लघुकथा : सान
Saturday, February 5th, 2022, 2:22 pm
Kalpristha
एकजना बुद्धिमान नाम गरेको कर्णेल साहेबको त्यस गाउँमा सारै नै जगजगी थियो । उनी आफूभन्दा ठूलालाइ एकार लाउने, रिस उठेको बेला आमाचकारी गाली गर्ने र पिट्ने गर्दथे । उसबेला ती कर्णेलको घरमा त्यहि गाउँको नुनुराम नाम गरेको मानिस हली वसेको थियो । उ मालिकलाइ सम्झाउन खोज्थ्यो तर उल्टै उसैले हकार खानुपथ्र्यो । कर्णेलको सरकारी सानको अगाडि वरपरका छरछिमेकीहरू चाहिने कुरा पनि डरले बोल्न सक्तैन थिए ।
पछि बुद्धिमानका चार भाइ छोरा र तीन वहिनी छोरीहरू भए । ती छोरा छोरीहरू पनि बाउले गरे जस्तै व्यवहार गर्न थाले । आफ्ना आमाबा सरहका गाउँलेहरूलाइ पनि कि नामले कि थरले बोलाउँथे । उनीहरूको कुनै भद्र र मिजासिलो स्वभाव नै थिएन । देशमा गणतन्त्र आएको दश वर्ष भैसक्दा पनि त्यस गाउँमा त्यो कणर्ेलका छोरा छोरीहरूका र नातीनातिनाहरूका सन्तानमा पूर्वजको त्यो अभद्र व्यवहार हटेकै थिएन ।
त्यस कर्णेलको एउटा पनातिनी तिरको सन्तान जस्को नाम गजेन्द्र थियो, उ सम्पति सकिएर नाङ्गै भैसक्दा पनि आफ्नु जिजुबाजेको सान देखाउँदै जसलाई भेट्यो उसैलाइ गालिगलौज गर्दै हिँड्थ्यो ।
नुनुरामको जनाति भोलाराम भर्खरै दुवइबाट छुट्टीमा आएको थियो । उ गाउँको बजारमा आफ्ना साथीभाइ भेट्न भनी गएको थियो । गजेन्द्र पनि त्यतै बजारतिरै टहलिँदै थियो । उसले भोलारामलाई देख्ने बित्तिकै भन्यो, ‘एइ भोले,कैले आइस ?’
गजेन्द्रले यसरी सम्बोधन गरेको भोलारामलाई फिटिक्कै मन परेन । त्यसैले उसले कुनै पनि जवाफ फर्काएन । भोलाराम नबोलेकोमा गजेन्द्रलाई पनि खपि नसक्नुको रिस उठ्यो । उसले तुरुन्तै भोलारामलाई आमाचकारी गाली गर्यो, ‘एइ मा….तँ जाँ….ठूलो भको? बिदेश गएर कमाइस् भन्दैमा कस्को सन्तान भन्ने नै बिर्सिस ? मेरो जिजुबाजे कर्णेलसाबको घरमा हली वस्ने नुनुरामको जनाति होइनस तँ ?’
यति भएपछि , त भोलारामलाई पनि खपि नसक्नु भयो । उसले ‘आमाचकारी गालि गर्छस?’ भन्दै गजेन्द्रलाई दुइ लात हानेर भुईँमा पछार्दियो । अनि मुक्कै मुक्काले मुखमा हान्यो । गजेन्द्र रगताम्मे भयो ।
भोलाराम अझै कराउँदै थियो, ‘कणर्ेलको सन्तान हो भन्दैमा हामीलाई हेपेर बोल्छस?’
वजारका धेरै गाउँलेहरूको मुखबाट निस्कियो, ‘ठिक भयो सालेलाइ, हामीलाइ पनि जिजुबाजेको खुव धाक देखाइरहन्थ्यो ।’