नगर विकासको प्रतिवद्धता गर्दै उम्मेदवार
Monday, April 25th, 2022, 9:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ वैशाख
नेपालमा संघीयताको अभ्यासपछि हुन लागेको दोस्रो स्थानीय तहको निर्वाचनको लागि सोमबार प्रमुख दलहरुसहित विभिन्न राजनीति पार्टी र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । बाँकेमा पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनता समाजवादी पार्टी(जसपा), राप्रपा पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गरे ।
वैशाख ३० गते हुने निर्वाचनका लागि बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा सत्तागठबन्धन दलको तर्फबाट मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उमेदवारी दिए ।
एमालेको तर्फबाट पशुपति दयाल मिश्रले मेयर र शान्ति ढकालले उपमेयरमा उम्मेदवारी दिएकी छिन् । माओवादीका टंक बहादुर धामीले मेयर र तारा कुमारी खत्रीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
मनोनयन दर्ता गरेपछि उमेदवारहरुले नगरको विकासका लागि आ–आफ्ना योजना र प्रतिवद्धता सार्वजनिक गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका प्रशान्त विष्टले नेपालगन्ज नगरको पुरानो इतिहासलाई संरक्षण गर्दै समुनत र समृद्ध सहर बनाउने योजना रहेको बताए । उनले भने, ‘नेपालगन्ज सहरलाई युवाले नेतृत्व गर्ने अवसर पाएको छ ।
सबैलाई थाहा छ नेपालगन्ज देशकै पुरानो सहर हो । यसको आफ्नै विशेषता छ । नगरको गरिमा र इतिहासलाई जोगाउँदै व्यवस्थित सहरको रुपमा विकसित गर्न चाहन्छौं । शिक्षा, स्वास्थ्य, रोजगारी, विकासलगायतका विविध योजनालाई दीर्घकालिनरुपमा अगाडि बढाउनेछौं ।’
नेपालगन्जका सम्पूर्ण नगरवासीलाई समेटँदै सहरको विकासमा लाग्ने प्रतिवद्धता जनाए । विष्टले थपे, ‘गठबन्धन टिमबाट उम्मेदवार बन्नु भएका सम्पूर्ण साथीहरु लामो समयदेखि समाजसेवामा लाग्नु भएको छ । उहाँहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्नु भएको छ । मलाई लाग्छ हाम्रो उत्कृष्ट टिम बनेको छ । युवाहरुको टिम बनेको छ । हाम्रो टिममा नगरको आवश्यकता अनुसार काम गर्ने क्षमता छ ।’
जसपाबाट उपमेयरको उम्मेदवारी दिएपछि कमरुद्दीन राईले नगर विकासको अभियानलाई पूरा गर्नको लागि प्रशान्त र आप्mनो जोडी मिलेको बताए । उनले भने, ‘नेपाली कांग्रेसले एउटा होनहार युवालाई उम्मेदवार बनाएको छ । वडाको तल्लोस्तरमा गएर विष्टले काम गर्नु भएको छ । यसमा हामी खुसी छौं । आउने दिनमा हामी दुईभाईको जोडीले नगरको विकासका लागि थुपै्र काम गर्नेछ ।’
गठबन्धन दलका कार्यकर्ताले इमानदारि पूर्वक मत दिए आफूहरुले सहजै जित्ने राईले भनाइ राखे । उनले थपे, ‘म मेरो पार्टी र गठबन्धन दलका सम्पूर्ण कार्यकर्तालाई अपिल गर्न चाहन्छु । गठबन्धन अनुसार हामीले मतदान गर्नुपर्छ । हामीलाई नगरवासीले एकपटक काम गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास छ । हामी दुई भाइ मिलेर नेपालगन्जलाई नमुना सहर बनाउने प्रतिवद्धता गछौं ।’
नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेको पशुपति दयाल मिश्रले नेपालगन्जको विकासको लागि केन्द्रसम्म पहुँच भएको दरो नेतृत्व आवश्यक रहेको बताए । उनले भने, ‘नेपालगन्जमा दरो नेतृत्वको अभाव खटकिएको छ । पुरानो सहर भएर पनि यसले गति लिन सकेको छैन । सरकारको आँखामा पर्न सकेको छैन् । नेपालगन्जको विकासका लागि शिक्षा, स्वास्थ्य, विद्युत्, सरसफाइ, स्मार्ट सिटीमा काम गर्ने हामीसँग योजना छ ।’
नेपालगन्जको सिमित बजेटले पनि नगरको धेरै विकास गर्न सकिने मिश्रले बताए । उनले अगाडि भने, ‘नेपालगन्जलाई केन्द्रीय राजनीतिमा जोडन् सक्ने नेतृत्व चाहिएको छ । नेपालगन्जवासीले यसपटक बलियो नेतृत्व ल्याउनुहुनेछ भन्ने विश्वास छ । हामीले धेरै ठूला कुरा केहि पनि भनेका छैनौं । हामीले गरेको प्रतिवद्धता पाँच वर्षमा सबै पूरा गर्नेछन् ।’