बाघ नियन्त्रणका लागि पुजापाठ
Monday, January 10th, 2022, 7:47 pm
Kalpristha
दिनदिनै बाघले मान्छेमाथि आक्रमण गर्न थालेपछि भुवर भवानी मन्दिरमा विशेष पुजा पाठ गरिएको छ । सोमबार बाँकेको राप्ती सोनारी-३ वनघुसरीमा रहेको भुवर भवानी मन्दिरमा विशेष पुजापाठ गरिएको हो ।
सदियौंदेखि मन्दिरमा पुजापाठ गर्दै आएका थारु गुरुवाहरुले बाघ नियन्त्रणका लागि विशेष खालको पुजा गरेको अगुुुुुवा चौधरीया विष्णुप्रसाद थारुले जानकारी दिए । सोमबार मात्रै विशेष खालको पुजापाठ २ पटक गरिएको जानकारी दिँदै चौधरीया थारुले अब बाघ नियन्त्रण हुने आशा गरिएको बताए । मन्दिर स्थापनाको कथा पनि बाघ नियन्त्रणसँग सम्बन्धित छ ।
मान्छेलाई बाघले खाने गरेको र भुवर भवानी मन्दिर स्थापना गरि पुजापाठ गर्न थालेपछि रोेकिएको किंवदन्ती छ । विशेष खालको पुजा पाठ गर्ने क्रममा भुलचुक भएको आशंकामा पुजापाठ गरिएको छ ।
अगुवा चौधरीया थारुले १०-१० बर्षमा गरिने ठुलो पुजामा भुलचुक भएको र त्रिसुलमा समस्या देखिएको निश्कर्ष गुरुवाहरुले निकालेको उल्लेख गरे । राप्ती सोनारीका करिव २० भन्दा बढी गाउँका अगुवाहरुको उपस्थितिमा विशेष खालको पुजा गरिएको हो ।
२०१४ सालमा पक्की मन्दिर बनि ठुलो शक्ति पिठको रुपमा मानिएको भुवर भवानी मन्दिरमा हरेक वर्ष ३ पटक पुजा पाठ गर्ने गरिएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा ठुुलो मेलासमेत लाग्ने गरेको छ ।