लघुकथा : फूलको घमन्ड
Saturday, April 23rd, 2022, 8:47 am
Kalpristha
फुलबारीमा रङ्गिबिरङ्गी फूलहरू फुलिरहेका थिए । कोहि पुर्णरुपमा फुलिसकेका, त कोहि फुल्ने क्रममा त कोहि कोपिलामै थिए ।
ती फूलहरूको सेवामा भने सधैं तल्लीन हुन्थे माली।गोडमेल गर्नु, काँटछाँट गर्नु, झारपात हटाउनु र मलजल दिनु उनको दैनिकी थियोे । ताकी फूलहरू अझ सुन्दर र ठूलो आकारमा फुलुन भनेर ।
फूलहरू भने आफ्नो सुन्दरता औधी घमण्ड गर्थे । आफूहरू सदाबहार यस्तै सुन्दर रहिरहने जस्तो गर्थे । र चौरमा फैलिएर रहेको दुबोलाई खुब गिज्याउँथे ।
माली हातमा हजारिको पानी लिएर उभिनासाथ दुबोतिर फर्केर मुसुक्क मुस्कुराउँथे र खिसी गर्थे । दुबो भने नबोलेर बस्थ्यो ।
तर फूलहरू भने दुबोलाई खिसी गर्न छोडेनन् । आफुलाई नियमित खिसीको बाणले प्रहार गर्न थालेपछि दुबोको पारो तातेर आयो । अनि ऊ मुखभरिको जबाफ दिंदै भन्यो । ‘ओ मूर्ख निर्बलहरू ताबेदारिले गर्दा राम्रो फुल्छौ, फल्छौ र केही दिनमै झर्छौ । अझ यति ठूलो घमण्ड । मेरो जस्तो तागत हुनु पर्यो नि ! कसैको सेवा बिना पनि सदाबहार हरियो ।’
दुबोको कुराले अट्टहास हाँसोका साथ फूलहरूले भने, ‘ए मूर्ख सेवा पाउनको निमित्त हामी जस्तो सुन्दर हुनु परेन । बिना कामको झारलाई पनि कस्ले माया गर्छ सेवा गर्छ । हँ !’
दुबो पनि के कम, कर्कश स्वरले भन्यो, ‘ए ! म बिना कामको भएर नै शुभकार्यमा उपगोग हुन्छु । होइन त ।’
एकछिनको बाझाबाझ पछि वातावरण शान्त भयो ।
केही दिनपछि हल्का आकाश बर्स्यौ । आकाशको बर्साइले दुबो झन् लहलह भएर आयो ।
फूलहरू भने बिस्तारै ओइलिएर भुइँमा झर्न थालेका थिए।ती सुकेर झरेका फूलहरूलाई मालिले बढारेर एकठाउँमा थुपारेका थिए ।
त्यही सुन्दर फूलहरूको घमण्डको थुप्रोलाई हावाको झोक्काले धुलोसँगै उडाएर लगेको देखेर दुबो भने मुसुमुसु मुस्कुराइरहेको थियो ।
बैजनाथ–१ चिसापानी