सरकारी कार्यालयहरु नै सडक अतिक्रमणमा
Friday, December 31st, 2021, 6:00 am
Kalpristha
सडक डिभिजन कार्यालयकै छेउछाउमा सशस्त्र प्रहरी गुल्म, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र नगरपालिकाले सडकक्षेत्रमा संरचना बनाएका छन् ।
–वीरेन्द्र जैसी
सुर्खेत रोड बिस्तार गर्ने क्रममा सडक आसपासमा पर्ने अधिकांश जनताका घरहरु भत्काइयो । रुवाबासीबीच नागरिकहरुका घरमा डोजर चलाइए । त्यसको परिणाम भने सुखदै भयो । सडक चारलेनको बन्यो । नागरिकले त राज्यलाई सहयोग गरे, राज्यले भने चौडा सडकलाई व्यवस्थित गर्न ध्यान दिएन नै अहिले राज्यका निकायहरु नै सडक अतिक्रण गरेर बसेका छन् ।
सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँ बायाँ मुख्य सडक र त्यसको दुवैतर्फ ६-६ मिटर क्षेत्र भित्रमा कुनैपनि संरचना निर्माण गर्न नदिनेगरी निषेध गर्ने एवं त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ । सडकको दुवैतर्फ ६-६ मिटर छोड्नुको मुख्य उदेश्य संभावित दुर्घटना रोक्नु हो । नेपालन्जमा पार्किङ व्यवस्थापनको विकल्प र पैदल यात्रुका लागि पनि उक्त क्षेत्रको उपयोग गर्न सकिन्छ ।
तर, डिभिजन सडक कार्यालयकै अघि सडकमा दुईतले घर ठडिँदै छन् भने सरकारी कार्यालयले नै सडक क्षेत्र अतिक्रमण गरेका छन् । सडक डिभिजनकै अघि रहेको सशस्त्र प्रहरी गुल्मले सडक ऐनले तोकेको सडक क्षेत्र मिचेर संरचना बनाएको छ । उक्त प्रहरी गुल्मको छेउछाउमा रहेका निजी आवास एवं व्यवसायिक भवनहरुले भने सडक मापदण्ड मानेरै संरचना बनाएका छन् । गुल्मको पक्की पर्खाल सडक क्षेत्रमै बनाइएको छ ।
सशस्त्र प्रहरी गुल्म मात्रै होइन पछिल्लो समय केही व्यक्तिहरुले भवन निर्माण गर्न थालेको स्थानमै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पर्खाल पनि सडक क्षेत्रमा छ । उक्त कार्यालयसँगै रहेका अरु सरकारी भवनहरुले पनि सडक क्षेत्र मिचेरै संरचना बनाएका छन् ।
सरकारी निकायले सडक क्षेत्रमा कब्जा जमाएको उदाहरण हेर्न सडक डिभिजन कार्यालयकै वरिपरि घुम्दा हुन्छ । सडक डिभिजन परिसरमै रहेको हनुमान मन्दिर आफै सडक क्षेत्रमा छ । उक्त मन्दिर छेउमा भर्खरै नेपालगन्ज उप-महानगरपालिकाले चिल्ड्रेन पार्क बनाएको छ । उक्त पार्क सडक क्षेत्रभित्रै छ । उक्त पार्क निर्माण गर्न सडक डिभिजनले कसरी अनुमति दियो ? त्यसको जवाफ कसैसँग छैन ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसी आवश्यक परेको बेला सरकारी कार्यालयले गरेको अतिक्रण हटाउन अप्ठ्यारो नपर्ने भएकोले त्यति चासो नदिएको बताउँछन् । यससँगै उनी अब नेपालगन्जको जमुनाहदेखि कोहलपुरसम्मको सडकखण्डमा व्यक्तिगतरुपमा भएको अतिक्रमण हटाउन अभियान सुरु गरिने पनि बताउँछन् । तर मापदण्ड पालना गरेर उदाहरण देखाउनुपर्ने सरकारी कार्यालयले नै मापदण्ड पालना नगरेर जनतालाई मात्रै कानुन पालना गराउन खोज्दा त्यसले कानुनलाई नै गिज्याउनेतिर पनि सोच्नु आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।
पैदल यात्रुले कहाँबाट हिड्ने ?
नेपालगन्जको जमुनाहदेखि कोहलपुरसम्म करिब आधा दर्जन स्थानमा व्यवसायीहरुले नै सडक अतिक्रमण गरेका छन् । नेपालगन्जमा पैदल यात्रुहरुले कुनै ठाउँमा पनि ढुक्कले हिड्नसक्ने अवस्था छैन । सुर्खेत रोडमै साइकल र मोटरसाइकल मर्मत पसलहरुले फुटपाथमै धोइपखाली र मर्मत गरिरहेका हुन्छन् । नेपालगन्जको कुनै यस्तो फुटपाथ छैन जहाँ पैदल यात्रुहरु ढुक्क भएर यात्रा गर्न सकुन् । कहीँ नालामाथी ढकन छैन त कहीँ व्यपारीहरुले सामान राखेर अवरोध गरेका छन् । कहीँ गाडीहरु पार्क गरिएका छन् ।
फुटपाथ कब्जामा सरकार पनि पछि परेको छैन । विपी चोक, भेरी अस्पताल चोक लगायतका ठाउँमा प्रहरीले नै फुटपाथमा आफ्नो बिट ठड्याएको छ । कतिपय बिटहरुमा त प्रहरी नै बस्दैनन् ।
सडक क्षेत्रमै व्यापार र गाडी मोटर मर्मतका कामहरु भइरहेका हुन्छन् । ती स्थानमा सडकमै गाडीहरु खडा गरिँदा सडक नै आधा ढाकिएको हुन्छ ।
नेपालगन्जका भित्री गल्लीहरुमा त झन् ढुक्कले पैदल यात्रा गर्नसक्ने अवस्था छैन । फुटपाथ व्यापारीको, सडक सवारी चालकको, पैदल यात्रुले कहाँबाट हिड्ने ?