माओवादीबाट वडाअध्यक्ष जितेका पाठक एमाले प्रवेश
Sunday, April 24th, 2022, 7:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ वैशाख
नेपालगन्ज नगरमा नेकपा माओवादी पार्टीलाई स्थानीय निर्वाचन नजिकिदै गर्दा अर्को घाटा भएको छ । नेपालगन्जको १७ नम्बर वडा अध्यक्ष अजय पाठक सहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमाले बाँके सचिव रत्न खत्रीले वडाअध्यक्ष पाठक सहित वडा कार्यसमितिका सदस्य एमालेमा प्रवेश गरेको बताए ।
यसअघि माओवादीबाट मेयरमा दाबी गरिरहेका उद्योगी नन्दलाल वैश्य राप्रपामा प्रवेश गरेका थिए । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको समय नजिकिदैं गर्दा नेपालगन्जमा नेतृत्व तहमा भएका नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम जारी छ । अजय पाठक १७ नम्बर वडामा चर्चित नेताका रुपमा मानिन्छन ।
उनले पार्टी छाडेपछि निर्वाचन नजिकिदैं गर्दा माओवादीलाई थप दबाब परेको छ । शनिबार मात्रै माओवादीको नगर कमिटीले गठबन्धन दलहरुबिच भागबन्डा गर्दा आफुहरुलाई कम वडा दिएको भन्दैं एक्लै चुनाव लडने घोषणा गरेका थिए । त्यसको एक दिनपछि नेपालगन्जको भृकुटीनगर, परसपुर क्षेत्रका चर्चित नेता पाठकले पार्टी परित्याग गरेका छन ।
आइतबार एमालेका नेता देवराज भार, जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, रत्न खत्री, दीपा शर्मा, किशोर थापा लगायतका नेताले पाठकलाई पार्टी प्रवेश गराएका थिए ।