कुष्ठरोग निवारण घोषणाको १२ वर्षसम्म पनि बाँके जोखिममै
Friday, February 18th, 2022, 6:40 pm
Kalpristha
नेपाललाई सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजारमा १ भन्दा कम व्यक्ति संक्रमित भेटिएमा उक्त देशलाई कुष्ठरोग निवारण भएको मान्ने मापदण्डअनुसार उक्त घोषणा भएको थियो । तर, घोषणाको १२ वर्षसम्म पनि बाँके जिल्ला भने कुष्ठरोगको उच्च जोखिममा छ । गत वर्ष सम्मको तथ्यांक हेर्ने हो भने बाँकेमा प्रति १० हजारमा १ दशमलव ५९ संक्रमण दर छ । यो दरलाई १ भन्दा तल झार्नु अझै धेरै मिहिनत गर्नुपर्ने देखिएको छ । कुष्ठरोग निवारण हुन नसकेका देशका ११ जिल्लामध्ये बाँके दोस्रो नम्बरमा छ ।
बाँकेमा गत आर्थिक वर्ष २०७७-७८ मा कुष्ठरोगका एक सय २८ जना नयाँ बिरामी थपिएका थिए । यस वर्षको पहिलो ६ महिनामा ४४ जना कुष्ठरोगका विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेको अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखी पुस मसान्तसम्म जिल्लामा ४४ जना नयाँ विरामी थपिएका छन् ।
यसवर्ष थपिएका नयाँ बिरामीमध्ये सबैभन्दा बढी नेपालगन्जका १३, कोहलपुरका ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्शन वरिष्ठ जनस्वास्थ्य अधिकृत मानव नेपालीले जानकारी दिए । नेपालीका अनुसार जानकी गाँउपालिकामा ६, नरैनापुर र बैजनाथ गाँउपालिकामा पाँच-पाँच, खजुरामा तीन र डुडुवामा एकजना नयाँ विरामी थपिएका छन् । गत ६ महिनामा राप्तीसोनारी गाँउपालिकामा मात्रै कुष्ठरोगका बिरामी फेला परेका छैनन् ।
बाँके मात्रै नभई लुम्बिनी प्रदेश नै कुष्ठरोगको जोखिमका हिसाबले दोस्रो नम्बरमा छ । गतवर्ष फेला परेका संक्रमतिका आधारमा मधेस प्रदेश एक सय ६ र लुम्बिनीमा एक सय तीन जना बिरामी फेला परेका थिए । देशमै सबैभन्दा बढी कुष्ठरोगी फेला पर्ने तीन जिल्ला लुम्बिनी प्रदेशकै छन् । पहिलो नम्बरमा रहेको कपिलवस्तुमा प्रति १० हजारमा २ दशमलव १५ र १ दशमलव ३९ संक्रमण दर छ ।
गतवर्षदेखि नेपाल सरकारले कुष्ठरोग निवारणको अभियान सुरु गरेको छ । जसअनुसार २०३० सम्म नेपाललाई पूणर्तया कुष्ठमुक्त नेपाल बनाउने लक्ष्य छ । उक्त लक्ष्यलाई पूरा गर्न पाँच वर्षसम्म लगातार १४ वर्षमूनिका कुनैपनि बालबालिकामा कुष्ठरोग फेला पर्न नहुने मापदण्ड छ । तर, अहिले बाँकेमा ७ प्रतिशत बालबालिकामा कुष्ठरोग फेला परिरहेको छ ।
कुष्ठ रोग निवारण नै हुन नसकेको अवस्थामा कुष्ठरोग मुक्त अवस्थामा पुग्नू बाँकेका लागि चुनौतिपूणर् रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्शन नेपाली बताउँछन् । बाँकेसहित लुम्बिनी र मधेस प्रदेशमा कुष्ठरोगी बढी फेला पर्नूका पछाडी बढी जनसंख्या, कुष्ठरोग पहिचानका अवसर बढी हुनु र भारतसँगको खुला सीमा मुख्य कारण रहेका नेपाली बताउँछन् ।
अर्कोतिर कुष्ठरोगका बारेमा रहेका नकारात्मक धारणका कारण पनि संक्रमितहरु उपचारमा नआउने गरेका कारण कुष्ठरोग समाजमा फैलने मौका पाइरहेको छ । यसकारण कुष्ठरोगीहरुलाई उपचारमा ल्याउन पनि नकारात्मक धारणा परिवर्तनका लागि काम गर्नुपर्ने अवस्था रहेको आइएनएफद्धारा सन्चालित बाँकेमा रहेको साइनिङ अस्पतालका कुष्ठरोग इन्चार्ज मंगल थारु बताउँछन् ।
साइनिङ अस्पतालमा ७४ विरामी फेला
आइएनएफद्धारा सन्चालित बाँकेमा रहेको साइनिङ अस्पतालमा गत ६ महिनामा ७४ जना कुष्ठरोगका विरामी फेला परेका छन् । बाँके, बर्दिया लगायत कणर्ाली र सुदुरपश्चिमका जिल्लाबाट समेत विरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका कुष्ठरोग इन्चार्ज मंगल बहादुर थारुले जानकारी दिए । भारतबाटसमेत विरामीहरु उपचारका लागि आउने गरेको उनले बताए । आइएनएफ बाँकेले बिहीबार नेपालगन्ज्मा आयोजना गरेको बाँके जिल्लाका पत्रकारहरुलाई कुष्ठरोगका बारेमा अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।