खजुरामा रहेको मंगोलियन जुडो क्लबले जुडो खेल्नका लागि भवन उपलब्ध गराई दिन खजुरा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । क्बलका अध्यक्ष विजय गुरुङले पालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझाउनु पूर्व क्बलका खेलाडीले विभिन्न किसिमका ‘प्लेकार्ड’ बोकेर खजुरा बजारमा मौन परिक्रमा गरेका थिए । उनीहरुले ‘जुडो बचाउँ’, ‘खेलकुदमा राजनीतिक बन्द गर’ जस्ता ‘प्लेकार्ड’ बोकेका थिए ।
‘प्लेकार्ड’ सहित खजुरा परिक्रमा गरिँदै ।
क्लबले पालिकालाई विभिन्न १२ बुँदे पत्र बुझाएको थियो । जसमा खेलकुद र जुडोको लागि गाउँपालिकाले उपयुक्त फिल्डको व्यवस्था गर्नुपर्ने, खेलकुद र जुडोको लागि गाउँपालिकाले प्रयाप्त बजेटको व्यवस्था गर्नु पर्ने, प्रत्येक वडामा खेलकुद प्रशिक्षकको व्यवस्था गर्नु पर्ने, विद्यालयमा खेलकुद सामाग्री व्यवस्था गर्नु पर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्ने खेलाडीहरुका लागि सम्मान र भविष्य सुचिश्चित गर्नु पर्ने लगायतका बुँदाहरु रहेका छन् ।
पालिका अध्यक्ष कक्षपतिले ध्यानाकर्षण पत्र लिएपश्चात मंगोलियन जुडो क्लबलाई हरसम्मद सहयोग गर्ने बताए । उनले हाल क्लबलाई भवन नभएको अवस्थामा कुनै ठाउँमा खाली जग्गा उपलब्ध गराई खेलाडीलाई खेल्ने वातावरण सृजना गर्ने बताए ।
भवन निर्माणमा विवाद
यसअघि पनि गाउँपालिकाले क्लबका लागि जग्गा उपलब्ध गराएको थियो । तर स्थानीयको विरोध पश्चात सो जग्गामा क्लबले भवन बनाउन नसकेको क्लबका अध्यक्ष गुरुङले बताए ।
दुई वर्ष अगाडि खजुरा गाउँपालिका वडा नम्बर ३ को सिफारिसमा गाउँपालिकाले क्बलका लागि खजुरामा तीन कट्ठा बढी सरकारी जमिनमा भवन बनाउन निर्णय गरेको थियो । सोही समयमा स्थानीय केही व्यक्तिले भवन बनाउन विरोध जनाएका थिए ।