आवश्यकताअनुसार गठबन्धन गर्ने सहमति
Saturday, April 16th, 2022, 8:58 pm
Kalpristha
बाँके जिल्लामा पालिकास्तरमा आवश्यकताअनुसारको गठबन्धन गर्ने सहमति भएको छ । दलहरुबीच जिल्लास्तरमा गठबन्धनको सहमति नभएपछि पालिकास्तरमा आवश्यकताको आधारमा गठबन्धन गरेर जाने सहमति भएको हो ।
तर जनता समाजवादी पार्टी (जसपा) भने सुरुवाती बैठकदेखि नै गठबन्धन गर्ने पक्षमा रहेको छ ।
शनिबार बसेको पदाधिकारी बैठकले आफ्ना मातहतका निकायलाई स्थानीय अवस्था र आवश्यकता हेरेर निर्णय लिन निर्देशन दिएको पार्टी प्रबक्ता डिल्ली गिरीले बताए ।
नेपाली कांग्रेस केन्द्रको परिपत्र र पाँच दलीय सत्ता गठबन्धनको निर्णय अनुरुप बाँकेमा जिल्लास्तरीय गठबन्धन दलको बैठक निरन्तर बसेको थियो । सभापति नारायण प्रसाद गौडेलले चैत २० गतेदेखि बैशाख २ गतेसम्म निरन्तर बसेको सत्ता गठबन्धनको बैठकमा तालमेलबारे बृहतरुपमा छलफल गरेर गठबन्धनभित्रका पार्टीहरु स्थानीय अवस्था र आवश्यकताका आधारमा आपसी तालमेल गरेर निर्वाचनमा जाने र तालमेल गरेर जाँदा मित्रवत व्यवहार गर्ने सर्वसम्मत निर्णय गरेको बताए ।
प्रबक्ता गिरी पार्टीको पदाधिकारी बैठकको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिहरुलाई मातहतमा रहेका निकायहरुलाई यथाशक्य छिटो जानकारी गराई सोही निर्णयअनुसार कार्य गर्न निर्देशन दिइएको बताउँछन् ।
नेपाली कांग्रेसले यसअघि खजुरा गाउँपालिका माओवादीलाई दिन सहमत भएता पनि गठबन्धनमा माओवादीले खजुरासँगै नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामध्ये एक मागेपछि सहमति हुन सकेको थिएन । तर कांग्रेसले यी पालिकामा माओवादीलाई उपाध्यक्ष दिन तयार रहेको थियो ।
प्रवक्ता गिरीका अनुसार आफूले जितेको राप्ती सोनारीमा समेत माओवादीलाई उपाध्यक्ष दिन तयार हुँदासमेत माओवादीले कोहलपुर नगरपालिकामा जोड गरेपछि सहमति हुने नसकेको हो ।