उम्मेदवारी दर्ता गर्न सकस
Monday, April 25th, 2022, 8:06 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १२ वैशाख
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश केशवराज चपाईका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिनमा कसैले उम्मेदवारी दर्ता नभएपछि दोस्रो दिन उम्मेदवारी दर्ता गर्न सकस भएको छ । सबै पार्टी र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएकाले समय अभावले सबैको विवरण आउन नसकेको र राती अवेरसम्म उम्मेदवारी दर्ता प्रकृया समाप्त गरेर अन्तिम नामावली प्रकासित गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिनमा त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट चन्द्रलाल धराला, उपप्रमुख पदमा शावित्री पहाडी र नेकपा एमालेको तर्फवाट प्रमुखमा जनचन्द्र रोकाया, उपप्रमुखमा देवी घर्तिको उम्मेदवारी परेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा दिलबहादुर विष्ट, उपप्रमुखमा कालि चलाउनेको उम्मेदवारी दर्ता भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उपप्रमुखमा छक्कबहादुर धरालाको उम्मेवारी परेको छ ।
स्वतन्त्रतर्फ नेकपा एमालेका लागी उम्मेदवारको रुपमा नगरप्रमुख पदमा विमल पहाडी(विवाकर पहाडी)को उम्मेदवार परेको छ भने नेपाली काँग्रेसको उपप्रमुख पदमा रमा बोहराको स्वतन्त्रबाट वागी उम्मेदवारी दर्ता भएको छ ।
ठूलीभेरी नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसबाट शुवर्णबहादुर बुढा, नेकपा एमालेबाट पूर्णबहादुर डाँगी, नेकपा माओवादीबाट प्रमुख पदमा विरेन्द्र डाँगी, एकीकृत समाजबादीबाट कर्णबहादुर रोकायाको उम्मेदवारी दर्ता भएको छ ।
स्वतन्त्रबाट प्रमुख पदमा प्रेमबहादुर बोहराको उम्मेदवारी दर्ता भएको छ ।
शे–फोक्सुण्डो गाउँपालिका अध्यक्षमा नेकपा एमालेका धावासम्दुक लामाको मात्र एकल उम्मेदवारी परेको छ । मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट लंकबहादुर रोकाया र नेकपा माओवादी केन्द्रबाट दत्तबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।
जगदुल्ला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारासिं रोकाया र नेकपा एमालेबाट धनजित बैजीको उम्मेदवारी परेको छ ।
प्रदेशबाट सत्तागठबन्धन दलहरुले जिल्लामा गठबन्धन गर्ने सर्कुलर गरे पनि भागवण्डामा सहमति हुन नसकेपछि सबै दलले एक्ला एक्लै उम्मेदवारी दर्ता गरी प्रतिस्पर्धामा उत्रने अवस्था देखिएको छ । यो समाचार तयार पारुन्जेल सम्म उम्मेदवारी दर्ता प्रकृया जारी छ ।