वडा नम्बर १ को विकास समेटिएको ‘धम्बोझी’ विमोचन
Tuesday, April 19th, 2022, 11:56 am
Kalpristha
बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ ले ‘धम्बोझी’ नामक पुस्तक विमोचन गरेको छ । वडाले सोमबार पाँच वर्षमा गरेका काम कारबाही समेटिएको ‘धम्बोझी’नामक पुस्तक विमोचन तथा श्रब्यदृश्य प्रस्तुती गरेको छ ।
२०७४ सालको स्थानीय चुनावबाट वडाध्यक्षमा चुनिएपछि प्रमोद रिजालको टीमले गरेको काम कारबाही पुस्तक तथा श्रब्यदृश्यमा समेटिएको छ ।
पुस्तकको नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, भेरी अस्पताल, नेपालगञ्जका व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल, पार्टीका प्रतिनिधि र वडा सदस्यहरुले पुस्तकको विमोचन गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष रिजालले कर्मचारीको पूर्ण सहयोगमा आफ्नो टीमले एकमना एकताका साथ धम्बोझीको विकासका इट्टा थप्ने काम गरेको बताउनुभयो । हरेकजसो टोलमा नालीसहितको कालोपत्र सडक, ग्राभेल, पीसीसी, कोरोनाकालमा जनताको घरदैलोमा पुगेर सेवा, एन्फा ग्रासरुट स्पोर्टस एकेडेमी, ब्याडमिन्टन कोर्ट, नेपालगञ्जकै पर्यटकीय क्षेत्र वाटरपार्कको सौन्दर्यकरण, बाल उद्यान, सौन्दर्यकरणका लागि सडकमा फूल, मठमन्दिर जीर्णोदार, खेलाडी उत्पादन र पुराना खेलाडीलाई सम्मानलगायतका कामहरु पुस्तकमा समेटिएका छन् ।
पुस्तक विमोचन गर्दै नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष भण्डारीले वडाध्यक्ष रिजालको सक्रियतामा धम्बोझीमा अरु वडामा भन्दा धेरै काम भएको बताउनुभयो ।