दीर्घरोगीलाई सरकारले उपचार खर्च दिने
Wednesday, March 30th, 2022, 6:11 pm
Kalpristha
नेपाल सरकारले दीर्घरोगीलाई त्रैमासिक रुपमा १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले ४ प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्नका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ दिएको अधिकार प्रयोग गरी कार्यविधि नै बनाएर निर्णय कार्यान्वयनको बाटो खुलाएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रुपमा ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि २०६८ स्वीकृत गरिएको हो । सो कार्यविधिलाई तुरुन्त लागू गर्न भन्दै नीति, योजना तथा अनुगमन महाशाखाले देशभरका ७५३ स्थानीयबाट रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले त्रैमासिक रुपमा महिनाको अन्तिम दिन एकमुष्ट १५ हजार स्थानीय तहले बिरामीको बैंक खातामा जम्मा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।