हरहर महादेव
Saturday, March 5th, 2022, 1:17 pm
Kalpristha
महाशिवरात्रिका दिन छोराले पाँचै बजे उठेर नुहाइधुवाइ गर्यो । छोराको कोठामा बजेको भजन सुनेपछि श्यामलाल अलि अचम्भित हुँदै छोराको कोठातिर लागेँ ।
दुवै आँखा चिम्म गरेर ध्यानस्थ थियो छोरो । उदेक मानेर हेरिरहे । केही बेरपछि आँखा खोल्यो उसले र भजनमा झुम्दै पूजापाठ पनि गर्याे ।
भजनका बीच बीचमा भन्दै पनि थियो, ‘हरहर महादेव ।’ त्यसपछि भान्सामा पसेर चिया पकायो र बुबालाई पनि दियो । बुबा झन छक्क परे ।
आवारा साथीहरुसँग डुलिहिँड्ने, आधारातमा अर्धचेत अवस्थामा घर आउने, घरमा बस्दा पनि नसाकै सुरमा धुमधुम्ती बसिरहने, बिहान नौ बजेअगाडि ओछ्यान नछोड्ने र सिन्कोसम्म नभाँच्ने छोराको बिग्रिएको बानीसँग आजित उनलाई आज छुट्टै आनन्द आयो ।
मनमनै सोचे ‘अब चाहिँ केटो मान्छे बन्लाजस्तो छ ।‘
खाना बनायो छोराले । बाबुछोरा दुबैले खाएपछि भाँडा तथा भान्सा सफा गरेर ऊ बोल्यो, ‘बाबा, म मन्दिर जान्छु है । दिनभरि उतै बिजी हुन्छु होला । म पनि स्वयंसेवक हो नि त्यहाँको ।’
गद्गद् हुँदै बोले श्यामलाल, ‘हुन्छ बाबु, साँझ राम काका र म पनि आउँछौँ घुम्न । राति सँगै फर्कौँला ।’
आमाबिनाको टुहुरो भनेर बढी नै दिएको लाडप्यारले छोरो कतिबेला कुबाटोमा लाग्यो, पत्तै पाएनन् श्यामले तर अचानक छोरामा आएको परिवर्तनप्रति मनमनै भोलेनाथलाई धन्यवाद दिए उनले ।
साँझ उनका हितैषी मित्र रामहरिसँग मन्दिर घुम्न जाँदा पनि छोरामा आएको परिवर्तनकै कुरा गरे । साथीको खुसीमा खुसी मिसाउँदै भगवानलाई धन्यवाद दिए रामले पनि ।
अचानक गाँजा र ड्रग्ससँगै समातिएका दुई बाबाजी र उनका चेलाहरुलाई लिएर प्रहरीहरु भीड हटाउँदै आए । चेला सबै लट्ठ थिए र लर्बरिएको स्वरमा नारा लगाउँदै थिए, ‘हरहर महादेव ।’
भ्यान गुड्यो । भीड तितरबितर भयो । श्यामलाललाई भने आफूले टेकेको जमीन भासिएझैँ लाग्यो । टाउको घुमेजस्तो भयो, थ्याच्च भूईंमा बसे । कानमा आवाज मधुरिँदै गयो, ‘हरहर महादेव ।’