लघुकथा : विद्रोही सोच
Saturday, January 29th, 2022, 9:48 am
Kalpristha
– डा. शेखरकुमार श्रेष्ठ
-म लघुकथा लेखनतिर आफूलाई उन्मुख बनाउँदै छु ।
-हामी समाजका विविध विषय साहित्यमा अभिलेखीकरण गरिहेका छौँ ।
-तँ देश निर्माणको योजना बनाउँदै छस् ।
-तिमी देश निर्माणका लागि लगानी जुटाउँदै छौ ।
-तपाईँ औजार लिएर काम गर्दै हुनुहुन्छ ।
-उहाँ निर्माण सामग्री घोल्दै हुनुहुन्छ ।
-उनी पसिना चुहाउँदै काम गरिरहेका छन् ।
सबैले काम गरेर नै रोज रोटीको प्रबन्ध हुन्छ । काम गरेपछि व्यक्ति, समाज र राष्ट्र बन्छ ।
यी सबैको बिचमा ऊ पनि छ ।
-ऊ भने दीर्घ रोगी छ । संसारमा जन्मेका हरेक मानिस बिरामी नै हो । तर अहिले ऊ सकिनसकी उठेर आँगनकै छेउमा बिरुवाको बिउ रोप्दै छ ।
केही फुर्सदिला मानिसले बाटाकै छेउबाट सोधे, “तपाईँ बिरामी मान्छे । उमेर पनि परिपक्व । यो बिरुवा उम्रेर पात, हाँगा, रुख बनेर फूल फल्न समय लाग्छ । चिचिला लागेपछि पनि फल पाक्न अझै समय लाग्छ । फल खाने कुरा छाडिदिऊँ । बिरुवा हुर्केको पनि देख्न पाउनुहुन्छ कि नाइँ ? तापनि किन बिरुवा रोप्दै हुनुहुन्छ ?”
उसले रुँदै जवाफ दियो, “तपाईँ त आन्दोलन गर्नेबित्तिकै सरकारमा गई सत्ता चलाउने नेपालकै राजनीतिकर्मी जस्तो हुनुहुँदो रहेछ । मेरो काम त बीउ रोपेपछि फूल फुल्छ अनि फल लागेर पछिका सन्तानले खान पाउँछन् भनेर देखाउने मात्र हो ।”
“बुढा त अडबाङ्गा रहेछन् । हामीलाई नै उल्टो पाठ सिकाए ।”, यति भन्दै उनीहरु प्लेकार्ड बनाउन हिँडे ।