कांग्रेसबाट मेयरमा प्रशान्त विष्ट उमेदवार
Sunday, April 24th, 2022, 9:27 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ११ वैशाख
नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा प्रशान्त विष्टलाई उमेदवार बनाएको छ । नेपाली कांग्रेसले आइतबार विष्टलाई मेयरको रुपमा घोषणा गरेको हो । सत्तागठबन्धन दलहरुबिच मिलेर चुनाव लड्ने भएपछि नेपालगन्जमा कांग्रेसले मेयर र जनतासमाजवादी पार्टी(जसपा)ले उपमेयर पद पाएको थियो ।
जसपाले उपमेयरमा जसपा बाँकेका जिल्ला अध्यक्ष कमरुद्धिन राईलाई उमेदवार बनाएपनि कांग्रेसले भने आफनो उमेदवार छनोट गरेको थिएन । मनोनयनको एक दिन अगाडी कांग्रेसले विष्टलाई उमेदवार बनाएको हो । नेपालगन्जमा सत्तागठबन्धन दलहरुले मिलेर निर्वाचनमा जाने तयारी गरिरहेका छन ।
नेपालगन्ज नगरको मेयरको टिकट पाएका विष्ट नेपाली कांग्रेस नगर कमिटीको सभापति हुन । युवा नेता विष्ट कांग्रेसमा संगठनभित्र बलियो पकड भएका नेताका रुपमा चिनिन्छन ।
जनआन्दोलन २०६२, २०६३ को आन्दोलनमा महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन लिडरको रुपमा विष्टले सक्रिय भुमिका निर्वाह गरेका थिए ।
विद्यार्थी राजनितिदेखी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय विष्ट नेपाली कांग्रेसको विभिन्न पदमा बसेर काम गरिसकेका छन । विष्ट मेयरको उमेदवार बनेसँगै नेपालगन्जमा प्रमुख पार्टीहरुले मेयर तथा उपमेयरको उमेदवार छनोट गरेका छन ।
नेपालगन्ज नगर कांग्रेसको बलियो पकड भएको सहर हो । गएको स्थानीय निर्वाचनमा कांग्रेसकी युवा नेतृ उमा थापामगरले उपमेयरमा जितेकी थिइन भने राप्रपाका डा. धवल शमसेर राणाले मेयरमा जितेका थिए ।
मेयरको उमेदवार बनेपछि विष्टले नगरवासीको साझा समस्यालाई समाधान गर्दै नगरको समृद्धिको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने,‘मलाइ उमेदवार बनाएको पार्टीका सम्पुर्ण तहका नेता तथा कार्यकर्तालाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो उमेदवारी सम्पुर्ण नगरवासीको समृद्धिको सपना पुरा गर्नको लागि हो ।
नेपालगन्ज नगर नेपालमै एउटा इतिहास बनाएको सहर हो । अब हामी नयाँ पुस्ताले यस सहरलाई थप विकसित गर्दै सम्पन्नताको बाटोमा लग्नु छ । त्यो अभिभारा पुरा गर्नको लागि नगरवासीलाई मलाई अवसर दिन आग्रह गर्दछु ।’