३३ वर्षे युवा वडाअध्यक्ष लड्दैं
Sunday, April 24th, 2022, 7:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ वैशाख
स्थानीय निर्वाचनमा नेपालगन्जको १२ नम्बर वडाबाट राप्रपाका ३३ वर्षे युवाले वडाअध्यक्षमा उमेदवारी दिएका छन । नेपालगन्ज बेलासपुर निवासी ध्रुव राज वर्माले राप्रपाबाट आइतबार उमेदवारी दर्ता गराएका छन । काठमाडौंका नोवेल कलेजबाट बिबिए उत्तिण गरेका ध्रुव राप्रपाको युवा संगठनमा सक्रिय छन ।
नेपालगन्जको धम्बोझी चोकमा रहेको राजा विरेन्द्रको सालिकलाई हटाउने क्रममा उनले त्यसको बिरोध गरेका थिए । त्यतिबेला उनले प्रहरीबाट कुटाई पनि खाएका थिए ।
राजनिति परिवर्तनसँगै नेपालको पुरानो इतिहासलाई मेट्ने काम गलत भएको भन्दै त्यसको प्रतिकारमा आफु उत्रिएदेखी राजनितिमा सक्रिय भएको उनी बताउँछन ।
नेपालगन्जको बेलासपुर शिक्षा, रोजगार, भौतिक पुर्वाधारको हिसाबले पछि परेको टोल हो । नेपालगन्जको मुख्य स्थानमा भएपनि १२ नम्बर वडामा धेरै जनता अझै उच्च शिक्षाबाट टाढा छन । सामान्य काम गरेर स्थानीयले आफनो जीवन निर्वाह गरिरहेका छन ।
वडाको विकासलागि आफुले शिक्षामा जनताको निशुल्क पहुँच र रोजगारी बढाउने आफनो लक्ष्य रहेको बताउँछन अध्यक्ष पदका उमेदवार ध्रुव।
उनले भने,‘मेरो वडा नेपालगन्ज जस्तो विकसित सहरभित्र रहेर पनि पछि परेका ठाउँ हो । किन पछि परेको हो भन्ने मलाई थाहा छ । हाम्रा आफनै समस्या छन । चुनौति छन । ति समस्याको मलाई राम्ररी अभास छ । मैले त्यसलाई समाधान गर्ने लक्ष्य बनाएको छ । त्यसमा मेरो वडावासीले मलाई अवसर दिनुहुनेछ भन्ने विश्वास छ ।’
ध्रुव राप्रपाको बाँके निर्वाचन क्षेत्र २ को उपाध्यक्ष हुन् । युवा संघ बाँके सदस्य उनी १२ नम्बर बुथको इकाई कमिटि उपाध्यक्ष पनि हुन । समाज परिवर्तनका लागि अब युवाहरु राजनितिमा सक्रिय भएर आउनु पर्ने उनको तर्क छ ।
ध्रुव भन्छन,‘राजनितिमा अब युवा पुस्ता आउनु पर्छ । सिनियर पुस्ताले जति योगदान गर्नु भयो त्यो प्रर्याप्त छ । अबको आवश्यकता भनेको जोस जागँर भएको युवाले समाज नयाँ काम गर्न सक्छ । त्यसका लागि सबै युवाले राजनितिलाई सकारात्मक रुपमा लिएर अगाडी बढनु पर्छ ।’