हेड सर हुने ?
Saturday, April 2nd, 2022, 10:59 am
Kalpristha
–––– नेपालनारायण कैलाश माध्यमिक विद्यालयमा अचानक खलबली मच्चियो । सन्चालक समितिका अध्यक्ष रत्नेश्वर ठकुरी र प्र अ सुशीलकुमार नरेन्द्र भोगविलाशको बीचमा मन मिलेन । चलाख बाबुसाहेबले पानीको दुःख भएको गाउँमा ५५ धारा राखिदिएर जनताको मनजिते, यही आडमा ‘नरेन्द्र दाई’ लाई १५ सालकि भान्जीलाई हातपात गरेको नक्कली आरोप लगाए । होइन भन्ने कोही पनि निस्किएन । सुन्दरी र गजल भनेपछि भुतुक्क हुने प्र अ भनेर आरोप लागेको थियो । यही भएर ‘ग’ झिकेर सुन्दरी र गजल सन्धी गरी सोही लाछ्या गृहमा ससम्मान राखियो नरेन्द्र दाजीलाई।एउटा जोगीलाई सत्र पर्यो । ‘यो कहानी अलि जटिल छ,जोगीको आश्रममा एक बाला, उनको ननिको चाला,तुलसीको बिरुवा हुर्काउने निउमा नियुक्त भए पनि ती उर्वशी, ती मधुबाला,युगपुरुषहरूलाई फलाम बनाएर आफू चुम्बक हुन सिपालु, अध्यक्ष पनि लोहा हुने, प्र अ त झन् शेर र दोहा भन्न पुग्ने, यही भएर अध्यक्ष दुर्वासा बने ! ‘भित्र भित्र यो कायाकैरन!जनता हैरान । स्कुल चल्यो । अध्ययन अध्यापनमा सुधार पनि आयो।तोरी फुलेजस्तो पहेँलो बस्ती भयो । ‘सबै बाली तोरी हुन् सबै तोरी बाली हुन्’ यस्तो नारा बन्यो ।
चौतारीमा ठकुरी भेटिए,देउरालीमा बाबुसाहेबनी मिलन भयो, यस्ता लाहुरे गीतहरू बजे।भोटेनी नानीको प्रेमीलाई स्वर्गका राजा इन्द्रले बोलाए । त्रिभुवनमा आफ्नो कालो चस्मा र नाम फैलाएर बाबुसाहेब सेतो धरती उपन्यासका लेखक भए ! एउटा नयाँ युग आयो, त्यो स्कूलमा ।
––––“ अब के हुन्छ होला ? ‘जनताहरू ।’ बेलायत पढेर आएका अध्यक्ष बने, धीर, वीर, ज्ञानशाली जस्तो लाग्छ । स्कूलमा चाँदनी रात होला, सूर्यनारायण जस्ता पात्र हेड सर भएर आए स्कूलको कीर्ति फैलिन्छ । ढुक्क हुनू !’ एक धनकुटे साथीले सम्झाए जनताहरूलाई । उनी चतुर र बहादुर देखिए ! पीत बस्त्र लगाउने जोगीहरूको घेरामा पर्यो स्कुल, खोइ कता कता के के भयो, तारानाथहरूले स्कुल कब्जा गरे, नीला र राता फूलहरू फुल्न थाले । पहेँला फूलहरू मरिच बनेर चाहुरिए । अध्यक्ष उही बेलायती बाबुसाहेब । कपाली तमसुक भयो ।
अचानक बाबुसाहेब जेठाको पूरा परिवार तीर्थयात्री बनेर गएको बस नदीमा खसी इहलीला समाप्त भयो । माहिला दाजी अध्यक्ष र हेड सर आफैं भए । अलि कडा राता राता कमिलाहरूलाई यो कुरा मन परेन।माहिला दाजीलाई सम्मानित बहिर्गमनको राजकीय व्यवस्था गरी अध्यक्षको पद नै खारेज गरियो।अब स्कूलमा झन् भद्रगोल युग शुरू भयो।अनेक हेड सरहरू फेरिए, तर स्कुल रित्तो हुनथाल्यो । भुरा भुरी अन्त गए । केही बाबुसाहेबभक्त माथेमाहरू कोमलपुर पुगेर बिन्ती बिसाए, ‘ माहिला दाजी, हेड सर हुने ? स्कुल त खत्तम हुने भो!यो पृथ्वीमा नारायणको कृपाले अघोर कठिन तपस्या गरेर बनाएको स्कुल हो यो । नारायणका अवतारहरू बाहेक अरू हेड सर भएर यहाँ फाप्दैन।हावापानी माटो, हाम्रो परम्परा सुहाउने हेड सर हजुर नै हो माहिला दाजी, हेड सर हुने ?’
‘ठीक छ, ठीक छ । म पारस नगर गएर आउनेछु । कमल नगर पनि पुग्छु । राजेन्द्र कुमार, दिलिप कुमार, अमिताभ वच्चन, परेस रावल सबैको राय मिले, यो उचाइ, यो कस्मीर फाइलमाथि विचार गरिने छ । ठीक छ, स्कूलले आउन भनेमा, जनताले चाहेमा म टुलुटुलु हेरेर बस्ने छैन। श्री पशुपतिनाथले हाम्रो त सक्दैनन्, आफ्नो कल्याण आफैं गरून् ! ठीक छ, ठीक छ !’ तर तर माहिला दाजीले त्यति वास्ता गरेनन् । उनी हेड सर हुने कुरा एकादेशको कथा भयो।माहिला दाजी सपत्नी चारधामतिरलागे, एउटा जोगीको कोपिला,हाइकु,गीत र गजल सुन्दै ।
माहिला दाजी पनि आफ्नी भाउजू जस्तै गीतकार हुन् !