लागूऔषधसहित सीमामा नेपाली पक्राउ
Monday, April 25th, 2022, 8:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ वैशाख
नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा लागूऔषधसहित एक नेपालीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । ९० लाख रुपैयाँ बराबरको चरेससहित गुलरिया नगरपालिका – १४ का छविलाल देवकोटा पक्राउ परेका हुन्् ।
भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेससहित बर्दियाका एक व्यक्ति पक्राउ परेका हुन् ।
भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियान दौरान गस्तीमा रहेको टोलीले भारतीय सीमा क्षेत्र पचपकडी गाउँमा शंका लागेर जाँच गर्दा बर्दिया गुलरियाका छविलाल देवकोटालाई चरेससहित पक्रेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।
थाना रुपैडिहाका प्रभारी निरीक्षक प्रमोदकुमार त्रिपाठीको कमाण्डमा खटिएको गस्ती टोलीले देवकोटालाई नेपाल भारत पिलर नम्बर ६५२÷१५ नजिकैबाट पक्राउ गरेको हो ।
४ सय ८० ग्राम ब्राउन बरामद
दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय दिपक वलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई शनिबार पक्राउ गरेको थियो ।
प्रहरीले मुसलवान डाँडामा ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले वलीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।