टिकट नपाएपछि कांग्रेस परित्याग
Sunday, April 24th, 2022, 8:19 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ११ वैशाख
नेपाली कांग्रेस महासमिति सदस्य दिलबहादुर विष्टले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । उनले टिकट नपाएपछि कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । विष्टसँगै उनकी श्रीमति दिलमाया विष्टले पनि नेकपा मओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
दिलमाया विष्ट नेपाली कांग्रेस महिला संघ डोल्पाको अध्यक्ष हुन् ।
त्रिपुरासुन्दरी नगरपालिकाको नगर प्रमुखका आकाँक्षी विष्टले प्रमुखको टिकट नपाएपछि जिल्ला नेतृत्वप्रति चरमअसन्तुष्टि जनाउदै कांग्रेस परित्याग गरेको बताए । नेकपा मओवादी केन्द्रमा प्रवेश गरे लगत्तै माओवादीले त्रिपुरासुन्दरी नगरपालिकाको नगरप्रमुख पदमा विष्टको उम्मेद्वारी दर्ता गराएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरी नगरपालिका प्रमुखमा नेकपा एमालेका ओमबहादुर वुढा एक हजार ६ सय नौ मतसहित निर्वाचित हुँदा दिलबहादुर विष्टले एक हजार पाँच सय ९१ मत ल्याएका थिए । त्रिपुरासुन्दरी नगरपालिकामा कमजोर मानिएको नेकपा माओवादी केन्द्र विष्टको प्रवेशसँगै बलियो भएको छ ।
नेकपा मओवादी केन्द्रको तर्फबाट आफ्नो उम्मेद्वारी दर्ता गरेपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै आफूले लामो समयसम्म नेपाली कांगे्रस पार्टीमा रहेर पार्टीको संगठन विस्तार सुदृढीकरणमा ठूलो योगदान दिएको बताए ।
त्रिपुरासुन्दरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुख पदमा दिलबहादुर विष्टको उम्मेदवारीसँगै नेकपा माओवादी केन्द्र नेकपा एमाले र नेपाली कांग्रेस बीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सासंद वीरबहादुर शाही, जिल्ला इन्चार्ज रामलाल विश्वकर्माले नवप्रवेशी विष्ट दम्पति परिवारलाई अविर राईका लगाएर पार्टीमा स्वागत गरेका थिए ।