रोयल भर्सेस नेपालगन्ज, कसले मार्ला बाजी ?
Monday, January 10th, 2022, 7:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुस
बाँके जिल्ला लिग फुटबलमा स्थान बनाउने लक्ष्य सहित मंगलबार नेपालगन्ज रंगशालामा रोयल नेपालगन्ज फुटबल क्लब र नेपालगन्ज स्पोटिङ क्लबबिच प्रतिस्पर्धा हुदैंछ । दुइ क्लब अहिले बाँकेमा चर्चामा रहेका क्लब हुन । जिल्लामा व्यापारीको क्लब भनेर चिनिन्छन् । रोयल नेपालगन्जका अध्यक्ष सुर्यमणी अधिकारी टायर व्यावसायी हुन भने नेपालगन्ज स्पोटिङका अध्यक्ष घनश्याम थापा होटल व्यावसायी हुन ।
जिल्लामा व्यावसायी फुटबल क्लब निर्माण गर्ने दौडमा दुबैबिच आन्तरिक प्रतिस्पर्धा छ । जुन घरेलु फुटबलको राजनितिसँग पनि जोडिएको छ ।
मैदानमा बाहिर दुबै क्लबका अध्यक्ष र पदाधिकारी क्लबलाई बलियो बनाउन मिहिनेत गरिरहेका छन । तर मैदान भित्र को बलियो छ भन्ने आज टुङ्गो लाग्नेछ फाइनल खेलबाट ।
दुबै क्लबले टिममा जिल्ला बाहिरका खेलाडीलाई अनुबन्धित गरेर खेलाएका छन । दुबै टिममा अनुभव र क्षमतावान खेलाडी भएका कारण फाइनल खेल दर्शकहरुका लागि रोमाञ्चक बन्न सक्नेछ ।
नकआउट फुटबलमा थोरै टिमले भाग लिए पनि यसलाई बाँके जिल्ला फुटबल संघले घरेलु फुटलबको स्तर बढाउन केन्द्रित गरेको छ । च्याम्पियन हुने टोलीले लिग जिल्ला लिग खेल्ने अवसर पाउने भएकोले यस प्रतियोगिता क्लबका लागि महत्वपुर्ण भएको बताउँछन बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही ।
प्रतियोगिताको फाइनल सम्म पुग्दा रोयलको यात्रा सहज रहयो । उसले सिटी युथ क्लब कोहलपुरलाई ७–० ले हराउँदैं फाइनलमा पुगेको हो । जुन खेलमा रोयलले पहिलो मिनेटमा गोल गरेदेखी खेलको अन्त्यसम्म गोल गरिरहेको थियो । खेलमा कुनै पनि समय रोयलका खेलाडीलाई चुनौति महशुस भएन ।
यता नेपालगन्ज स्पोटिङ दुइ खेल जितेर फाइनलमा पुगेको हो । फाइनल सम्म पुग्दा स्पोटिङलाई भने दुबै खेल चुनौतिपुर्ण थिए । पहिलो खेलमा त जित हात पार्न स्पोटिङले पेनाल्टी सुटआउट सम्म पर्खनु परेको थियो । एफसी सघांरीले कडा टक्कर दिएको पहिलो खेलमा स्पोटिङलाई । पहिलो खेलको तुलनामा केहि सहज भएको दोस्रो खेलमा भने स्पोटिङले सिद्धार्थ युथ क्लब कोहलपुरलाई २–० ले हराएको थियो ।
यस प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी हुन रोयलका उमेश रेग्मी । नेपालगन्ज स्पोटिङका लागी सेमिफाइनलमा एक गोल गर्दै अर्को खेलमा अवसर जुटाउने खेलाडी हुन विभुषण केसी । दुबै टिममा गोल स्कोरिङ क्षमता भएका खेलाडी छन । उनीहरुको व्यक्तिगत प्रदर्शन, टिमको रणनितिले निर्धारण गर्नेछ कसले बाजी मार्छ फाइनलमा ।