क्षयरोगको पहिचान बढ्दै
Wednesday, March 23rd, 2022, 9:28 pm
Kalpristha
क्षयरोगका बिरामीको संख्या पहिचान बढ्दो पाइएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा बुधबार स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सोका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सरोकारवाला तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेको गत वर्षको तथ्यांक हेर्दा वर्षभरी ३७ जना क्षयरोगीको मृत्यु भएको थियो । भने बाँकेमा चालू आर्थिक वर्षको ६ महिनामै क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुष महिनासम्म क्षयरोगबाट २५ जनाले ज्यान गुमाएका हुन् ।
यसरी ज्यान गुमाउनेहरुको संख्या युवा र वृद्धवृद्धा बढी रहेको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार बाँकेमा क्षयारोगीले ज्यान गुमाउने संख्या र क्षयरोगी पहिचान दुवै बढ्दो छ ।
बाँकेमा चालू आर्थिक वर्षकोे ६ महिनामा क्षयरोगका नयाँ विरामी चार सय ९४ जना फेला परेका छन् । भने गत वर्ष मात्रै बाँकेमा ८ सय ३५ जना क्षयरोगी फेला परेका थिए ।
स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकलाई हेर्दा बाँकेमा सबैभन्दा धेरै नेपालगन्जमा क्षयरोगी विरामी भेटिने गरेका छन् । नेपालगन्जमा दुई सय ३८, कोहलपुरमा एक सय ४५ र खजुरामा एक सय सात जना क्षयरोगी फेला परेका छन् ।
यसैगरी राप्तीसोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेला परेको फोकल पर्सन नेपालीले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले बाँकेमा प्रत्येक वर्ष एक हजार तीन सय ८६ जना उपचारको दायरामा आउनु पर्ने हो । तर, अहिले उपचारको पहुँचमा चार सय ९४ जना सम्पर्कमा आएका छन् ।
आठ सय ९२ जना सम्पर्कविहीन रहेका छन् ।