एनआरएन निर्वाचन : गौरी जोशीको समर्थन डा. केशव पौडेललाई
Wednesday, March 22nd, 2017, 4:00 am
amit
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी गौरी जोशीले बर्तमान अध्यक्ष डा. केशव पौडेललाई आगामी कार्यकालका लागी सघाउने अनौपचारीक सहमती भएको खुलासा भएको छ ।
गैर आवासीय नेपाली संघको बिधान अनुसार एनआरएन राष्ट्रिय समन्वय समितीको अध्यक्ष बन्न एक कार्यकाल कार्यसमितीमा बसेको हुनै पर्ने प्रावधानका कारण गौरी जोशी पछाडी हटेर डा. पौडेललाई समर्थन गर्ने सहमती बनेको स्रोतले बताएको छ । ड्यालसका समाजसेबी तथा व्यवसायी जोशी एनआरएन अमेरीकामा हाल सल्लाहकार छन् ।
गौरी जोशीको प्रत्यक्ष सहभागीतामा ड्यालसमा भएको छलफलमा बिधानको प्रावधानलाई लिएर बिबाद सृजना गर्नुभन्दा आगामी कार्यकालका लागी जोशीले डा. पौडेललाई समर्थन गर्ने सहमती भएको छलफलमा सहभागी एकजनाले बताएका छन् ।
अध्यक्षमा डा. पौडेललाई समर्थन गरेपनि बरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदमा उम्मेद्वारी दिने की नदिने जोशीले स्पष्ट नपारेको बताइएको छ । यस विषयमा जिज्ञासा राख्दा जोशीले अस्विकार गर्नुभयो । हिमालपाटी डट कम संग कुरा गर्दै जोशीले आफ्नो अध्यक्षको उम्मेद्वारी कायम रहेको बताउनुभयो ।
यस्तै छलफलमा सहभागी नेपाली कांग्रेसका युवा नेता तथा जन सम्पर्क समिती अमेरीकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीले स्पष्ट रुपमा नखुलाएपनि एनआरएनको बिधान र आगामी बाटोका बारेमा छलफल भएको बताउनुभयो । सोमबार एनआरएनका क्षेत्रीय संयोजक सोनाम लामा र उप क्षेत्रीय संयोजक ए सी शेर्पाले एक विज्ञप्ती जारी गर्दै एनआरएन राष्ट्रिय समन्वय परिषद अध्यक्षको उम्मेद्वार बन्न एक कार्यकाल राष्ट्रिय समन्वय परिषद वा अन्र्तराष्ट्रिय समन्वय परिषदको पदाधीकारी भएको हुनुपर्ने प्रावधान रहेको स्पष्ट पारेका थिए ।