विद्यार्थीलाई सकारात्मकतातर्फ उत्प्रेरित गर्दै स्प्रिङडेल
Monday, January 10th, 2022, 7:20 pm
Kalpristha
‘आमा बुवाले हामीलाई कति माया गर्छन् ? र हाम्रो दायित्व उहाँहरुप्रति के हो भन्नेबारे सरले आँखा चिम्लेर महसुस गर्न लगाउनुभयो । मलाई त थाहै भएन, आँखाबाट आँशु आएर कतिबेला लगाएको माक्स पनि भिजिसकेछ ।’ स्पिङडेल एकेडेमीमा कक्षा ७ मा अध्ययनरत राजसिंह ठकुरीले सोमबार विद्यालयले आयोजना गरेको सकारात्मक तरंग (पोजिटिभ भाइब्रेसन) कार्यक्रमपछि भने ।
विद्यालयमा कक्षा १२ मा अध्ययनरत दिव्यमराज विष्टले पनि आफूलाई पहिलोपल्ट आत्ममहसुसको अनुभूति भएको बताए । ‘सानालाई माया गर्नुपर्छ, ठूलालाई आदर गर्नुपर्छ भनेर त सुन्दै आएको हो । सरले पनि यो त जहिले पनि भन्नुहुन्छ नि त । तर त्यसलाई रिअलाइजेशन गराएर धेरैका आँखाबाट आँशु निकालिदिनुभयो,’ विष्टले भने । विष्टको जस्तै अनुभव कक्षा ११ मा अध्ययनरत मिना रावतको पनि रह्यो । उनले आफुलाई राम्ररी बुझ्न, नैतिकरुपमा सबल बन्न र आफ्नो लक्ष्यमा सफलतातर्फ जान र आफ्नो रुचीको काम सकिन्न भन्ने नकारात्मक सोच त्याग्न कार्यक्रम फलदायी भएको बताइन् ।
नेपालगन्जस्थित स्प्रिङडेल एकेडेमीले ‘रिप्रोग्राम युअर माइण्ड, रिडिजाइन युअर लाइफ’ विषयमा मोटिभेशनल स्पिकर तथा सकारात्मक सोच अभियन्ता प्रितम पौडेललाई बोलाएर एकदिने कार्यक्रम गर्यो । विद्यालयको वातारणभन्दा पर लगेर फरक महसुस गराउनेगरी नेपालगन्जस्थित मेरो प्लानेट फनपार्कमा कार्यक्रम आयोजना गरी विद्यालय समय अवधिभर पौडेलले विद्यार्थीहरुलाई सकारात्मक सोचबारे विद्यार्थीहरुलाई उत्प्रेरित गरे । उक्त कार्यक्रममा विद्यालयका कक्षा ६ भन्दा माथिका दुई सय ८० जना विद्यार्थीहरु सहभागी भए ।
उक्त कार्यक्रममा सहभागी कक्षा ७ मा अध्ययनरत आशिष ढकालले मोबाइल ल्यापटप जस्ता साधनहरुको सही प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि जान्न पाएको बताए । ‘मोबाइल, ल्यापटपमा लामो समय बस्नु हुन्न रहेछ । अनि त्यसमा पनि खाली गेम खेलेर मात्रै बस्ने होइन कि काम लाग्ने प्रोग्रामहरु चलाउन सिक्नुपर्छ भनेर सरले भन्नुभयो,’ उनले भने ।
प्रशिक्षक पौडेलले हुन्न र सकिन्न भन्ने सोचलाई त्यागेर आफ्नो लक्षमा कसरी केन्द्रित हुन सकिन्छ भन्ने विषयमा मनौवैज्ञानिक क्रियाकलापमा पनि विद्यार्थीलाई हसभागी गराएको बताए । उनले विद्यार्थीमा सकारात्मक सोच भरिदिने हो भने पढ भनेर शिक्षक र अभिभावकले भनिरहनु नपर्ने बताए । पौडेलले भने, ‘हामी बालबालिकालाई पढ मात्रै भन्छौँ । जबसम्म किन र केका लागि पढ्ने भनेर उनीहरुलाई आत्ममहसुस गराउँदैनौँ तबसम्म हामी उनीहरुमाथि कराउन व्यर्थ हुनजान्छ । त्यसकारण आजको कार्यक्रम विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने काममा केन्द्रित भयो ।’
कार्यक्रममा विद्यार्थीहरुलाई आफ्नो रुचीअनुसारको लक्ष्य निर्धारण गर्न र त्यसमा दत्तचित्त भई लाग्न, कुलतबाट जोगिन विद्यार्थीहरुलाई उत्प्रेरित गरिएको छ ।
विद्यार्थी मात्रै नभई उक्त कार्यक्रममा सहभागी शिक्षकहरुले पनि प्रभावित भएको बताए । शिक्षिका संगिता तिमिल्सेनाले भनिन्, ‘सुन्दै आएका कुरा पनि जबसम्म आत्मादेखि महसुस गरिन्न नि तबसम्म व्यवहारमा लागु हुँदैनन् । त्यो महसुस गराउन कार्यक्रम सफल भएको मलाई लागेको छ ।’
स्प्रिङडेल एकेडमीका प्राचार्य शरदचन्द रावलले विद्यालयले विगतदेखि नै विद्यार्थीमूखि शैक्षिक विधि अपनाउँदै आएको र त्यसैको अर्को अभ्यासस्वरुप उत्प्रेरक कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यार्थीका लागि सकारात्मक सोचबारे कार्यक्रम गर्ने स्प्रिङडेल नेपालगन्जमा पहिलो विद्यालय भएको पनि बताए । यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने पनि उनको भनाइ छ ।
