आमाले सिकाएको सीपबाट उत्कृष्ट उद्यमी बनेकी ‘अल्लो दिदी’ (भिडियोसहित)
Friday, January 21st, 2022, 10:00 am Kalpristha
–वीरेन्द्र जैसी
जंगलमा प्रशस्त पाइने सिस्नो जातको बिरुवा हो, अल्लो । अल्लो नेपालको पहाडी भू-भागमा ओसिलो स्थानमा पाइने वनस्पति हो । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति तीन मिटरसम्म अग्लो हुने गर्दछ । सिस्नो जस्तै देखिए पनि अल्लो एक हजार दुई सय मिटरभन्दा माथि मात्रै पाइन्छ ।
यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ । डाँठको बोक्राबाट प्राप्त हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ । अल्लो धागोबाट कपडाजन्य उत्पादनहरु तयार गर्ने नेपालको परम्परागत सीप नै हो ।
पछिल्लो समय यसको औद्योगिक उत्पादनमै उद्यमीहरु लागेका छन् । ती उद्यमीमध्ये दाङकी प्रेमकुमारी पुन एक अग्रणी एवं उदाहरणीय उद्यमी हुन् । अल्लो उद्यममा उनको लगनशीलता र सफलताले उनको उपनाम नै ‘अल्लो दिदी’को रुपमा स्थापित भएको छ ।
रोल्पाको एक विकट गाउँमा जन्मिएकी प्रेमकुमारीका बुवाका कारण भाग्यले उनले पढ्न पाइन् । हाल रोल्पाको परिवर्तनशील गाउँपालिका-१ पुरेलीमा पर्ने उनको जन्मस्थानका छोरीले जुन अवसर पाइरहेका थिएनन् । उनी स्कुल जान थालेपछि भने अरु छोरीहरुले पनि स्कुल जान पाए ।
एसएलसी पास गरेपछि प्रेमकुमारीले स्थानीय विद्यालयमा पढाउन थालिन् । पछि स्थायी शिक्षक भएर पढाउने क्रममा शिक्षक देवप्रसाद पुनसँग उनको प्रेम बस्यो र २०४० सालमा उनीहरूले विवाह गरे ।
दुवै सरकारी तलब खाने दम्पत्तीको एक समान्य दिनचर्यामा माओवादी युद्धले उथलपुथल ल्याइदियो ।
तलब लिन सदरमुकाम आउँदा जाँदा प्रशासनले माओवादी र माओवादीले सेनाको सुराकी गरेको आरोप लगाएर दुःख दिन थाले । उनको घरनजिकै बम बिस्फोट गराइयो ।
त्यसपछि जीवन जोगाउने उदेश्यले उनीहरू दाङ झरे । हुँदाखाँदाको जागिर छोडेपछि उनीहरुको जीवनमा जीविकोपार्जनको प्रश्न खडा भयो । त्यहीबेला प्रेमकुमारीले सानोमा आमाले सिकाएको अल्लोबाट धागो बनाउने सीप सम्झिन् ।
प्रेमकुमारीले सानैदेखि अल्लोको कपडा लगाउने गरेकी थिइन् । विद्यालय पोशाक र झोला पनि अल्लोकै थियो । भारी बोक्ने नाम्लो, गाईभैंसी बाँध्ने दाम्लो, अन्न राख्ने धोक्रो, ओढ्ने ओच्छयाउनेदेखि बच्चा बोक्ने तन्ना सबै अल्लोबाटै बनाइएका हुन्थे । उनकी आमाले हातैले ती कपडा तयार पार्थिन् ।
४० वर्षको उमेरमा उनले सिलाईकटाईको सीप सिकिन् । उनले निणर्य गरिन्, ‘अब अल्लो उद्योग खोल्छु र आफूजस्तै पीडित महिलालाई पनि रोजगारी दिन्छु् ।’
२०५३ सालमा उनको उद्योगको जग बस्यो । उनले आफूसँग भएको रकम एवं ऋण सापट गरेर पहाडी जिल्लाबाट अल्लो मगाउन थालिन् । पहाडमा भएका आफन्तबाट पनि अल्लो मगाउन थालिन् । उद्योगको जग हालेको ७ वर्षपछि २०६० सालमा प्रेम निशा अल्लो धागो तथा जडीबुटी सप्लायर्सको नाममा व्यवसाय दर्ता गरिन् । त्यसपछि २०६९ सालमा प्रेम निशा अल्लो धागो तथा तयारी पोशाक उद्योग दर्ता गरिन् ।
प्रेमकुमारीका अनुसार कोरोना आउनुअघि ७१ जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक हजार ६ सय जना जतिले रोजगारी पाएका थिए । लगानी करिब ६० लाखसम्म पुगेको प्रेमकुमारी बताउँछिन् । सुरुमा आफ्नो कमाई र ऋण लगायत चार लाखमा उनले उद्योग सुरु गरेकी थिइन् ।
उनको उद्योगमा महिला र पुरूषका लागि आवश्यक पर्ने जुत्तादेखि टोपीसम्म सबै कपडा बन्छन् । उनले कारोनापछि अल्लोकै माक्ससमेत बनाएकी छन् । उनले भारत र चीन पुगेर पनि अल्लोका सामान बेचेकी छन् ।
अल्लोका उत्पादनको मुख्य कारोबार मेला महोत्सवमा हुने गरेको छ । करिब चार पाँचवटा होलसेलरले पनि उनका उत्पादनहरु बिक्री गरिदिने गरेका छन् । केही स्थानीय तहका जनप्रतिनिधिहरुले पनि उनको उद्योगका एत्पादनहरु प्रयोग गरिरहेका छन् ।
वन जंगलमा सडेर जाने कच्चा पदार्थबाट उपयोगी वस्तुहरुको बजारीकरणमा राज्यले कुनै सहयोग नगरेको उनको बुझाइ छ । मुख्य गरी मेला महोत्सवहरुले नै उनको बजारलाई धानेका छन् । जनप्रतिनिधि र सरकारी कर्मचारीहरु एवं विद्याहरुले अनिवार्य अल्लो वा अन्य स्वदेशी कच्चा पदार्थका उत्पादनहरु प्रयोग गर्ने व्यवस्था गरेमा कायापलट हुने उनको विश्वास छ । उनी भन्छिन्, ‘अल्लो उद्योगले नै अहिलेको रोगारीको ठूलो माग पूरा गर्न र कपडाको आयातलाई प्रतिस्थापन गर्न सक्छ ।’
अल्लोको कपडामा एलर्जी, प्रेसर कम गर्ने गुण हुने बताउँदै प्रेमकुमारी राज्यले अब स्वदेशी उत्पादनको बजारीकरणमा सहयोग गर्नुपर्ने माग गर्छिन् ।
प्रेमकुमारीले २०७१ वैशाख ८ गते राजधानीको भृकुटीमण्डपको प्रदर्शनीपछि २० हजार नगदसहित पहिलो सर्वोत्कृष्ट पुरस्कार पाएकी थिइन् । त्यसदिन आमालाई सम्झेर खुब रोएको उनी बताउँछिन् । त्यसका अलावा पनि प्रेमकुमारीले थुप्रै पुरस्कार पाएकी छन् ।
प्रेम कुमारी अब अल्लोलाई देशको एक सफल स्वदेशी ब्राण्ड बनाउँदै अन्तर्राष्ट्रियस्तरसम्मै पुग्ने सपना रहेको बताउँछिन् ।