नेपालगन्जमा पहिलो स्वतन्त्र उम्मेदवारी दर्ता
Sunday, April 24th, 2022, 1:20 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ५ को अध्यक्षका लागि पहिलो उम्मेदवारी दर्ता भएको छ । ३० वर्षीय अब्दुल अजिजले वडा अध्यक्षको पदमा पहिलो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापश्चात पत्रकारहरुसँगको कुराकानीमा राजनीतिक दलबाट जितेका उम्मेदवारले आफ्नो पालिकामा बजेटमात्र खर्च गर्ने तर काम नगरेको बताउँदै आफूले उम्मेदवारी दिएको बताए । वडा नम्बर ५ मा पाँच वर्षमा पनि पानीको समस्या, फोहोर व्यवस्थापन तथा विकासका काम हुन नसकेको उनले बताए ।
अजिजलाई किन स्वातन्त्र उम्मेदवार दिनु भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘कुनै पनि पार्टीबाट उम्मेदवार दिन पहिला १० वर्ष उनीहरुको झोला बोकेर हिड्नु पर्यो र पाटीको गुलामी गर्नु पर्यो । बल्ल पालो आउँछ । पार्टीको गुलामी गर्ने व्यक्तिले जनताको हितभन्दा पार्टीकै गुलामी गर्छ । तर स्वतन्त्र व्यक्तिले कसैको वास्ता नगरी काम गर्छ । मलाई कसैको गुलामी गर्न छैन । बस वडाको विकास गर्न छ ।’
उनी हालसम्म आफ्नो वडाले बजेटको पारदर्शीता र जनतालाई सूचनाको हक दिन नसकेको बताउँछन् ।
वडा अध्यक्षका उम्मेदवार अजिज व्यवस्थापन संकायबाट स्थानत र एलएलवी अन्तिम वर्षको अध्ययन गरिरहेका छन् ।