पुसभित्रै सुर्खेत रोडको अतिक्रमण हटाउन सडक डिभिजनले जारी गर्यो सूचना
Wednesday, January 5th, 2022, 3:03 pm
Kalpristha
डिभिजन सडक कार्यालय नेपालगन्जले सुर्खेत रोडको सडक क्षेत्रको अतिक्रमण हटाउन अनुरोध जारी गरेको छ । कार्यालयले पुस मसान्तभित्र सडकको अतिक्रमण हटाउन अनुरोध गर्दै उक्त अवधिभित्र अतिक्रमण नहटाएमा कार्यालयले नै हटाउने उल्लेख गरेको छ । कार्यालयबाट अतिक्रमण हटाउँदा हुने क्षतिको जिम्मेवार सडक डिभिजन नहुने र अतिक्रमण हटाउँदा लाग्ने खर्च पनि अतिक्रमण गर्ने व्यक्तिबाट भराइने सूचनामा उल्लेख छ ।
सुर्खेत रोडको सडक क्षेत्रमा अतिक्रमण गरिएको विषयमा कालपृष्ठले मंसिर २६ र २७ गते समाचार प्रकाशित गरेको थियो । सडक डिभजन कार्यालयकै सामुन्ने सडक क्षेत्रमै भवनहरु निर्माण भइरहेका छन् ।
यसैगरी सरकारी कार्यालयले नै सुर्खेत रोडको सडक क्षेत्र अतिक्रमण गरेका छन् । सडक डिभिजनकै अघि रहेको सशस्त्र प्रहरी गुल्मले सडक ऐनले तोकेको सडक क्षेत्र मिचेर संरचना बनाएको छ । उक्त प्रहरी गुल्मको छेउछाउमा रहेका निजी आवास एवं व्यवसायिक भवनहरुले भने सडक मापदण्ड मानेरै संरचना बनाएका छन् । गुल्मको पक्की पर्खाल सडक क्षेत्रमै बनाइएको छ ।
सशस्त्र प्रहरी गुल्म मात्रै होइन पछिल्लो समय केही व्यक्तिहरुले भवन निर्माण गर्न थालेको स्थानमै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पर्खाल पनि सडक क्षेत्रमा छ । उक्त कार्यालयसँगै रहेका अरु सरकारी भवनहरुले पनि सडक क्षेत्र मिचेरै संरचना बनाएका छन् ।
सरकारी निकायले सडक क्षेत्रमा कब्जा जमाएको उदाहरण हेर्न सडक डिभिजन कार्यालयकै वरिपरि घुम्दा हुन्छ । सडक डिभिजन परिसरमै रहेको हनुमान मन्दिर आफै सडक क्षेत्रमा छ । उक्त मन्दिर छेउमा भर्खरै नेपालगन्ज उप-महानगरपालिकाले चिल्ड्रेन पार्क बनाएको छ । उक्त पार्क सडक क्षेत्रभित्रै छ ।
सार्वजनिक सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँ बायाँ मुख्य सडक र त्यसको दुबै तर्फ ६-६ मिटर क्षेत्र भित्रमा कुनैपनि संरचना निर्माण गर्न नदिनेगरी निषेध गर्ने एवं त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ । तर, रत्न राजमार्गको नेपालगन्जको जमुनाह देखि सुर्खेतको हर्रेसम्म अनेक ठाउँमा सडक क्षेत्र अतिक्रमण गरिएका छन् । यसका साथै आवतजावतमा अहजता उत्पन्न हुने र दुर्घटनाको जोखिम बढाउनेगरी निर्माण सामग्री, व्यवसायिक सामानसमेत सडक क्षेत्रमै राखिएका छन् । नेपालगन्जका फुटपाथमा पनि अतिक्रमण गरिएको छ ।