फरक उद्यममा महिला
Tuesday, January 11th, 2022, 5:30 am
Kalpristha
–वीरेन्द्र जैसी
नेपालगन्जमा सम्पन्न महिला उद्यमीहरुद्वारा उत्पदित लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा राखिएको एउटा स्टलमा सबैको नजर पर्यो । आकर्षक ह्यण्ड ब्याग (हातेझोला) र ह्याटहरु देखेपछि प्रदर्शनीमा आएकाहरु टक्क अडिएर हेर्न थाले । ‘यो के बाट बनेको हो ?’ यस प्रश्नको उत्तर दिनु धम्बोझीकी अन्जनी चौधरीको एक मुख्य काम भयो ।
खासमा ती ह्याण्डब्याग र ह्याटहरु थाकलको चोयाबाट बनाइएका हुन् । तराईदेखि भित्रिमधेशको जंगलमा जताततै पाइने र त्यसै खेर गइरहेको थाकलबाट पनि त्यति आकर्षक सामानहरु बन्छन् भन्ने थाहा पाएपछि अधिकांश अवलोकनकर्ताहरु अचम्मित पर्थे । ती सामानहरुको बिक्री पनि प्रदर्शनीमा उल्लेखनीय मात्रामा भयो । प्रदर्शनीमा राखिएका उनीहरुका सबै उत्पादनहरु बिक्री भए । प्रदर्शनीको दोस्रो दिनपछि मात्रै सहभागी भएकी अन्जनीलाई त्यसरी बिक्री होला भन्ने अपेक्षा नै थिएन । ‘हामीले त यो सामानहरु कस्तो बन्यो भन्ने प्रतिक्रिया जान्न मात्रै यहाँ ल्याएका थियौँ । तर मानिसहरुले अत्यन्तै रुचाएर खरिद पनि गर्नुभयो । प्रशंसा पनि गर्नुभयो ।’
अन्जनी र उनकी साथीले ती सामान बनाउन थालेको धेरै भएको छैन । उनीहरुले आफूसँग भएको सीप सदुपयोग गर्दै फुर्सदको समय बिताउन उक्त सामानहरु बनाउन थालेका थिए । साथीभाई, इष्टमित्र र चिनेजानेका मान्छेसम्म मात्रै उनीहरुको सामानको चर्चा पुगेको थियो । तर प्रदर्शनीले भने उनीहरुको उत्पादनलाई चर्चामा ल्याइदिएको छ । प्रदर्शनीमा राखिएका फरक खालका उत्पादनमा उनीहरुको उत्पादन पनि रह्यो । प्रदर्शनी आयोजक महिला उद्यमी संघ बाँकेले समापन कार्यक्रममा अतिथिहरुलाई उनीहरुकै सामान किनेर उपहारसमेत प्रदान गर्यो ।
अन्जनीले अहिलेसम्म उद्योगको रुपमा व्यवसाय दर्ता गरिसकेकी छैनन् । प्रदर्शनीबाट आएको प्रतिक्रियाले भने उनलाई चाडै उद्योग नै दर्ता गरेर अघि बढ्न हौसला प्रदान गरेको छ । ‘अब चाडै उद्योग दर्ता गर्नेछौँ,’ अन्जनीले भनिन् ।
नेपालगन्ज-९ कि क्रिष्टी बुढाथोकीले घरमै फुर्सदको समयमा विभिन्न डिजाइनका पोते तयार गर्दै आएकी छन् । उनले शौखको रुपमा उत्पादन गरेका पोतेका आइटमहरु सामाजिक सन्जालबाट र चिनेजानेका व्यक्तिका माध्यबाट बिक्री गर्दै आएकी थिइन् । प्रदर्शनीमा सहभागी भएपछि उनको कला देखेर अधिकाशंले प्रशंसा गरे । उनलाई पनि अब आफ्नो शौखमा व्यवसायी बन्न सकिन्छ कि भन्ने आशा पलाएको छ ।
नेपालगन्ज-१ कि पुजा मालभुलेको डल बनाउने र तालिम दिने उद्यमले पनि प्रदर्शनीमा प्रशंसा बटुलेको छ । अब उनले पनि उद्योगकै रुपमा व्यवसायलाई अघि बढाउने योजना बनाएकी छन् । नेपालगन्जमा मारवाडी महिलाहरुले घरमै बनाएका कपडाका विभिन्न डिजाइनका आइटमहरुले पनि उद्योगको रुपमा स्थापित हुने अवसर खोजिरहेका छन् । प्रदर्शनीमा उनीहरुका उत्पादन पनि अवलोकनकर्ताको नजरमा परे ।
