खुशी
Saturday, March 12th, 2022, 2:36 pm
Kalpristha
वल्लापल्ला सिटका यात्रुलेझैं सिटबेल्ट बाँधे पनि मन बाँधिएको थिएन मिस्रीलालको । पाँचबर्ष पछि मातृभुमी फर्किदै थियोे ऊ। जहाजले बादलका पहाड छुनै लाग्दा उसको मनको आकाशमा भने अनगिन्ती बिचारका पहाडहरु ठडिई सकेका थिए ।
चार बर्षको प्रेमलाई विवाहमा परिणत गरेर भित्र्याएको थियो मनसरालाई । पाँच महिनाकी गर्भवती छोडेर बिदेशिन बाध्य थियो ऊ,उनिहरुकै खुशिको निम्ति । रहर– बाध्यता, कल्पना – यथार्थता आशा – निराशा हर्ष– बिस्मत बिचित्र भावहरु आउँदैजांदै थिए उसको मानसपटलमा।
भर्खर यौवनको सङ्घारमा पाईला टेकेकी । एउटी स्त्रीले देख्ने सपना देखेकी हुदिँहो उसले पनि । उसका भावना, सपना हरु मिस्रीलालको कतार उडानसङ्गै उडेका थिए माथिमाथि नीलो गगनमा । मरुभूमिको प्रचण्ड गर्मीमा भेडा चराउँदै सुखद भविस्य खोजिरहेको मिस्रीलालको अभावमा कयौं दिनरात आँशुमा रुमलिएर बितेका थिए मनसराका । न दिनमा भोक न रातमा निंँद । बाटैतिर आँखा बिछ्याउथी ऊ। छोरो भिडियोमा बाबासँग कुरा गर्न सक्नेभएको थियोे ।
पाँच पाँचवटा हजारका नोट र एक एकजोर कपडा हातमा राखेर ढोग गर्दा हर्षका आँसु खसाल्दा हुन् बाबुआमा । खेलौनाको झोला र चक्लेट पाएर कति फुरुङ्ग हुँदोहो छोरो ।
“यो चाहिँ तिम्रो भाग है मनु !’ भनेर सुट्केस उनितिर सारिदिँदा पाँच बर्षसम्मको मेरो पीडा यतिकै लागि हो त ? भन्दै भावविह्वल हुँदिहो मेरि पृयतमा …. । उसका अङ्गप्रत्यङ्ग रोमान्चित हुन थाले । बाबुआमा नजिकै नहुदाहुन् त गम्लङ्ग अङ्गालो मारेर बर्षौ देखिको रिक्तता र तिक्तता निमेशभरमै भुलाईंदिन्थें जस्तो लाग्यो उसलाई । हुनत उनीलाई पनि कसरी प्रतिक्रिया व्यक्त गरौं भएको हुँदोहो ।
स्वैर कल्पनातीतबाट धर्तीमा पछारियो ऊ जहाजले भुइँ टेकेपछि ।
गुजुमुज्ज परेका बादल, उत्तरमा चादी झैं टल्किएका हिमाल ! मन्दमन्द हावा, मनोरम वातावरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । विवेक र पौरखीहरुको सपनाको द्वार ।
कार्यालयीय पोशाक र परिचयपत्रले होला मलाई सोध्यो– ‘म्याम नेपालको विमानस्थल कता छ ?’
‘यहि त हो ! मनमनै सोचें ए ….यो त अन्तर्राष्ट्रिय ।’ उसले भनेको ‘नेपालको’ त
आन्तरिक होला । विमानस्थलतिर संकेत गरें ।
मुस्कुराउदै हिड्यो उ । मुहारमा अपूर्व प्रशन्नता छचल्किएको देखेर मलाई पनि खुशी लाग्यो ।