२५ लाख युक्रेनीले देश छाडे
Saturday, March 12th, 2022, 9:04 pm
Kalpristha
रुस–युक्रेनबीचको युद्ध शनिबारसम्म १७औं दिन पुगेको छ । यसबीचमा २५ लाख युक्रेनीले देश छाडेका छन् । संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनी शरणार्थीको संख्या २५ लाख पुगेको बताएका हो ।
तीमध्ये झण्डै एक लाख १६ हजार तेस्रो देशका नागरिकहरू रहेको ग्रान्डीलाई उद्धृत गर्दै समाचारमाध्यामले जनाएका छन् । अर्को झण्डै २० लाख मानिसहरू युक्रेनभित्रै विस्थापित बनेको ग्रान्डीले बताएका छन् ।
भाडामा सेना भर्ती गर्दै रुस
रुसले युक्रेन लडाईका लागि भाडामा सेना भर्ती गरेको छ । रुसले लडाईका लागि भाडाको नयाँ ब्रिगेड भर्ती गरेको छ । सोसल मिडिया च्यानलहरू र निजी सन्देश समूहहरू प्रयोग भइरहेको बीबीसीले जनाएको छ ।
बीबीसीले भर्ती अभियानको विवरण साझा गर्ने रसियाको प्रमुख भाडा संगठनसँग नजिकको सम्बन्ध भएका सेवारत भाडा सैनिक र पूर्व लडाकुसँग कुरा गरेको जनाएको छ ।
युक्रेनका तीन सहरमा आक्रमण
रुसी सेनाले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको छ । शुक्रबार रुसीले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएका हुन् ।
युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन् ।
बीबीसीका अनुसार यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन । लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।
त्यस्तैरुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो–फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन् । इभानो–फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन् ।
राजधानी किभ नजिकै रुसी सेना
रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका विभिन्न समाचार माध्यामले जनाएको छ । पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ ।
युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ ।
वार्तामा प्रगति भइरहेको रुसको भनाइ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको बताएका छन् । मस्कोका चासोहरूलाई पश्चिमा देशहरूले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो ।
यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन् ।