महिला उद्यमी संघ (विन)बाँकेले नेपालगन्जमा आयोजना गरेको लुम्बनी प्रदेशस्तरीय प्रदर्शनीले नयाँ उद्यमीलाई परिचित हुने मौका दिएको पाइएको छ । प्रदर्शनीमा महिला उद्यमीहरुलाई आफ्ना उत्पादन ल्याएर राख्न उत्पेरित गरिएपछि त्यसको सकारात्मक नतिजा आएको विन बाँकेकी प्रथम उपाध्यक्ष साबित्रा बस्नेतले बताइन् ।
करिब २३ लाखको कारोबार
प्रदर्शनीमा प्युठानदेखि आएकी चित्राकली बुढामगरले सिस्नोको प्रजाती अल्लोबाट बनाएका वस्तुहरु प्रदर्शनमा राखिन् । जो धेरैको आकर्षणका केन्दबिन्दु बने । उनको स्टलमा अल्लोबाट बनेका बेल्टेदेखि कोटसम्मका उत्पादनहरु उपलब्ध थिए ।
बुढामगरले प्रदर्शनीमा करिब एक लाखभन्दा बढीको कारोबार भएको बताइन् । बचेका सामान पनि चाहेको खण्डमा उनले नेपालगन्जसिथत कोसेलीघरमा दिन सक्ने व्यवस्था गरिएको छ । बुढामगरले अल्लोबाट कपडा बनाउने काम सुरु गरेको १७ वर्ष भई सकेको छ । उनले भनिन्, ‘मैले २०५७ सालबाट अल्लोबाट धागो बनाउन सुरु गरेको हो । त्यसपछि २०६२ सालमा तालिम लिएर कपडा बनाउन सुरु गरे र २०६३ सालमा कोठी हिमाल अल्लो कपडा उद्योग गरी गरेर काम सुरु गरेको हो ।’
बुढामगरको उद्योग हाल नौबहिनी गाउँपालिका-६, प्युठानमा रहेको छ । उनले उत्पादन गरेको कपडाहरु नेपाल र देश बाहिर पनि जान्छ । प्रदर्शनीमा अल्लोबाटै बनेका कपडा दाङबाट ल्याएकी प्रेमकुमारी बुढाले पनि प्रदर्शनीमा करिब एक लाखको सामान बिक्री भएको बताइन् । उनले पनि प्रदर्शनीमा अल्लोबाट बनेका जुत्ता, कोट, टोपी, झोलालगायत सबै प्रकारका कपडा राखेकी थिइन् । नेपालगन्जमा भएको प्रदर्शनीपछि उनी चितवनमा आयोजना गरिएको प्रदर्शनीमा जाने तयारीमा रहेको बताउँदै थिइन् ।
बुढाले अल्लोबाट कपडा बनाउन सुरु गरेको २० वर्षजति भइसकेको छ । उनले सुरुमा आफू एक्लैले सुरु गरेको प्रेम नि.श.अल्लो (पुवा)धागो तथा तयारी पोशाक उद्योगले हाल अन्य महिलालाई पनि रोजगारी दिएको छ ।
प्रदर्शनीमा राखिएका केही स्टलहरुबाहेक अरुमा कम्तिमा १० हजारको कारोबार भएको उद्यमीहरुले बताए । प्रदर्शनीमा करिब ६४ वटा स्टलहरु राखिएका थिए । ती स्टलहरु निःशुल्क राख्ने व्यवस्था गरिएको थियो । आयोजक महलिा उद्यमी संघ (विन) बाँकेले प्रदर्शनीमा करिब २३ लाखको कारोबार भएको अनुमान गरिएको जनाएको छ ।
विन बाँकेकी अध्यक्ष अनुपमा रस्तोगीले करिब २३ लाख कारोबार भएको हुनसक्ने बताइन् । विनकी प्रथम उपाध्यक्ष साबित्रा बस्नेतले करिब १५ लाखको कारोबार हुने अनुमान गरिएकोमा त्यसभन्दा बढी हुनु आफूहरुका लागि हौसलाको विषय भएको बताइन् । ‘जाडोको मौसम त्यसमाथि कोरोनाको तेस्रो लहरको पनि त्रासका बीच प्रदर्शनी आयोजना गरेका थियौँ । यसहिसाबले भएको कारोबारलाई सकारात्मक मान्नुपर्छ । हामीलाई अर्कोपटक आयोजना गर्न हौसला मिलेको छ,’ उनले भनिन् ।
प्रदर्शनीमा सेल रोटीदेखि मःम, चटपटे, दालमोल, आलु चिप्सलगायतका वस्तुहरु राखिएका थिए । प्रदर्शनीमा नेपलगन्ज उप-महानगरपालिका-२० मा फूल उत्पादन गर्दै आएकी महिला उद्यमी बिन्दु चर्तीमगरले प्रदर्शनीले प्रदेशमा रहेका महिलाहरुको व्यापारलाई उत्थान गर्न सहयोग गरेको बताइन् ।