व्यवसायिक भवनको शिलान्यास
Thursday, March 24th, 2022, 9:47 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिका–१८ मा व्यवसायिक भवनको शिलान्यास गरिएको छ । वडा अध्यक्ष दिपककुमार बर्माले लग्दहवा स्थित माध्यमिक विद्यालय सञ्चालनको स्रोत जुटाउन व्यवसायिक भवन निर्माण थालेको हुन् ।
बुधबार औपचारिक कार्यक्रम बीच वडाध्यक्ष दिपककुमार बर्माले ६ कोठे व्यवसायिक भवनको शिलान्यास गरे । विद्यालय परिसरमा नै निर्माण सुरु गरेको ६ कोठे भवनले मावितर्फ अत्यन्तै न्यून शिक्षक दरबन्दी रहेको समस्यालाई सम्बोधन गर्ने विश्वास वडाध्यक्ष बर्माको छ ।
‘मावि तर्फ एकजनाको मात्र दरबन्दीले गुणस्तरीय शिक्षा सम्भव छैन’, वडाध्यक्ष बर्माले भने, ‘निजी स्रोतले धान्न नसकेकाले संघीय सरकारसँग अनुरोध गरेर प्राप्त ३५ लाखबाट ६ कोठे व्यवसायिक भवन बनाउन लागिएको हो ।’
अध्यक्ष बर्माले यसबाट आउने स्रोतबाट कम्तिमा ४ जना मावि शिक्षक करार भर्ना गर्न सकिने विश्वास व्यक्त गरे ।
‘गुणस्तरीय शिक्षाका लागि शिक्षक जनशक्ति आवश्यक भएकाले यो उपाय गरिएको हो’, वडा सदस्य दिग्विजय ढुंगानाको भनाइ थियो ।
केही दिनमैं थप २० लाख रुपैयाँको लागतमा सोही विद्यालयमा ४ कोठाको भवन निर्माण गरिने वडा अध्यक्ष वर्माले जानकारी दिए ।