लघुकथा : यो कस्तो न्याय ?
Saturday, April 16th, 2022, 1:33 pm
Kalpristha
दुई पक्षका मानिसविच नमिठो भनाभन चल्यो । गाउँ समाजका भेला भए ।गाउँका भद्र भलाद्मीले न्याय अन्यायको निरुपण गर्न सकेनन् । चारजनाको समूहले निर्घात पिटेका थिए उनलाई ।
एक्लो भएकाले कत्ति पनि प्रतिकार गर्न सकेनन् उनले ।बिरानो देशमा रोजगारीको सिलसिलामा आएका उनलाई गधा चुटाई गरेर ती चार जना भागे ।गाउँकै स्थानीय एउटी महिलाले उनलाई उद्दार गरेर आफ्नो घरमा लगिन् ।उनलाई एम्बुलेन्स मगाएर अस्पताल पुर्याइन ।
उनी कार्यरत कार्यलयका कार्य प्रमुख प्रहरीमा उजुरी दिन गए ।“ पीडित कहाँ छन्? प्रहरी निरीक्षकले जिज्ञासा राखे । “हिजो नै अस्पताल लगेर सामान्य उपचारपछि घर लगियो ।“ कार्यालय प्रमुखले उत्तर दिए ।
“घटना त सामान्य रहेछ त । यतिको घटनालाई पनि किन उजुर बाजुरमा फस्नुहुन्छ ।उतै गाउँघरमा मिलाउनुस् ।“ आखीभौं खुम्च्याउँदै बोले प्रहरी अधिकृत । “कुरो त्यसो हैन सर! शरीरमा चोट नहुँदैमा घटना सामान्य हुँदैन । यो त समाजमा देखिएको सामाजिक न्यायको दुरावास्था भएन र?“ दुःख बिसाउँदै बोले कार्यालय प्रमुख ।
“चोट छैन,हस्पिटलले पनि डिस्चार्ज गरेको व्यक्तिलाई के पीडित मान्नु सर?“सहजै उत्तर दिए उनले । कार्यालय प्रमुख आफ्ना कर्मचारी सम्मुख मलिन अनुहार लिएर उपस्थित भए । “सर के निर्णय भयो त?“ पीडितले जिज्ञासा राखे ।
“तपाईं हिजो नै हतार हतारमा डिस्चार्ज भएर आउनुभएछ । अनि चोट नभएको भनेर घटनालाई सामान्य रूपमा लिए नि सर“ कार्यालय प्रमुख निराश भएर उत्तर दिए । “सर !मेरो शरीरमा घाउ चोट नदेखिएपनि मेरो आत्मसम्मानको चोटको मूल्य छैन र?“ ओछ्यानबाट जुरुक्क उठेर उत्तर दिए उनले ।
तनहुँ