‘शिक्षक र अभिभावकले बालबालिकालाई बुझ्नुपर्छ’

सकारात्मक सोच अभियन्ता प्रितम पौडेल
काठमाडौं निवासी प्रितम पौडेल मोटिभेसनल स्पिकर र सकारात्मक सोच अभियन्ताकोरुपमा काम गर्न थालेको १२ वर्षभन्दा बढी भइसकेको छ । उनले देश तथा विदेशमा पुगेर सकारात्मक सोचबारे कक्षा सन्चालन गरेका छन् । उनलाई बोलाएर सकारात्मक सोचबारे उत्पेरित गराउन लगाउने ठूला व्यापारिक संस्थाहरुदेखि विद्यालयहरुसम्म छन् । पौडेलको अनुभवमा सबैभन्दा बढी सकारात्मक सोचको जरुरत विद्यालय उमेरका बालबालिकालाई हुन्छ ।
‘अभिभावकले पढ् मात्रै भन्ने, शिक्षकले पनि पढ् मात्रै भन्ने, तर के पढ्ने र किन पढ्ने कसैले नभनिदिने । बालबालिकाको भावना र रुची कसैले नबुझिदिने । यसो हुँदा धेरै बालबालिका फ्रस्ट्रेट हुन्छन् । शिक्षक र अभिभावकले बालबालिकालाई बुझ्नुपर्छ,’ उनले भने ।
अर्को बालबालिकालाई उसको खुबी र रुची बुझेर त्यसमा उसले गरेका कामको प्रशंसा गर्दै जाने हो भने बालबालिका सफल हुने बताए । उनले भने, ‘बालबालिका जे भनियो त्यही बन्छन् । त्यसकारण सानैदेखि उनीहरुलाई सकारत्मक प्रशंसा गर्नुपर्छ ।’
उनले देशका विद्यालयहरुले पढाइ भनेको किताबमा लेखेको कुरा शिक्षकले विद्यार्थीलाई भनिदिनु मात्रै बुझेकाले उत्प्रेरक कार्यक्रमतिर ध्यान नदिएको बताउँछन् । उनी कम्तिमा पनि वर्षमा एकपटक यस्तो खालका कार्यक्रमहरु सबै विद्यालयहरुमा हुनु आवश्यक रहेको बताउँछन् ।
फरक अभ्यासमा स्प्रिङडेल
नेपालगन्जको कारकाँदोमा रहेको स्पिङडेल एकेडेमीले फरक खालका अभ्यासमार्फत शिक्षा प्रदान गर्दै आएको जनाएको छ । विद्यालय ब्रिटिस काउन्सिलको अवार्ड प्राक्टिसनर विद्यालय रहेको प्राचार्य सरदचन्द रावलले बताए । बिङटिस काउन्सिलको आयोजनामा विद्यालयमा १५ जना विद्याथीहरुले फिल्म मेकिङ तालिम लिएका र उनीहरु अहिले आफै भिडियो खिच्ने, सम्पादन गरेर डकुमेन्ट्री बनाउने गरेका छन् । उनीहरुले बनाएका डकुमेन्ट्रीले राष्ट्रियस्तरका प्रतियोगितामा पुरस्कार पनि जितेका छन् ।
विद्यालमा हरेक कक्षा कोषमा प्रोजेक्टर र इन्टरनेट जोडिएको छ । अडियो-भिडियो माध्यमबाट पढाई हुन्छ । प्रचार्य रावल भन्छन्, ‘हाम्रो विद्यालय बालमैत्री पनि छ । हामी विद्यार्थीलाई आदेश होइन, हौसला दिन्छौँ । जीवउपयोगी शिक्षा दिन्छौँ ।’ विद्यालयले अन्य निजी विद्यालजस्तो अंग्रेजी भाषमात्रै अनिवार्य गरेको छैन । विद्यार्थीले आफूले बोल्ने भाषमा प्रश्नोत्तर गर्न पाउँछन् ।
अतिरिक्त क्रियाकलापमा जोड दिने विद्यालयका विद्यार्थीले राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा मेड ल्याएका छन् भने ८औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका छन् ।
स्प्रिङ डेल इको क्लब गठन गर्ने नेपालगन्जको पहिलो विद्यालय हो । विद्यालयमा रुख विरुवाहरु संरक्षण गरिएको छ भने चाडै बाँके राष्ट्रिय निकुन्जमा फलफूल तथा काठजन्य बीउ छर्ने कार्यक्रम पनि रहेको प्राचार्य रावलले बताए ।
विद्यालयमा असल अभ्यास हेर्न अन्य विद्यालयबाट पनि अध्ययन भ्रमणमा आउने गरेका छन् । अहिले काठमाडौंको सेन्ट जेभियर्सका १५ जना विद्यार्थीहरु पाँच दिने अध्ययन भ्रमणमा आएका छन् ।
विद्यालयले शिक्षक र अभिभावका लागि सकारात्मक सोच, पाठ्यक्रम र प्रविधिका विषयमा तालिम दिने गरेको प्रचार्य रावले बताए । उनले आगामी दिनमा विद्यालयलाई बहुप्रतिभाशाली क्ल्ब (मल्टिपल इनटेलिजेन्ट क्लब) बनाउने योजना रहेको बताए । रावलले भने, ‘जुन विद्यार्थीको जे क्षमता छ त्यही विषयको कक्षा हुनेछ ।’
२०६२ सालमा स्थापना भएको विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुन्छ ।