बाँकेमा पहिलो दिन ४ सय २४ जनाको उम्मेदवारी
Sunday, April 24th, 2022, 10:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ वैशाख
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते छुट्याएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार नेपालगन्ज उप-महानगरपालिकामा मेयरमा ६ जना र उपमेयरमा १ जनासहित एक सय ९८, कोहलपुरमा ३६ जना, खजुरामा २८ जना, बैजनाथमा ४८ जना, राप्ती सोनारीमा १७ जना, नरैनापुरमा ५८ जना, डुडुवामा २१ जना र जानकीमा १८ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख निर्वाचन अधिकृत रमा पन्तका अनुसार कोहलपुर नगरपालिकामा मेयरका लागि चारजना र उपमेयरका लागि तीनजनाको उम्मेदवारी परेको छ ।
खजुरा गाउँपालिकामा भने अध्यक्षका लागि चारजना र उपाध्यक्षका लागि एकजनासहित वडा अध्यक्षमा सातजना र १६ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै जानकी गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्षमा एक-एक जनाको उम्मेदवारी दर्ता भएको छ भने वडा अध्यक्षमा ६ जना र वडा सदस्यमा १८ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
डुडुवा गाउँपालिकामा पनि अध्यक्षमा र उपाध्यक्षमा एक-एक जनाको उम्मेदवारी दर्ता भएको छ । साथै वडा अध्यक्षमा पाँचजना र वडा सदस्यमा १४ जनाको नाम दर्ता भएको छ ।
त्यसैगरी बैजनाथ गाउँपालिकामा अध्यक्षमा चारजना र उपाध्यक्षमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ भने वडा अध्यक्षमा १३ जना र वडा सदस्यमा २९ जनाको नाम दर्ता भएको छ ।
साथै राप्ती सोनारीमा अध्यक्ष पदका लागि १ जनाको मात्र उम्मेदवारी दर्ता भएको छ भने वडा अध्यक्षमा ४ र वडा सदस्यमा १२ जनाको नाम दर्ता भएको छ ।