका उनी नेपाल तरुण दलका केन्द्रिय सदस्यका लागि पनि बाँकेबाट सिफारिस भएका थिए ।
उनी २०७४ मा तरुण दलको केन्द्रिय महाधिवेशन प्रतिनिधि भएका थिए । उनी २०६४ मा कोहलपुर व्यापार संघको कोषाध्यक्ष पनि भए ।
यस्तो छ कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायण गौडेलको जीवन | KalpristhaNews.com